भीमदत्त नगरपालिका-९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले बेसहारा बनाएकाले छिमेकीको घरमा शरण लिनुपर्ने बाध्यता उनको परिवारलाई भयो।
पाँच दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै सामान बगाएकाले छिमेकीको शरणमा बस्न बाध्य गराएको हो।
उनको घर भएको ठाउँमा अहिले महाकाली नदीले बगर बनाएको छ। घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा सबै बगाएर नदीले लगेपछि एकसरो लुगामा पन्त परिवार बस्दै आएका छन्।
एक साताअघि महाकाली नदीमा आएको बेमौसी बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबारविहीन हुन पुगेका छन्। खल्ला श्रीलंका टोलका गणेशसिंह घटाल, वीरमान मङ्गोला र मानसिंह महताको पनि घर बाढीले बगाएको छ। महाकाली नदीको भँगोलोमा आएको बाढीले ती परिवारको घर बगाएको थियो।
श्रीलंका टोलका ४५ घर परिवारमध्ये छ परिवार पुनर्स्थापनाको पर्खाइमा छन्। घरमा क्षति नभएका परिवारले पनि कटान र पटानसहित धानबाली गुमाएका छन्।
'बस्ती जोगाउनका लागि तटबन्ध निर्माण नगर्दासम्म बस्ती जोगाउन सकिँदैन', स्थानीयबासी प्रेमसिंह रावलले भने,'तटबन्ध निर्माण नभए अन्यत्र ठाउमा बस्ती पुनःस्थापन गर्नुपर्छ।'
खल्ला, टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारका बस्ती हुन्। टुँडिखेल उँचो स्थानमा भएकाले बाढीबाट जोगिएको हो। होचो भएकाले खल्ला र मुसेट्टीका बासिन्दा भने बाढीबाट पीडित भएका छन्। बाढी आएकै बेला फसेका मुसेट्टीका लक्ष्मणसिंह नायकसहित पाँच जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाढीले नायकको घरसहित कुखुरा खोर बगाएको छ।
महाकाली नदीको भंगालो घरमा पसेपछि उनका श्रीमती र दुई छोराले रातभरि ढुंगा र रूखमा बसेर ज्यान जोगाएका थिए।
अहिले नायकको घर भएको ठाउँ बगर बनेको छ। नदीले बगाएर ल्याएका बालुवा, ढुंगा र काठ घरमा थुप्रिएका छन्।
'हाइट हेर्दै दर्गुदै, पानीमा तैरिँदै गयौं', ३६ वर्षीय नायकले भने, 'कम्मरसम्म पानी थियो, २/३ बजेसम्म त आशै थियो, पछि त बाँचिँदैन कि भन्ने लाग्यो।'
बढीले उनको घर र कुखुराको खोर पनि बगाएको थियो। घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ।
'केही बाँकी रहेन, ज्यान त भगवानले बचायो', उनले भने।
बाढीले मुसेट्टीमा नायकसहित कृष्ण चन्द, हरिश साउद, जनक साउद, अमरसिंह खड्का र जय विष्टको घरमा पनि क्षति पुर्यायो। उनीहरूमध्ये चन्दको घर भत्किएको छ। अन्यको घरभित्र बालुवा थुप्रिएर बस्न सकिने अवस्था छैन।
खड्काकी धर्मपत्नी ६६ वर्षीय दीर्घमतीलाई नायकको परिवारसँगै उद्धार गरिएको थियो। गाई गोठमा बसेकी खड्का पनि बाढीमा फसेकी थिइन्।
बाढीले उनको एउटा गोठ बगाएको छ। घरभित्र भने बालुवा थुप्रिएको छ। घरभित्र पसेको बालुवा हटाउन नायक परिवार लागेको छ।
'बाँच्न लेखेकै रहेछ। त्यही भएर बाच्यौं', उनले भने, 'भगवान् बनेर नेपाली सेनाले आएर बचायो।'
मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरीरमा लगाएको कपडाबाहेक अरु केही नबचेको बताइन्।
'एकसरो लगाएको कपडा मात्रै शरीरमा बाँकी छ। त्यति मात्रै बचेको हो। घर त भत्कायो अरु सबै सामान पनि बाढीले बगायो', उनले भनिन्।
बिरामी परेर छिमेकीका घरमा गएकाले आफू जोगिएको चन्दले बताइन्।
बाढीले चन्दको १५ कठ्ठामा लगाएको धानबाली नष्ट भएको छ। मुसेट्टीकी विमला बमले बाढी आएपछि छिमेकीले आफूहरूलाई ब्युँझाएकाले भागेर सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सकेको पीडा सुनाइन्।
बाढीले बगाएर ल्याएको बालुवा बमको गोठभित्र थुप्रिएको छ। घरको तीन फिटसम्म पुगेको बाढीले केही काठका मुढा पनि घरसम्म ल्याएको छ। बमको घर अगाडिको जमिन बगर बनेको छ। बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ।
'गोठमा बालुवा छ। जमिन केही राखेन, नागरिकता पनि बगायो', उनले भनिन्, 'राज्यले हाम्रो व्यवस्था गर्नुपर्छ, त्यसैको आशमा छौं।'
मुसेट्टीमा मध्यराति १२ बजे बाढी बस्तीमा पसेको थियो। यसअघि विसं २०७० मा बाढीले बस्तीमा क्षति पुर्याएको थियो भने सात वर्षअघि बाढीले सरस्वती आधारभूत विद्यालय बगाएको थियो।
विद्यालय बगाएको ठाउँ नजिक नायकसहित पाँच जना बाढीमा फसेका हुन्।
मुसेट्टीमा पाँच दर्जन घर परिवार बसोबास गर्दै आएका छन्। महाकाली नदी किनारमा खल्ला, टुँडिखेल र मुसेट्टीमा झण्डै ५०० घरपरिवार बस्दै आएको भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बताए।
अध्यक्ष नाथले बाढीबाट स्थानीयबासीले घरबारसहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएको बताए।
'केही बाँकी राखेको छैन। बाटोघाटो, बिजुली बत्ती, टावर सबै बगाएको छ', उनले भने, 'घर नभएर अर्काको घरमा बस्नुपर्ने अवस्था छ। खानलाई अन्न पनि छैन।'
नगर प्रमुख सुरेन्द्र विष्टले तीन वटै बस्तीलाई सुरक्षित बनाउनका लागि नदी नियन्त्रणको योजना आवश्यक रहेको बताए।
'त्यसका लागि प्रदेश र संघीय सरकारलाई गुहार्छौं', उनले जोड दिए, 'तत्काल राहत र पुनःस्थापनाको कार्यलाई अगाडि बढाउँछौं।'
खल्ला मुसेट्टीमा विद्युत्, सडक र सञ्चार सेवा बाढीका कारण अवरूद्ध छ। सडक बाढीको पानीले बगाउँदा अन्य क्षेत्रसँगको सम्पर्कसमेत विच्छेद भएको छ। (रासस)