कात्तिकको सुरूबाट भएको वर्षाका कारण अवरूद्ध सात सडक अझै खुल्न सकेका छैनन्।
वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको छ। अझै पनि विवरण संकलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ।
वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ। यस वर्ष वर्षा सुरू भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ।
यस वर्ष वर्षा सुरू भएयतामात्रै २४५ ठाउँमा सडक अवरूद्ध भएको विभागले जनाएको छ। कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरूद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।
उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरूद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ।
उनले भने,'बझाङमा सडक खुलाउन बढी समय लाग्नसक्ने देखिएको छ।'
पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँ-ठाउँमा अवरूद्ध छ।
कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ।
डडेल्धुराको स्याउलेदेखि डोटीसम्म ठाउँ-ठाउँमा सडकमा क्षति पुगेको छ।
महानिर्देशक थापाले भने, 'सेती नदीले सडक नामै नराखेर बगाएको छ।'
धनगढी–सहजपुर–वुडर–स्याउेले,सतबाँझ–थाकतोली–दार्चुला– तिङ्कर सडक वर्षाका कारण केही दिनसम्म अवरूद्ध भएको थियो।
अहिले सो सडक एकातर्फबाट खुलाइएको छ। बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरूद्ध छ। तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ।
मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा क्षतविक्षत रहेको विभागले जनाएको छ।
साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाले बताए। सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो। उक्त खण्डमा सुख्खा नभई खुलाउन नसकिने अवस्था रहेको उनले बताए।
बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ।
उनले भने, 'अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरूद्ध गर्नसक्छ।'
बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो। सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ। माथिल्लो भागबाट नै कणार्लीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुनसक्ने बताइएको छ।
यसवर्ष वर्षाका कारण सबभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो। मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो। भदौ महिनासम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन थियो। साढे दुई महिना लगाएर विभागले केही समय पहिले मात्रै सडक खुलाएको थियो। असारदेखि नै अवरूद्ध सडक दसैंअघि खोलिएको थियो।
विभागले त्यहाँ रहेका पाँच काठे पुल बगाएकामा पुनः बनाएर यातायात चालू गरेको थियो। अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए।
उनले भने,'अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ।'
सडक विभागले आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरीवेक्षण कार्यालय र आठ हेभी इक्युपमेन्ट कार्यालयमार्फत अवरूद्ध सडक खुलाइरहेको छ। विभागले वर्षा सुरू हुनु पहिले नै कुन-कुन क्षेत्रमा बढी जोखिम अनुमान गरेर उपकरण राखेको उनले जानकारी दिए।
विभागले बेवसाइटमा नै अवरूद्ध सडकका बारेमा नागरिकलाई जानकारी दिने गरेको उनले बताए।
उनले भने, 'कुन राजमार्ग कुन ठाउँमा, कति बजेबाट अवरूद्ध भएको र कहिलेसम्म खुल्ने भनी विवरण राख्ने गरिएको छ।'
विभिन्न क्षेत्रबाट विभागले सडक बनाउँदा नै ध्यान नदिएका कारणले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको बताउने गरेको छ।
आइतबारको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए। माथिबाट आउने पहिराको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने उनीहरूको भनाइ थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए।
स्थानीय तह र कतिपय स्थानमा स्थानीयबासी आफैंले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ। उनले भने, 'हामीले सडक नदीभन्दा उचाइमा बनाउँदा पनि लेदोले गर्दा नदीको सतह बढिरहेको छ।' (रासस)