सोमबार बिहान साढे १० बजे। नयाँबानेश्वर-तीनकुने सडकस्थित सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको मुख्य सडकमा एक्स्काभेटर पुग्यो।
सरासर गएर एक्स्काभेटरले सडकमा देखिएको एउटा खाल्डो कोपर्न थाल्यो। काठमाडौं सडक डिभिजन कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी, स्थानीयहरू खाल्डो वरिपरि झुम्मिएका थिए।
यति बेलासम्म नयाँबानेश्वर-तीनकुने सडकको एउटा लेनमा सवारी आवागमन बन्द गराइसकिएको थियो।
'सुरूमा एक मिटर गोलाइ र १५ फिटजतिको गहिरो खाल्डो थियो। हामी पुगेर हेर्दा सानै थियो,' महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले सेतोपाटीसँग भने।
एक्स्काभेटरले वरपर जति कोपर्दै गयो, खाल्डो बढ्दै गयो। सुरूमा ठूलो भ्वाङजस्तो देखिए पनि कोपर्दै जाँदा दुइटा साना गाडी सजिलै छिर्ने खाडल बन्यो।
'धन्न दुर्घटना भएन,' ट्राफिक प्रहरीहरू आपसमा कुराकानी गरिरहेका थिए।
सोमबार बिहान पाँच बजे नै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा 'सडक भत्कियो' भन्दै फोन गएको थियो। फोन गर्ने ट्राफिक प्रहरी नै थिए। प्रभागमा आफ्नै प्रहरीले फोन गरेपछि प्रहरी निरीक्षक देवकोटाले अरू ट्राफिक खटाए। खाल्डो परेको लेन बन्द गराउन लगाएर सवारी 'डाइभर्ट' गर्न भने।
देवकोटाका अनुसार बिहान एउटा हेभी गाडी बानेश्वरतर्फ गइरहेको थियो। त्यसको पछाडि ट्राफिकको गाडी थियो।
'त्यो हेभी गाडी अगाडि बढ्दा सडकमा प्वाल देखेपछि ट्राफिकले प्रभागमा जानकारी दिएका थिए,' उनले भने।
त्यसपछि उनी पनि त्यहाँ पुगे। बाहिर ठूलो प्वाल भए पनि भित्र अजंगको खाल्डो देखिन्थ्यो।
'पिच वरपर टेकेको भए भत्केर मानिस खाल्डामा पर्ने खालको थियो,' उनले सुनाए। बेलैमा सवारी आवागमन रोक्न सकिएकाले अप्रिय घटना हुन नपाएको पनि उनले बताए।
सधैं व्यस्त र सवारीसाधनको चाप अत्यधिक हुने यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक थियो। मुख्य सडकमा बिहानैदेखि सवारीसाधन डाइभर्ट गर्दा ट्राफिक प्रहरीलाई समस्या पर्ने नै भयो। देवकोटाले भने, 'यस्तो ठाउँमा केही दुर्घटना भइहाले हाम्रो पनि आलोचना हुन सक्थ्यो।'
यसपछि उनले काठमाडौं सडक डिभिजन कार्यालयमा फोन लगाए। उनका अनुसार एक-दुई घन्टा त त्यहाँका कर्मचारी सम्पर्कमै आएनन्। सम्पर्क भएर जानकारी पाएपछि साढे दस बजे बल्ल डिभिजन सडकका इञ्जिनियरसहितको टोली एक्स्काभेटर लिएर पुग्यो। खाल्डो खन्दै जाँदा त्यसले एउटा लेन नै ओगट्यो।
'खन्दै जाँदा खाल्डो ठूलो देखियो। हामीले यति ठूलो होला भन्ने चाहिँ सोचेका थिएनौं,' देवकोटाले भने। खाडल झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो देखिएको छ।
सडकको टोलीले यो खाल्डोको नापजाँच गरिसकेको छैन। पूरै खोतलेपछि मात्रै यसको आकारप्रकार नाप्न मिल्ने टोलीसँग पुगेका इञ्जिनियरले बताए। त्यहाँ रहेको मंगालका कारण यति ठूलो खाल्डो परेको हुनसक्ने देखिएको काठमाडौं डिभिजन सडकका इञ्जिनियर सुप्रिय चुँडालले बताए।
'ढलले मंगाल फुटाएको देखिन्छ। मंगालबाट पानी चुहिएपछि सडकभित्रको माटो गलाएर खाल्डो बढाउँदै लगेको देखिन्छ,' उनले भने। भित्र जति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि भत्किएको हुन सक्ने चुँडालको भनाइ छ।
मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। चुँडालका अनुसार मंगालबाट अहिले पनि अलिअलि पानी बगिरहेको देखिएको छ।
मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिन्छ। यो इँटाबाट बनेको हुन्छ। यसमा मान्छे छिरेर सफा गर्न सक्ने, मर्मतसम्भार गर्न राखिएको हुन्छ। कहिलेकाहीँ ढल निकासमा समस्या परे उघारेर हेर्न मिल्ने खालको हुन्छ।
यसपालिको बर्खामा राजधानीसँगै देशभरि बढी पानी पर्यो। पानीले ढल निकासमा चाप पर्ने नै भयो।
'मंगाल भत्किएको र त्यसले खाल्डोको आकार बढाएको पनि भर्खरै हुनुपर्छ। पछिल्लो पटक अत्यधिक पानी परेका बेलामा भत्किएको हुनुपर्छ,' चुँडालले अनुमान गरे, 'निकै अगाडि भत्किएको भए त सडक पहिले नै भासिन्थ्यो।'
ट्राफिक प्रभाग प्रमुख देवकोटाका अनुसार सडकमा ठूलो भ्वाङ परेपछि प्रतिनिधिसभा भवनको गेटदेखि शान्तिनगर यातायात व्यवस्था कार्यालय अगाडिसम्मको एक लेन सडक बन्द गरिएको छ। दुवैतर्फ सर्भिस ट्रयाकमार्फत् सवारीसाधन पास गराइएको छ। नयाँ बानेश्वरदेखि शान्तिनगरसम्मको आवागमन अब केही दिन सर्भिस ट्रयाकबाटै हुने छ।
यो खाल्डो, सडक संरचना हेरेर थप लम्बाइ, चौडाइ र गहिराइसमेत मर्मत गर्नुपर्ने देखिएको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार मर्मत सुरू भइसकेको छ। पूर्ण रूपमा बनिसक्न झन्डै एक साता लाग्न सक्ने उनले बताए।
खाल्डो पुर्न पहिला ढलको काम सकिनुपर्छ, नयाँ मंगाल बनाउनुपर्छ, त्यो सुकेर पुर्न मिल्ने भइसकेको हुनुपर्छ।
नयाँ मंगाल बनाउने जिम्मा ढल सञ्चालन महाशाखाले लिएको छ। महाशाखाका अनुसार खाल्डो परेको ठाउँमा एक्स्काभेटरले खनिरहेको छ। वरपरको पिच, माटो निकाल्ने काम सोमबार सकिन्छ। मंगलबारदेखि त्यहाँ नयाँ मंगालको जग हाल्न सुरू गरिनेछ।
अहिले देखिएको मंगाल निकै पुरानो देखिए पनि कुन मितिमा कुन निकायले बनाएको हो भन्नेबारे सम्बन्धित निकायहरूलाई यकिन छैन। न सडक विभागलाई न डिभिजन कार्यालयलाई न ढल सञ्चालन महाशाखालाई।
ढल सञ्चालन महाशाखाका प्रमुख उज्जवल श्रेष्ठका अनुसार काठमाडौंमा ढलको काम धेरै निकायले गर्छन्। महानगरपालिका, उपभोक्ता समिति, सडकलगायत विभिन्न निकायले ढलको काम गर्छन्।
'यो ढल हाम्रो महाशाखाले बनाएको होइन। कुन निकायले कहिले बनाएको हो भन्ने खुलेको छैन,' श्रेष्ठले भने, 'धेरै पुरानो भएकाले सडक बन्ने बेलामै बनाइएको हुनुपर्छ।'
आकस्मिक रूपमा अहिले महाशाखाले ढल निर्माणको जिम्मा लिएको र काम सुरू गर्न लागिएको उनले बताए। मंगाल बनाउँदा ढल निकास रोक्न सम्भव छैन। त्यसैले एकातिर ढल बगिरहन्छ, समानान्तर तरिकाले मंगाल बनिरहने पनि उनले जानकारी दिए।
मंगालको संरचना बनाउनै झन्डै तीन दिन लाग्ने पनि श्रेष्ठले बताए। संरचना तयार भएपछि मंगालको गारो सुक्छ अनि मात्रै पुर्न मिल्छ। त्यो सुकेर नपुरेसम्म सडकमा ब्यारिकेड्स राखेर सवारीसाधन चलाउन रोक लगाइनेछ।
मंगाल छोप्न माटो राखेपछि गिट्टी राखिन्छ। त्यसमाथि रोलर चलाएर संरचना बलियो बनाइन्छ। त्यसपछि फेरि पिच राखेर रोलरले पेलेपछि मात्रै मर्मत सकिन्छ। यसकारण, नयाँबानेश्वर-तीनकुने सडकको एउटा लेन कम्तीमा एक सातासम्म बन्द हुनेछ।
यो पनि पढ्नुहोस्ः नयाँ बानेश्वरको बीच सडकमै १५ फिट गहिरो खाल्डो
संसद भवनको पाइप जोडिएको मंगाल भत्किएपछि भासियो बानेश्वरको मूलसडक