सुदूरपश्चिमलाई भारतसँग जोड्ने प्रमुख नाका हो- कैलालीको गौरीफन्टा। जसरी पूर्वी कैलालीको चिसापानीबाट सेती, भेरी मिसिएको कर्णाली भारततिर उधो बग्छ त्यसैगरी कर्णाली र सुदूरपश्चिमका पहाडबाट आएकाहरू दिनदिनै गौरीफन्टा नाकाबाट भारत पस्छन्। यो क्रम वर्षौंदेखि चलिरहेको छ।
आइतबार बिहान ९ बजे हामी गौरीफन्टा पुग्दा माहौल सधैँभन्दा फरक थियो।
भीडभाडले भरिने नाकामा मान्छेहरूको आवतजावत कम थियो। बिहान भारतबाट आउनेहरू बढी हुनुपर्ने हो तर खासै मान्छे थिएनन्।
केही नेपालीहरू आफ्नो देश पस्न लाइन लागेका थिए। अनुहार हेरेरै थाहा हुन्थ्यो, उनीहरू ठूलै परेसानी झेलेर देशको सीमानजिक आइपुगेका हुन्।
‘आज किन नेपाल फर्किने मान्छे कम छन्?’ लाइनमा उभिएका एक पुरुषलाई मैले सोधें।
उनले बाटो बन्द भएर कयौं मान्छे अलपत्र परेको कुरा सुनाए।
अघिल्लो साता नेपालमा परेको बेमौसमी वर्षा भारतमा पनि परेको थियो। विशेष गरी सीमावर्ती भारतीय राज्य उत्तराखण्डमा बाढी र पहिरोले मानवीय क्षति भएको थियो। उत्तरखण्ड भएर बग्ने शारदा (महाकाली) नदीको पानीले उत्तर प्रदेशमा डुबान भएको रहेछ।
‘बाटो बन्द भएर आउन सकिएको छैन,’ ती पुरुषले भने, ‘डुबानले सडकमा बस चलेका छैनन्, हामी त ठाउँ-ठाउँमा गाडी बदलेर आयौं।’
यति भनेर उनी लाइनमा अघि बढे। हामी भारत जान हिँडेका २० जना जतिको टोलीमा मिसियौं।
भारत हिँडेका नेपालीहरूलाई आफ्ना गाडीमा बस, रिजर्भ गरेर जाऊ भनेर बार्गेनिङ गर्नेहरू झुम्मिए। कमाउन जान लागेकाहरू रिजर्भ बसमा कसरी चढ्थे र!
उनीहरू सार्वजनिक बसभित्र पसे। बसमा भएकामध्ये आधा नेपाली नै थिए। कोही कमाउन हिँडेका, कोही भारतीय बजार बनगाउँ र पलियामा किनमेल गर्न निस्केका। कति नेपालीका लागि कमाउन र किनमेल गर्न भारतै जानुपर्छ। यो क्रम पनि वर्षौंदेखि चलिरहेको छ।
हामी तिनै नेपालीसँग बसमा पलियातिर लाग्यौं। बसभरि नेपाली भएपछि कुरा पनि नेपालकै हुने भयो। कल्पनै नगरेको कात्तिकको बाढी र पहिरोले घरखेतमा क्षति पुर्याएको कुरा हुँदै थियो।
मेरो अघिल्लो सिटको अमृता विश्वकर्मा बसेकी थिइन्। बम्बई जाने हिँडेकी।
डोटीको दीपायल सिलगढीकी उनले खेती गर्न आफ्नो जमिन नभएकाले भारतमा काम नगरे दुई छाक हात-मुख जोड्न मुस्किल पर्ने आफ्नो दु:खेसो सुनाइन्। सुदूर पहाडहरूमा कतिको जमिन छैन, हुनेको जमिनमा पनि वर्षभरिलाई खान पुग्दै अन्न उब्जनी हुँदैन। खान पुग्ने जमिन भएकाको पनि किसानी गरेर परिवारको अरू खर्च टार्ने आम्दानी हुँदैन। अनि एउटै विकल्प बन्छ- भारत जाने।
बसभित्रै बसेका धनगढी-१९ का बलराम चौधरीले बाढीले खेतको धान र घरभित्रको अन्न पनि भिजाएको सुनाए। कात्तिक वर्षाले यसपालि गर्नु गर्यो!
डेढ घन्टापछि हामी पलियाको बसपार्क पुग्यौं।
बसबाट झर्नेबित्तिकै ट्रलीसहितका ट्याक्टरका चालक भिरा-भिरा भन्दै कराउन थाले।
पलियाबाट भिरा जाने सडक अवरूद्ध भएर बस नचल्ने भएपछि अटो र ट्याकटरमात्रै चल्ने रहेछन्। गौरीफन्टाबाट आएका हामी ट्याक्टरको ट्रलीमा बस्यौं।
ट्रली भरिएपछि ट्रयाक्टर गुड्यो।
केही पर पुगाएपछि सडक अवरूद्ध भएर लामो लाइनमा थन्किएका बस, ट्रकजस्ता ठूला सवारी साधनले बाटो अवरूद्ध थियो। त्यही जाममा कयौं नेपाली बसेका थिए। वरपरका घर-खेत पानीमा डुबेका थिए।
हामी बसेको ट्याक्टर अगाडि बढ्न सकेन। ट्याक्टर चालक ‘साहसी’ बन्न खोजे। खेतबाट ट्याक्टर गुडाउँछु भने।
बाढी र डुबानले नेपालभन्दा यहाँको धानबालीमा झन् ठूलो क्षति भएको रहेछ। नेपालमा त बर्षा रोकिएसँगै खेतमा पानी सुक्न थालेको छ, यहाँ त अझै चारैतिर जलमग्न। किसानहरू अग्लो ठाउँबाट डुबेको धान हेर्दै थिए। केही खेतमा उखुका पातमात्रै अलिअलि देखिन्थे। ट्याक्टरबाट जता हेऱ्यो पानी नै पानी।
ट्रलीमै बसेका थिए, कैलालीको टीकापुरका दीपकबहादुर बिष्ट। उनी हैदरावाद जान हिँडेका रहेछन्।
१८ वर्षदेखि उनी भारतमा काम गर्दै आएका छन्। बुवाको उपचारका लागि घर फर्केका उनी फेरि भारत जाँदै थिए।
पलियासम्म बसमा जान पाएका उनले अगाडि बाटो अवरूद्ध छ भन्ने कुरा घरबाट आउने बेला थाहा पाएका थिएनन् रे।
‘यता बाटो अवरूद्ध छ भन्ने थाहा पाइएन, आइहालियो। अहिले यस्तो पर्यो,’ उनले भने।
अलि पर पुगेपछि ट्याक्टरको ट्रली नै पानीले भरियो। बसेका मान्छे उठे। दीपकको लगेज ट्रलीमा भरिएको पानीले डुबायो। धन्न मोबाइल हातमा समातेकोले बच्यो!
आधा घन्टाजति यस्तै यात्रा गरेपछि अगाडि ट्याक्टरसमेत हिँड्ने बाटो नपाएपछि चालकले रोके। ट्याक्टरमा गएकाहरू त्यसपछि पैदल जानुपर्ने भयो।
कम्मरसम्म पानी पुगेको थियो। बच्चा काँध र सामान पिठ्युँमा बोकेर मानिसहरू हिँड्न थाले।
केही स्थानीयले लाइन बनाएर नेपालीलाई बाटो पार गर्न मद्दत गरे।
खेतको बाटोमा ट्याक्टरको ट्रलीमा चढेर, कम्मरसम्म भिज्ने पानीमा हेलिँदै कोही किन आफ्नो देश छोडेर हिँड्छ होला? अनि कहिलेसम्म यसरी नै हिँडिरहनु पर्ने होला?
कैलालीकै बिष्णु बिकले देश र पानीसँग एकैसाथ दु:खेसो पोखे।
‘देशमै काम पाए, यति दु:ख गर्नु पर्दैन थियो। त्यसैमाथि अस्तिको पानीले घरमा त छँदै थियो कमाउन परदेश आउँदासमेत बाटोमा दु:ख दियो,’ उनले भने।
लड्दै-पड्दै झन्डै दुई घन्टापछि हामी भिरा पुग्यौं।
जानेहरू जस्तै भारतबाट आउनेहरू पनि बाटोमै अलपत्र परेका छन्।
दुई दिनअघि त झन् पलिया र भिरा जोड्ने सडक पूर्ण रूपमा अवरूद्ध थियो।
त्यहाँ ट्याक्टरसमेत गुड्न सक्ने अवस्था थिएन।
त्यही कारण भारतबाट तिहार मनाउन घर फर्केका हजारौं नेपाली भिरामै अलपत्र परेका थिए।
भारतको लुधियानाबाट नेपाल आउन लागेका दिपेन्द्र केसी बाढीले सडक अवरूद्ध भएपछि भीरामै रोकिनु पर्यो।
उनीसँगै आएका श्रीमती र केटाकेटी पनि चार दिन त्यहीँ बसे।
‘घर जानलाई आएको, अगाडि बाढीले बाटो बन्द छ भनेर गाडीले यही छोड्यो, अनि अब कहाँ जाने समस्या भएर गुरुद्वारामा आयौं,’ उनले भने।
लखनउबाट आएका सरजन सिंहले पानी आएर शारदा नदीको पुल बन्द भएपछि चार दिनदेखि अलपत्र परेको बताए।
चाडबाड मनाउन भारतबाट स्वदेश फर्केका उनीहरूजस्तै झन्डै ४ हजार नेपाली बाटो अवरूद्ध भएपछि नानकशाही सिंहसभा गुरुद्वारामा बसे।
गुरुद्वाराका प्रधान बलविन्दर सिंहले सबैलाई नि:शुल्क बस्ने, खाने व्यवस्था गरिएको बताए।
नेपाली भनेपछि होटल, रिक्सावालालाले लुट्ने/ठग्ने गरेका हुनाले त्यसो हुन नदिन सबैलाई गुरुद्वारामा राखिएको उनले बताए।
गुरुद्वाराकै मानिसले ट्याक्टरको ट्रलीमा राखेर चार दिन बसेका नेपालीलाई वारी तार्ने काम पनि गरेको उनले बताए।
गौरीफन्टाबाट सँगै गएका नेपालीहरूलाई भिरामै छोडेर हामी पहिलाकै सास्ती भोगेर पलिया फर्कियौं। पलियामा भिरा जानका थुप्रै नेपाली ट्याक्टरको ट्रलीमा चढिरहेका थिए। गौरीफन्टाबाट पलिया जाने बसमा पनि नेपाली नै भरिएका थिए।