प्रहरी प्रधान कार्यालयले छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र पन्ध्र जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ।
प्रधान कार्यालयले केही दिनअघि ती पदमा दरबन्दी थपका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको पठाएको हो।
प्रधान कार्यालयका एक अधिकारीले दरबन्दी थपको प्रस्ताव गृह मन्त्रालयमा पठाइएको पुष्टि गरे।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृह नेतृत्वबीच परामर्शपछि दरबन्दी थपको प्रस्ताव प्रधान कार्यालयबाट अघि बढेको हो।
ती अधिकारीका अनुसार पठाइएको दरबन्दी थपको प्रस्ताव मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा जाने छ।
समितिले दरबन्दी थपका लागि आवश्यक निर्णय गरेपछि गृह मन्त्रालयमा प्रस्ताव बुझाउने छ। त्यसपछि गृहले बजेटको लागि अर्थ मन्त्रालयमा स्वीकृति माग्छ।
अर्थले स्वीकृति दिएपछि बल्ल गृह मन्त्रालयबाट प्रस्ताव मन्त्रिपरिषदमा पुग्ने छ। मन्त्रिपरिषदबाट स्वीकृत भए मात्रै दरबन्दी थपको प्रस्ताव औपचारिक रूपमै कार्यान्वयनमा आउने छ।
प्रधान कार्यालय स्रोतका अनुसार बढुवामा छुटेका पुराना अधिकृतहरूलाई ‘लक्षित’ गरी दरबन्दी थपको प्रस्ताव गरिएको हो।
अहिले नेपाल प्रहरीमा १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५५ जनाको दरबन्दी छ। प्रस्ताव स्वीकृत भए २५ जना डिआइजी र ७० जना एसएसपी दरबन्दी कायम हुने छ।
प्रहरी उपरीक्षक (एसपी) भन्दामाथि एसएसपी, डिआइजी र एआइजी बढुवाका लागि निश्चित मापदण्ड नभएका कारण बढुवामा ‘अस्वस्थ’ प्रतिस्पर्धा हुनसक्ने अधिकारीहरूको दाबी छ।
दरबन्दी थपको प्रस्ताव गएसँगै बढुवाका आकांक्षीहरू दौडधूपमा लागेका छन्। तर, प्रधान कार्यालयले दरबन्दी थपिए पारदर्शी बनाउन खोजिरहेको छ।
‘केही सुधार नै गरौं र संगठनमा रहेको गुनासो कम गर्न सकियोस् भनेर दरबन्दी थपका लागि प्रस्ताव गएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘कसैलाई पदमा पुर्याउनका लागि मात्र गरिएको प्रयत्न होइन।’
६ जना डिआइजीका लागि ९ जना एसएसपी बढुवाका स्वाभाविक दाबेदार छन्। उनीहरूमध्ये केही यही कात्तिक र मंसिर महिनामा बढुवा नभए एसएसपीबाटै घर फर्किने अवस्थामा छन्।
डिआइजी बढुवाका मुख्य प्रतिस्पर्धी एसएसपीहरू पाँच जना वर्तमान प्रहरी महानिरीक्षककै ब्याचकै शेखर कोइराला, राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र वस्याल र नवराज भट्ट छन्।
त्यसपछिको ब्याचबाट पूजा सिंह, हरिराज वाग्ले, नलप्रसाद उपाध्याय, मोहन आचार्य, विक्रमबहादुर चन्द, नरबहादुर केसी, सुशील यादव लगायत छन्। उनीहरू हाल प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्।
योभन्दा पछिल्लो ब्याचका एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापा, भीम ढकाल, किरण राना, अशोक सिंह, किरण बज्राचार्यलगायत पनि बढुवाका आकांक्षी हुन्। दरबन्दी थपको प्रस्ताव जाँदा यो ब्याचबाट कम्तीमा तीन जना र अघिल्लो ब्याचका तीन जनालाई समेट्नु पर्ने दबाब प्रहरी नेतृत्वलाई छ।
अघिल्लो ब्याचबाट मात्रै बढुवा गरिए विद्यमान ३० वर्षे सेवाअवधिका कारण एक वर्षपछि सबै अवकाशमा जाने भएकाले त्यसमा पछिल्लो ब्याच पनि समेटिनुपर्ने माग प्रहरीमा छ।
पछिल्लो ब्याचका एसएसपीहरू भावी प्रहरी महानिरीक्षकसहित विशिष्ट श्रेणी (एआइजी) पदका प्रतिस्पर्धी छन्।
‘अघिल्लो ब्याचबाट सबै समेटिने हो भने उनीहरू डिआइजी भएको एक वर्षमै अवकाशमा जाने छन्, त्यसैले भावी प्रहरीको नेतृत्वसहित विशिष्ट श्रेणीको पदका लागि पनि नयाँ ब्याचबाट समेटेर नेतृत्व विकासमा ध्यान दिनुपर्छ भन्ने माग हाम्रो हो,’ एक जना एसएसपीले सेतोपाटीसँग भने।
घटाउने-बढाउने भइरहेको डिआइजी दरबन्दी
नेपाल प्रहरीमा पहिले डिआइजीको पद ४१ जना थियो। त्यसबाट घटाएर २६ जनामा झारिएको थियो।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा २६ जनाबाट पनि घटाएर १४ जनामा डिआइजी दरबन्दी कायम गराएका थिए। यसका लागि गृहले न ओएन्डएम गर्यो, न प्रधान कार्यालयको स्वीकृति नै लियो।
१२ जना घटाएको केही समयमै गृहले फेरि पाँच जना बढाएर १९ डिआइजी पुर्यायो।
‘यसरी पद घटाउँदा-बढाउँदा संगठन सर्वेक्षण नै गरिएन, आफूअनुकूल जे लाग्छ त्यही निर्णय गरियो,’ अर्का एक अधिकारीले भने।
यसपालि भने दरबन्दी थपको प्रस्ताव पठाउँदा प्रधान कार्यालयले हाल एसएसपीको दरबन्दी कायम रहेका केही ठाउँमा अहिले डिआइजी दरबन्दी बनाउन खोजेको छ।
विगतमा लागुऔषध ब्युरो, त्रिभुवन विमानस्थल, महानगरीय ट्राफिक महाशाखा, मानव बेचबिखन ब्युरो तथा प्रधान कार्यालयकै कतिपय विभागमा डिआइजी दरबन्दी थियो। अहिले ती निकाय एसएसपीले चलाइरहेका छन्।
यसैगरी, पन्ध्र एसएसपी बढुवाको प्रस्तावमा पनि केही ठाउँहरू लक्षित गरिएका छन्। जसमा विराटनगर महानगरपालिका, वीरगन्ज, चितवन र पोखरा महानगरपालिका पर्छन्। काठमाडौं र ललितपुर महानगरमा यसअघि नै एसएसपीको दरबन्दी छ।
यसबाहेक प्रदेशको राजधानी भएका तराईका ठाउँमा एसएसपी दरबन्दी कायम गर्ने सोचमा प्रधान कार्यालय र गृह मन्त्रालय छ।
यसमा दुई नम्बर प्रदेश राजधानी जनकपुर, तीन नम्बर प्रदेश राजधानी मकवानपुर, पाँच नम्बर प्रदेश राजधानी दाङ र सुदूरपश्चिम प्रदेश राजधानी धनगढी पर्छन्।
पन्ध्र जना एसएसपीका लागि एसपीहरू विकासराज खनाल, भोला रावल, सुदीपराज भण्डारी, डिल्लीराज विष्ट, अनुरागकुमार द्विवेदी, योगबहादुर रावल, टिकाबहादुर केसी लगायत आकांक्षी छन्।
अहिले छ जना एसएसपी दरबन्दी रिक्त छ। एसएसपी देवबहादुर बोगटी, किशोरकुमार दाहाल, दिलीप चौधरी, मुकेश सिंह र कृष्णकुमार महतले अवकाश पाइसकेका छन् भने शौरभ राणा डिआइजी बढुवा भएका छन्।
हाल प्रतिस्पर्धामा रहेका पछाडिको ब्याचबाट पनि मनोज केसी, दानबहादुर कार्की, ईश्वर कार्की, दिनेश आचार्य, गोविन्द थपलिया, राजेन्द्र भट्टलगायत बढुवाका आकांक्षी छन्।
प्रहरीमा २९ वर्ष बिताएका पूर्वडिआइजी रमेश खरेलले हचुवामा दरबन्दी थप-बढले विगतदेखि नै प्रहरी संगठनमा अस्थिरता निम्त्याएको बताए।
उनले प्रहरी संगठनले आफ्नो बृहत्तर हितका लागि सरकारको स्वार्थभन्दा माथि रहेर काम गर्नुपर्ने बताए।
‘प्रहरी संगठनलाई राजनीतिक नेतृत्वले सधैं खेलौना बनाइरहेको छ, आफूले चाहेका मानिसलाई पदमा पुर्याउन अनावश्यक दबाब दिँदै आएको छ,’ खरेलले भने, ‘प्रहरी नेतृत्वले यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै संगठनको आवश्यकता अनुसार संगठनको हितका लागि काम गर्नुपर्छ, संगठनलाई राजनीतिक दलको प्रभावबाट मुक्त राख्न सक्नुपर्छ।’