बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ।
मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए।
निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरपष्ट बनाएको गौतमको भनाइ छ।
कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तारसमेत काटिएको छ। सामान भने हराएको अहिलेसम्म देखिएको छैन। यद्यपि यसबारेमा सामान चेक भइरहेको छ।
चोरले वडा नं ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट रु ६०० चोरेको सूचना अधिकारी गौतमले बताए।
वडा नं ४ को कार्यालय पनि तोडफोड भएको छ।
कार्यालय तोडफोडसँगै रु ११ हजारसमेत चोरेको वडा कार्यालयले जनाएको छ।
वडा नं ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ। वडा नं ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ।
तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामान हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले जानकारी दिए।
बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरी रु १० हजार चोरी भएका विद्यालयले जनाएको छ।
चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ।
वडा नं २ मा २ र वडा नं ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको सूचना अधिकारी गौतमले बताए।
वडा नं-३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद चोरी गरेको गाउँपालिकाले जनाएको छ।
विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट रु १० लाख बराबरको नगद र जिन्सी चोरी भएको उनले जानकारी दिए।
राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाएका थिए।
प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। गाउँपालिकाको कार्यालय भने बिहान ७ बजे कर्मचारी आउँदा ढोका खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए।
उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरमा लाखौंको चोरी भएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताए।रासस