डोटीको जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।
बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो।
यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौं घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।
उनले भने, 'बाढी र पहिराले तहसनहस बनाएको छ, कयौंको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौं।'
उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो।
वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्णरूपमा बन्द भएका छन्। भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताए। रासस