महोत्तरीको औरही नगरपालिका-९, अगलेसराकी ५५ वर्षीया सदिक्षा ठाकुर (परिवर्तित नाम) बिहीबार बेलुकी ६ बजे दैनिक कामकाज सकेर खाना पकाउने तयारीमा थिइन्।
त्यही बेला एक दर्जन मानिस ‘बोक्सी’ भन्दै गालीगलौज गर्दै उनको घरमा पसे।
सदिक्षाका जेठाजू ५० वर्षीय झरेन्द्र (परिवर्तित नाम) घरमै थिए। स्थानीय नेवल, कलेवर, सोनेलाल मण्डलका परिवार, आफन्त लगायतले उनलाई कुटपिट गर्दै घिसारेर सडकसम्म ल्याए। सदिक्षालाई पनि कपाल समातेर घिसार्दै बाहिर ताने।
सदिक्षा र झरेन्द्रले ‘टुनामुना’ गरेर आफ्नो परिवार ‘बर्बाद’ पार्न लागेको भन्दै भिडले दुवैलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र गिलासमा घोलेर ल्याएको मलमूत्र पनि खुवाएको वडाध्यक्ष गौरीशंकर झाले जानकारी दिए।
उनका अनुसार लात्ती र मुड्कीसँगै हँसियाको बिँडको कुटाइबाट झरेन्द्र बेहोस भएका थिए। त्यतिञ्जेल घटना हेर्न ५० जनाभन्दा बढीको भिड लागेको थियो। दुवैले हारगुहार गरिरहे तर कसैले सुनेनन्। भिडको आक्रोश यतिधेरै थियो, आफ्नै घरका सदस्यले पनि उनीहरूलाई बचाउन हिम्मत गरेनन्।
‘डकैतीको शैलीमा उनीहरू घरमा पसे। हिर्काउँदै उपद्रव मच्चाउन थाले। कुनै गल्ती नै भएको थियो भने समाजमा बसेर कुराकानी गरेको भए हुन्थ्यो,’ झरेन्द्रकी श्रीमतीले भनिन्, ‘हामीलाई पनि कुटेर दिसा खुवाइदेलान् भन्ने डर थियो।’
घटनापछि पीडित परिवारले दुवै जनालाई स्थानीय मेडिकलमा लगे।
डर र पीडाले बिहीबार राति परिवारका कसैले खाना खाएनन्। भोकभाकै सुते। उनीहरूलाई नडराउन र पीडकलाई कानुनी कारबाही हुने भन्दै आश्वस्त रहन आफू बिहानै झरेन्द्रको घर पुगेको वडाध्यक्ष झाले बताए।
‘जघन्य अपराध भएको छ। दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ। बीस वर्षअघि यस्तै घटना भएको थियो तर त्यति बेला मिलापत्र भयो। दोषीलाई केही भएन। यसपालि अपराध गर्नेलाई छुट नदिइयोस्,’ उनले भने।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार घटनामा संलग्न आरोपमा ४० वर्षीया रामशिलादेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उनका छोरा रामउदेश मण्डल, स्थानीय दुतिया देवी, पुष्प मण्डल लगायत आरोपी फरार छन्।
'दसैंअघि राम शिलादेवी र पीडित सदिक्षाका श्रीमान सँगै बसेर मदिरा पिएका थिए। भोलिपल्टै रामशिलाका श्रीमान राम केवलको मृत्यु भयो। बिहीबार रामशिलाका छोरा रामउदेश मण्डल मोटरसाइकल दुर्घटनामा परेर घाइते भए,' डिएसपी विष्टले भने, ‘टुनामुना गरेर श्रीमानलाई रक्सी खुवाएपछि मृत्यु भयो र मोटरसाइकल दुर्घटना पनि त्यसै कारणले भएको भन्दै कुटपिट गरी मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’
‘बोक्सी’ आरोपमा मलमूत्र खुवाएर कुटपिट गरिएको महोत्तरीमा यो पहिलो घटना होइन। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ‘बोक्सी’ आरोपमा यस्तो अमानवीय व्यवहार गरिएको पछिल्लो तीन वर्षमा यो आठौं घटना हो।
दुई साताभित्रै महोत्तरीमा ‘बोक्सी’ आरोपमा तीन जनालाई कुटपिट गरी मलमूत्र खुवाइएको र एक जना महिलाको हत्या नै भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएको असोज २७ गते राति महोत्तरी गाउँपालिका–३, मडैकी शिलादेवी झाको हत्या भएको थियो। आफ्नै देवर सञ्जय झाले ‘बोक्सी’ को निहुँमा हथौडा प्रहार गरी उनको हत्या गरेका थिए।
शिलाले दिएको केरा खाएपछि श्रीमती रिंकूको गर्भ तुहिएको आरोप लगाउँदै सञ्जयले उनको हत्या गरेको डिएसपी विष्ट बताउँछन्।
सञ्जयले प्रहरीलाई दिएको बयानअनुसार उनकी श्रीमती बेलाबेला मुखबाट फिँज निकाल्ने र बिरामी भइरहन्थिन्। अस्पतालमा जाँच गराउँदा पनि सुधार हुन सकेको थिएन।
‘डेढ महिनाअगाडि उनीहरूले झाँक्री लगाएका रहेछन्। सञ्जयकी श्रीमतीले काम्दै आफू शिलाका मृतक माइला छोरा भएको र शिलाले आफ्ना श्रीमान् र आफूलाई टुनामुना गरी मारेको भन्दै अब सञ्जयकी श्रीमतीलाई समेत मार्ने भनेकी थिइन्,’ डिएसपी विष्टले सञ्जयको बयान उद्धृत गर्दै भने, ‘भाउजूलाई मारेपछि मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासका कारण उनले हत्या गरेको थाहा भएको छ।’
त्यसै दिन जलेश्वर नगरपालिका–४ स्थित सुगा गाउँकी ४२ वर्षीया अर्की महिलालाई मलमुत्र खुवाई कपाल काटेर दुर्व्यवहार गरिएको घटना सार्वजनिक भयो।
बिहान ३ बजे सडकमा घुमफिर गरिरहेको अवस्थामा स्थानीय सिकिन्दर महतोका परिवारले ‘बोक्सी’ आरोपमा उनलाई अमानवीय व्यवहार गरेका थिए। प्रहरीका अनुसार ती महिला घुमफिर गर्दै सिकिन्दरको घरअगाडि पुग्दा उनकी १३ वर्षीया छोरी काजलकुमारी रून थालेका थिए। त्यसकै निहुँमा ती महिलामाथि दुर्व्यवहार भएको थियो।
घटनामा प्रहरीले स्थानीय रगेश्वर महतोकी श्रीमती ६५ वर्षीया प्रमिलादेवी महतो, छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनीदेवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतोलाई पक्राउ गरेको छ।
पछिल्लो तीन आर्थिक वर्षमा प्रदेश-२ मा ५२ वटा ‘बोक्सी’ सम्बन्धी घटना भएको प्रहरीको तथ्यांक छ। आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्म सप्तरीमा ९, सिरहामा २१, धनुषामा ४, महोत्तरीमा ८, सर्लाहीमा २, रौतहटमा ३, बारामा १ र पर्सामा ४ वटा यस्ता घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अशिक्षा, गरिबी र सूचनाको पहुँच नभएको समाजमा रूढिवादी परम्पराले यस्ता घटना व्याप्त रहेको महोत्तरीका एसपी दिनेश आचार्य बताउँछन्।
‘हामीकहाँ धामीझाँक्रीको चलन छँदैछ। जबसम्म हामी यस्ता सोचाइबाट मुक्त हुन सक्दैनौं, यस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘हात हेराउनेदेखि बिरामी भएपछि झाँक्रीकहाँ जाने र समाजले त्यस्ता व्यक्तिलाई प्रश्रय दिउञ्जेल यस्तो रूढिवादी प्रथा रहिरहन्छ।’