जापानको राजधानी टोकियोमा आइतबार राति एक भूमिगत रेलमा अचानक यात्रहुरू चिच्याउन थाले। उनीहरू आ-आफ्नो सिटबाट उठेर यताउति दौडिए। रेलको ढोका खुल्न नपाउँदै डब्बाबाट भागाभाग गरे।
रेलभित्र यस्तो अफरातफरी मच्चिनुको कारण एक जना यात्रुले अचानक चक्कू झिकेर हमला गर्नु हो।
उनले चक्कूले हमला मात्र गरेनन्, चक्कूकै बलमा सबैलाई धम्काउँदै रेलको डब्बाभित्र आगो पनि लगाइदिएको प्रहरीले जनाएको छ। यो हमलामा १७ जना घाइते भएका छन्।
प्रहरीले घटनामा संलग्न २४ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्दा ती युवकले ब्याटम्यान कमिक्सको पात्रले लगाउने पोसाक लगाएका थिए।
यो हमला त्यति बेला भयो जब रेलका यात्रुहरू हेलोविन पार्टीमा जान हतारिएका थिए।
प्रत्यक्षदर्शीका अनुसार एक शंकास्पद व्यक्तिले सबभन्दा पहिला रेलको डब्बाभित्र कुनै तरल स्प्रे छर्के र त्यसमा आगो लगाइदिए। त्यसपछि उनी चक्कू झिकेर जथाभाबी हमला गर्न थाले।
घटनापछि सार्वजनिक भएको एक भिडिओमा यात्रुहरू हमलाबाट बच्न अर्को डब्बातिर भागिरहेका देखिन्छन्। कोही रेलको झ्यालबाट हाम्फालेर निस्किरहेका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार उनीहरूले सुरूमा ती व्यक्ति हेलोविनको नाटक गरिरहेको अड्कल गरेका थिए। जसै उनले लामो चक्कू झिकेर फनफनी नचाउन थाले, डब्बामा भएका सबै यात्रु झस्के।
त्यसलगत्तै उनले तरल स्प्रे झिकेर आगो लगाएपछि डब्बाभित्र आतंक नै मच्चियो।
घटनाको भिडिओ खिचेका यात्रुले जापानी सञ्चारमाध्यमलाई भनेका छन्, 'एकदमै भयानक दृश्य थियो। रेलका ढोकाहरू बन्द थिए, डब्बाभित्र यात्रुहरू भागाभाग गर्दै थिए। भागेर कहाँ जाने कसैलाई थाहा थिएन। त्यही भएर कति यात्रुले ज्यान जोगाउन झ्यालबाटै हाम्फाले।'