‘पच्चिस सालको पैरो, निङ्वा मैरो’ अर्थात् वि.सं २०२५ मा गएको पहिराले मन उडायो, वीरक्त लगायो।
लिम्बू समुदायमा धान नाच नाच्दा गाइने पालाम(दोहोरी)को यदाकदा सुनिने एक पङ्ति हो यो।
दुई पक्षले सवाल-जवाफमा गाइने पालाममा विसं २०२५ मा बेमौसमी वर्षाका कारण आएको पहिराले पुर्याएको क्षतिका विषय समेटिएका छन् दोहोरीमा।
मिक्लाजुङ गाउँपालिका-५ चिसापानी पञ्चमीका पदमशेर लावतीका अनुसार पालाममा भनिएअनुसार त्यसबेलाको पहिराले मन मात्रै उडाएको थियो तर यसपालिको पहिराले भने आँसु पनि झार्यो।
पहिरामा परी उनका छोरा विष्णुबहादुरको मृत्यु हुनाका साथै खेतबारीमा पनि ठूलो क्षति पुर्यायो।
बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको हो।
गत कात्तिक १ गतदेखि ३ गतेसम्म निरन्तर परेको वर्षाले यहाँका सयौं स्थानमा पहिरो झरेको छ। यत्रतत्र पहिरो झर्नाका साथै खोला तथा खोल्सीमा बाढी आएर मानवीय तथा भौतिक क्षति पनि पुर्याएको छ। पहिराका कारण गाउँपालिकाको वडा नं ५ र ७ को स्वरूप नै बदलिएको छ। खेतीयोग्य जमिन भीर, पाखो र बगर बनेका छन्। सयौं घरमा क्षति पुगेको छ। भूकम्पले जस्तै पहिराले जमिन क्षतविक्षत हुँदा स्थानीयबासी कहाँ जाने भन्ने चिन्तामा छन्। बाँकी छ वडामा पनि पहिराले क्षति पुर्याएको छ।
गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिराबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन। यहाँका हजारौं घर, गोठमा पूर्ण वा आंशिक क्षति भएको छ। स्थानीयबासीका खेतबारीमा लगाइएको बाली त नष्ट भयो नै, ती ठाउँ भविष्यमा खेती लगाउन नमिल्ने भएको छ। सडक, खानेपानी, विद्युत, सिँचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाले तयार पार्न सकेको छैन।
'सबै ठाउँमा ठूलो क्षति पुगेको छ। बाटा बन्द छन्, विद्युत अवरूद्ध छ', अध्यक्ष माखिमले भने, 'के-कति क्षति भयो भन्ने कुराको लगत सङ्कलन गर्न वडा कार्यालयहरूलाई भनेका छौं तर ती कार्यालयले समेत तत्कालै पूर्ण विवरण तयार पार्नसक्ने अवस्था छैन।'
पहिराका कारण गाउँपालिकाभित्रका अधिकांश सडक पनि क्षतविक्षत बनाएको छ। राँके-रवि-भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरा झर्दा सडक खुलाउन हप्तौं लाग्नसक्ने अवस्था छ।
विद्युतका पोल तथा तार खोलामा पुगेका छन्। कतिपय सिँचाइ कुलोको नाम निशान नै मेटिएको छ।
बाढी र पहिराका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनाका साथै तीन जना अझैसम्म बेपत्ता छन्। बाढी र पहिराले विस्थापित बनेका सयौं स्थानीयबासी छरछिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन्। घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार भएकाहरू जोखिमयुक्त स्थानमा बनेर अन्यौलमा दिन काटिरहेका छन्।
पहिराले घर बगाएपछि स्थानीय क्लबको सहयोगमा बसिरहेका लेखगाउँका रविन राईले भने, 'अहिलेसम्म गाउँपालिकाका अध्यक्षबाहेक कोही पनि हामीलाई भेट्न आएका छैनन्। खोइ कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?'
वडा नं ५ निवासी भकेन्द्र लावतीका अनुसार पहिराका कारण गाउँको संरचनामै परिवर्तन भएको छ।
भूकम्पले जस्तै खेतबारी क्षतविक्षत बनाएकाले पुनः खेती लगाउन सकिने अवस्था नरहेको उनको भनाइ थियो।
'हाम्रो वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो', लावतीले भने,'वर्षा भएमा जोखिम उत्तिकै हुन्छ।'
आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनको विकल्प आफूहरूले पाउन नसकेको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाइ थियो।
'डर त लाग्छ। यहाँ पहिले पनि पहिरो आएको थियो रे तर अन्यत्र जानसक्ने अवस्था छैन', उनले भनिन्।
अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखी छन्।
'विद्युत, बाटो, खानेपानी अवरूद्ध छ। धेरै संरचनाको पुनर्निर्माण अत्यावश्यक भए पनि ठोस सहयोग पाउन सकेका छैनौं', उनले भने।
प्रधानमन्त्रीले गत कात्तिक ७ गते यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिएका थिए तर दुई सातासम्म सरकारी उपस्थितिबिना जीवन गुजार्नुपर्दा पीडित निराश देखिन्छन्। (रासस)