कपिलमणि दीक्षितबारे पत्रिकामा पढेपछि एकदिन एक महिला उनको स्टुडियोमा आइन् र उनको चित्रमा पात्र बन्ने इच्छा व्यक्त गरिन्।
यसरी कुनै व्यक्तिले कुनै कलाकारको चित्रमा पात्र बन्ने इच्छा राख्नु के ठूलो कुरा भयो त भन्ने तपाईंहरूलाई लाग्ला। यसको निम्ति तपाईंहरूले कपिलमणि कस्ता कलाकार हुन् भन्ने थाहा पाउनुपर्छ।
उनी यस्ता कलाकार हुन् जो दुई दशकदेखि न्यूड (नग्न) चित्र बनाउँदै छन्।
जसरी पहिले ल्यान्डस्केप चित्र बनाउँदा उनी प्रकृतिको नजिक पुग्थे, न्यूड चित्र बनाउँदा मानिसको शरीर नजिक पुग्छन्। त्यसैले कपिलमणिको चित्रमा पात्र बन्नु भनेको उनको अगाडि सर्वांग नांगो हुनु हो।
यसबारे ती महिला र कपिलमणिबीच खुलेरै कुराकानी भए।
उनी आफ्नो किशोरावस्थामा शारीरिक शोषणमा परेकी रहिछन्। पछि उनले विवाह गरिन्, बच्चाबच्ची जन्माइन्। तर किशोरावस्थामा बेहोरेको शोषण उनको दिमागबाट कसैगरी हटेन। त्यही शोषण भुल्न उनले आफ्नो नग्न चित्र बनाउन खोजेकी रहिछन्।
पहिले कसैले उनलाई जबर्जस्ती नांगो बनाएको थियो, त्यसदिन उनी स्वेच्छाले एक कलाकारसामु नांगिइन्।
बिस्तारै उनको शरीर खुल्दै गयो, उनको शरीर कपिलमणिको क्यानभासमा सजीव बन्दै गयो।
'धेरैले आफ्नो कुरा सुनाउने ठाउँ खोजिरहेका हुन्छन् तर कसलाई सुनाउने दुबिधा भइरहेको हुन्छ। नचिनेको मान्छेलाई सुनाउँदा मन हल्का हुने रहेछ,' दीक्षितले भने, 'चित्र बनाउने क्रममा आफ्नो कुरा सुनाइरहँदा उनको शरीरको पीडा खुकुलो हुँदै गयो। बिस्तारै उनले आफ्नो शरीर जस्तो छ, त्यसलाई त्यही रूपमा स्विकार्न सिकिन्।'
दीक्षितलाई 'न्यूड आर्ट' अर्थात् नग्न चित्रको विशेषता यही हो जस्तो लाग्छ– आफ्नो शरीर जस्तो छ, त्यही रूपमा स्विकार्नु। आफ्नो शरीरको नजिक हुनु। त्यसलाई पर्गेल्नु।
'नग्नता हामी सबैसँग भएको कुरा हो। हामी सबै भित्रबाट नग्न छौं। तर हामी त्यसबारे कुराकानी गर्न अप्ठ्यारो मान्छौं,' उनले भने, 'न्यूड भन्नेबित्तिकै यौनसँग मात्र जोडिन्न। त्यसमा महिनावारी, बडी शेमिङ (शारीरिक रूपले गिज्याउने) लगायत पनि आउँछन्। हामीले यसबारे खुलेर कुराकानी गर्नुपर्छ।'
दीक्षित दुई दशकअघि अमेरिकाको टेक्सास विश्वविद्यालयमा कला विषय पढ्न गएका थिए। त्यो बेलासम्म उनी नेपालमा हिमाल, पहाड र खोलानालाका ल्यान्डस्केप चित्र बनाइरहेका थिए। अमेरिका गएपछि उनले त्यहाँ समथर जमिन मात्र फेला पारे। उनलाई के बनाउने भनेर अलमल भयो।
त्यसैबीच एकदिन उनी न्यूड आर्ट कक्षामा पुगे। त्यहाँ एउटी मोडल बीचमा बसेकी थिइन्। सबै जना उनलाई हेरेर चित्र बनाउँदै थिए। त्यो देख्नेबित्तिकै उनले आफू प्रकृतिसँग नजिक भएजस्तो महशुस गरे। अनि ठाने, 'प्रकृति त हामीभित्रै रहेछ।'
उनले मान्छेको शरीरमा आफूलाई चिन्ने मौका पाए। आफ्नो कामलाई झनै तिखार्ने माध्यम भेटे।
त्यस दिनदेखि न्यूड आर्टमा जोडिएका दीक्षितले अहिलेसम्म पछाडि फर्किनुपरेको छैन।
बाह्र वर्षअघि उनी नेपालमै भविष्य बनाउने भनेर अमेरिकाबाट फर्किएका थिए। त्यति बेला घरमा विवाहको कुरा चल्दै थियो। छोराले नग्न चित्र बनाएको देखेर उनकी आमाले अप्ठ्यारो मान्दै भनिन्, 'बिहे नगरेसम्म यस्तो चित्र नबना, नत्र तँसँग कसैले बिहे गर्दैन।'
अरूले पनि उनलाई त्यही भनेर सम्झाए। तर उनले कसैको कुरा सुनेनन्। भने, 'जो मेरी श्रीमती भएर आउँछिन्, उसले मेरो कामको सम्मान गर्नुपर्छ। मैले केही नराम्रो गरेको छैन भने किन लुकाउनु?'
केटी हेर्न जाने दिन दीक्षितले आफ्नो कामबारे खुलेर बताए। उनको कामलाई सामान्य रूपमा लिँदै केटीले भनिछन्, 'यो तपाईंको काम हो, मलाई केही समस्या छैन।'
त्यस दिन उनलाई लाग्यो, 'बुझ्ने मान्छेले जसरी पनि बुझ्दो रहेछ।'
अहिले उनीहरूका दस र चार वर्षीया छोरी छन्। छोरीहरूलाई पनि आफ्नो कामबारे खुलेरै बताउँछन्। उनलाई लाग्छ, छोरीहरूले आफ्ना आमाबाको काम बुझ्नुपर्छ, ताकि उनीहरूले कसैको अगाडि लाज मान्न नपरोस्।
'भोलि ठूलो भएर अप्ठ्यारो मान्दै 'मेरो बाबा डाक्टर' भनिदिए त यत्रो वर्षको तपस्या खेर गयो नि!' दीक्षितले भने।
उनले गरेको तपस्या अहिलेसम्म खेर चाहिँ गएको छैन। उनकी छोरी खुसीखुसी भन्छिन्, 'मेरो बाबा न्युड चित्र बनाउनुहुन्छ। त्यो भनेको नराम्रो होइन।'
दीक्षितले नेपाली कला क्षेत्रमा न्यूड आर्ट प्रवर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन्। पहिले धेरै नेपाली कलाकारले आफूले बनाएको नग्न चित्र लुकाएर राख्थे। दीक्षितले भने यस्तो चित्र बनाउनु लाज मान्नुपर्ने कुरा होइन भन्दै बाहिर ल्याउन प्रोत्साहन गरे। त्यस्तै चित्रहरू संकलन गरेर सन् २००९ मा उनले एक सामूहिक कला प्रदर्शनी पनि आयोजना गरे।
त्यो बेला धेरैले उक्त प्रदर्शनी बहिष्कार गर्दै भने, 'यो त नराम्रो हो, यस्तो ठाउँमा जानु हुँदैन।'
धेरैले दीक्षितलाई 'अमेरिकामा पढेर पश्चिमा संस्कृति भित्र्याउन खोज्यो' भन्ने आरोप पनि लगाए। तर यस्ता आरोपले दीक्षितको उत्साह र मनोबल घटेन।
बाह्र वर्ष अन्तरालमा नेपाली समाज धेरै परिवर्तन भइसकेको उनी बताउँछन्। मान्छेहरू अहिले खुला रूपमा न्यूड आर्टबारे कुरा गर्न र चासो देखाउन थालेको उनको अनुभव छ।
'हामी जति ढोका बन्द गर्छौं, मान्छेले उति चियाएर हेर्न खोज्छन्। जति खुला गर्छौं, मान्छेले त्यसलाई सामान्य रूपमा लिन्छन्,' उनले भने, 'मैले लुकाएर काम गरेको भए आजसम्म लुकाइरहन्थेँ होला। तर मैले नराम्रो केही गरेको छैन भनेर जुन हिसाबले देखाएँ, त्यसले मलाई यो स्थानसम्म पुर्यायो।'
यति हुँदाहुँदै न्यूड आर्ट भनेको के हो भन्नेमा अझै पनि धेरैको बुझाइ प्रस्ट नभएको उनको भनाइ छ।
दीक्षितका अनुसार साहित्य होस् या कला, धेरैले अझै पनि न्यूड भन्नेबित्तिकै महिलाको नग्न शरीर सोच्ने गर्छन्। यस्तो सोच हटाउन दीक्षितले धेरै पुरूष शरीरमा काम गरेका छन्।
सन् २०१९ मा उनी र अर्का कलाकार रोशन मिश्रले पाटनको चाकुपाटस्थित एमक्युब ग्यालरीमा 'मेल न्युड्स' प्रदर्शनी गरेका थिए।
प्रदर्शनीअघि उनीहरूले विभिन्न पुरूष पात्रसँग भेटे, कुराकानी गरे र चित्र बनाए। त्यस क्रममा उनीहरूले थाहा पाए, 'पुरूषहरूले पनि आफ्ना कुरा आफ्नै परिवार वा मिल्ने साथीलाई भन्दैन रहेछन्।'
समाजले महिला र पुरूषलाई आ-आफ्नै सीमा तोकिदिएको छ। केटालाई निलो रंग, केटीलाई गुलाबी। केटाले गुलाबी मन परायो भने उसलाई समलिंगी भनेर जिस्काइन्छ। बाइक नचढ्ने, रक्सी नखाने, लजाउने गुण भएका केटालाई 'कस्तो केटीजस्तो' भनेर खिसी गरिन्छ। यही डरले धेरै पुरूषले इच्छाविपरीत व्यवहार गर्नुपरेको दीक्षितले थाहा पाए।
'आफ्नो समूहभन्दा फरक स्वभाव भएका धेरै पुरूषले आफ्नो पहिचान र संवेदना लुकाउँदा रहेछन्,' उनले भने, 'आफूलाई के मनपर्छ भन्दा पनि अरूले के भन्छ भन्ने सोचाइले मान्छे डराउँदा रहेछन्। अरूले के भन्ला भन्ने डरले हामी कति कुरा गुमाइरहेका रहेछौं। हामी आफू नभई अरू भएर बाँच्दा रहेछौं। त्यही भएर हामी दुई पुरूष कलाकार मिलेर पुरूषको चित्र बनायौं। उनीहरूको मनको कुरा न्यूड आर्टमार्फत बाहिर निकाल्यौं।'
उक्त प्रदर्शनीमा दीक्षितले आफ्नो क्यानभासमा गुलाबी रंग छर्किएका थिए। रंग भनेको रंग मात्र हो, कसैको पहिचान होइन भन्ने उनी बताउन चाहन्थे।
दीक्षितले यौन अल्पसंख्यक केन्द्रित प्रदर्शनी पनि गरेका थिए। उक्त प्रदर्शनीका लागि चित्र बनाउने क्रममा धेरैले आफ्नो परिचय खुलाउन नचाहेको उनी बताउँछन्। तर प्रदर्शनीपछि उनीहरू आफैं मिडियासामु खुलेर आएको र आफ्नो कथा सुनाएको उनको अनुभव छ।
'कलाकारहरूमाझ पनि न्यूड भन्नेबित्तिकै पूरै शरीर हो भन्ने धारणा छ, त्यो गलत हो। न्यूड भनेको मान्छेको खुला हात पनि हो, खुट्टा पनि हो,' उनले भने, 'जुत्ता नलगाई हिँड्यो भने नांगो खुट्टा नहिँड भनिन्छ नि। त्यो न्यूडको उदाहरण हो।'
चित्रभन्दा फोटोग्राफीमा न्यूडको कुरा खुलेर आएको उनले महशुस गरेका छन्। त्यहाँ कलाकारले मान्छेको शरीरका विभिन्न भागका रेखालाई बढी केन्द्रित गरेको उनी बताउँछन्, 'न्यूड भनेको प्रकृति हो। जसरी रूख, चरा, जनावरहरूले लुगा लगाउँदैनन्, मान्छेले पनि लुगा नलगाउनु सामान्य हो। समयक्रममा मान्छेले लुगालाई घाम–जाडो छल्न प्रयोगमा ल्याए, जसरी अहिले मास्क प्रयोगमा आएको छ।'
उनका अनुसार न्यूड चित्र बनाइँदा उसको जात के हो, शरीर कस्तो छ, ऊ व्यावसायिक मोडल हो कि होइन लगायत केही हेरिन्न। जसको शरीर जस्तो छ त्यसरी नै स्वीकार गरिन्छ, उनी भन्छन्, 'हामीले आफ्नो शरीर जस्तो भए पनि गर्व गर्नुपर्छ। हामीलाई प्रकृतिले जस्तो बनाएको छ त्यसमा खुसी हुनुपर्छ।'
पहिले मोडल हेरेर धेरै चित्र बनाउने दीक्षितले पछिल्लो समय आफ्नो कल्पना प्रयोग गर्न थालेका छन्। यतिका लामो अभ्यास र अनुभवपछि उनलाई अब मोडल हेरर चित्र बनाइरहनुपर्छ भन्ने नलाग्न थालेको छ।
लकडाउनमा उनले आफ्नो कलालाई फरक तरिकाले परख गर्ने मौका पाए। त्यो बेला घरमै थुनिएर बस्दा बाहिर निस्फिक्री घुमिरहेको काग देख्दा उनलाई इर्ष्या लागेको थियो। त्यही भएर उनले लकडाउन बेला बनाएका चित्रमा धेरै ठाउँ कागको प्रयोग गरेका छन्।
'एब्सट्रयाक्ट' शैलीको उक्त काममा उनले आफ्नो विगत, वर्तमान, साथीभाइ लगायत आफ्नै र आफैंले भोगेका कथा क्यान्भासमा उतारेका छन्।
'अनटोल्ड स्टोरी' नाम दिइएको उक्त कला शृंखला चाँडै प्रदर्शनमा ल्याउने उनको योजना छ। हाल आफ्नो सामाजिक सञ्जालमा उनी ती चित्रका फोटो सेयर गरिरहेका छन्। उनका साथीहरूले फोटो देखेर सोधे पनि, 'यति चाँडै तेरो काममा कसरी परिवर्तन आयो?'
त्यो परिवर्तन के–कस्तो हो भनेर हेर्न हामीले उनको सामाजिक सञ्जाल हेर्नुपर्छ, नभए उनको प्रदर्शनीसम्म कुर्नुहोला।
दुई दशक न्यूड आर्टमा काम गरेर दीक्षितले आफ्नो परिचय नै न्यूड कलाकारका रूपमा बनाइसके। सुरू सुरूमा धेरै गाली खाए। मान्छेहरूलाई आफ्नो कलाबारे बुझाए। अब आउने कलाकारहरूलाई यो क्षेत्रमा काम गर्न सजिलो हुनेमा उनी विश्वस्त छन्।
उनले छुट्टिने बेला भने, 'यतिका वर्षदेखि यो कुरा मान्छेलाई बुझाइरहेको छु। अब त भन्नै नपरोस्, उनीहरूले आफैं बुझिदिऊन् जस्तो हुने रहेछ।'
भिडिओ: सुसन चौधरी/सेतोपाटी