झापाको कन्काई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरूष मृत भेटिएका छन्।
घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत फेला परेका थिए।
माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयबासीले आशंका गरेका छन्।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस