राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ।
जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताए।
'गणकका लागि कात्तिक १३ गते देखि १६ गते सम्म तालिम दिएका छौं', उनले भने,'तालिमपश्चात निर्धारित समयभित्रै जनगणनाको कार्य हुनेछ।'
जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि नौ स्थानीय तहलाई मध्यनजर गर्दै शुक्लाफाँटा, बेलौरी, पुनर्वास, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको छ।
भीमदत्त नगरपालिकामा रहेको कार्यालयले बेदकोट नगरपालिकासम्म हेर्ने गरी, शुक्लाफाँटामा रहेको कार्यालयले कृष्णपुर नगरपालिकासम्म हेर्ने गरी, बेलौरी नगरपालिकाले लाझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई हेर्ने गरी कार्यालय स्थापना गरिएका छन्।
जनगणनाका लागि खोलिएका कार्यालयमै सेन्टर राखेर गणकलाई तालिमको व्यवस्था गरिएको छ।
कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि कञ्चनपुरमा ४७७ गणक र ११७ सुपरीवेक्षकलाई खटाउने तयारी भइरहेको छ।
पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरूष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण संकलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको छ।
'पहिलो पटक बस्ने घर र खाली घरको गणना गर्ने समेत हुँदैछ', कार्यालय प्रमुख न्यौपानेले भने,'पछिल्ला जनगणनामा घर गणनाको कार्यलाई समेटिएको थिएन। यस पटक घर गणनालाई समेत समावेश गरिएको छ।'
जन्मदार्ताको अवस्थाकाबारे समेत जनगणनामा समावेश गरिएको उनले बताए।
गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताइएको छ।
'जनगणनामा कोही पनि नछुटन भनेर सावधानीपूर्वक कार्य अगाडि बढाउने योजना अघि सारेका छौं', उनले भने, 'सुरक्षा निकाय र कैदीबन्दीको समेत गणना गर्छौं।'
केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ।
विसं १९६८ देखि जनगणनाको कार्य प्रत्येक दश वर्षमा हुँदै आएको छ।
यस वर्षको जनगणनाको ‘नारा मेरो गणना, मेरो सहभागिता रहेको छ। जनगणनाका लागि घर-घरमा गएर गणनाको कार्य गर्नका लागि देशभरिमा करिब ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई खटाइने बताइएको छ। रासस