कास्कीको मादी गाउँपालिका– ६ तप्राङकी बसन्धरी बरालको चुल्हो अहिले धुँवारहित छ।
खाना पकाउँदा होस् वा वस्तुभाउलाई कुँडो पकाउँदा अहिले उनको आँखा पोलेको छैन, दाउराको पनि खर्च कम भएको छ। भान्सा कोठामा परम्परागत चुल्हो छाडेर ‘धुँवारहित’ चुल्हो जडान गरेपछि सजिलो भएको उनले बताइन्।
‘पहिलेको चुल्होमा पकाउँदा कहिलेकाहीँ त सास फेर्न पनि सक्थिनँ,’ उनले भनिन्, ‘धुँवाले पोलेर आँखा मिच्दै बाहिर दौडिएको हिजोजस्तै लाग्छ।’
बसन्धरीको घरमा मात्र होइन, अहिले तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो जडान गरिएको छ।
मादी– ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाका अनुसार वडामा रहेका सबै २४६ घरधुरीमा धुँवारहित चुल्हो जडान गरिएको हो। फलामबाट बनेको उक्त चुल्होबाट खाना पकाउँदा धुँवा फलामकै पाइपमार्फत् बाहिर पठाइन्छ, जसले घरभित्र धुँवा भरिन पाउँदैन।
फलामबाट बनेको धुँवारहित चुल्हो तातेपछि भान्सा कोठा पनि न्यानो हुने बसन्धरीको अनुभव छ। उनले भनिन्, ‘जाडो ठाउँ छ, चुल्हो तातेपछि न्यानो हुन्छ, आगो ताप्दा धुँवा पनि हुँदैन।’
धुँवारहित चुल्होले ग्रामीण महिलाको स्वास्थ्यलाई फाइदा पुर्याएको स्थानीय गोमा च्वाई बरालले बताइन्।
‘फलामे चुल्होमा दाउरा बाल्दा जहाँतहीं छिरल्दैन, एकैपटक दुई ठाउँमा पकाउन मिल्छ,’ उनले भनिन्, ‘धुँवा नआउने भएपछि स्वास्थ्यलाई पनि फाइदा पुग्यो।’
यसअघि तप्राङका बासिन्दाले परम्परागत चुल्होको विकल्पमा ‘वायुपंखी चुल्हो’को अभ्यास गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा वायुपंखी चुल्हो प्रयोगमा स्थानीय गृहिणीले मन पराएनन्। फेरि परम्परागत चुल्होमै फर्किए।
वायुपंखी चुल्हो प्रयोग गर्दा बिजुली आवश्यक पर्छ। बिजुलीमार्फत् पंख घुमाएर हावा चुल्होमा पठाइन्छ, जसले दाउरा बाल्न सहयोग पुर्याउछ। यो चुल्होमा पनि दाउरा कम लाग्ने स्थानीय गोमाले बताइन्।
उनकाअनुसार एक्यापले दाउराको प्रयोग कम गर्न उक्त चुल्हो वितरण गरेपनि धुँवाको समस्या भने समाधान भएको थिए।
वायुपंखी चुल्होमा खाना पकाउँदा एकैपटक दुईथरी पकाउन नमिल्ने भएकाले पनि उक्त चुल्हो प्रयोग हुन नपाएको उनको भनाइ छ।
वायुपंखी चुल्होबाट परम्परागत चुल्होमा फर्किएका तप्राङका गृहिणी अहिले प्रयोगमा ल्याएका धुँवारहित फलामे चुल्हो मन पराएका छन्। उक्त चुल्होबाट खाना पकाउँदा समस्या नआएकाले परम्परागत चुल्हो प्रयोग गर्न नपरेको स्थानीय जमुना पौडेलले बताइन्।
तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो नेपाल रेडक्रस सोसाइटी कास्कीले वितरण गरेको हो।
अनुसन्धानबाट धुँवाकै कारण ग्रामिण महिलालाई दम, क्यान्सरजस्ता रोग धुँवाका कारण लागेको देखिएकाले गाउँगाउँमा धुँवारहित चुल्हो वितरण अभियान चलाएको रेडक्रस कास्कीका प्रमुख खेमराज सापकोटाले बताए।
‘ग्याँस चुल्हो प्रयोग नगर्ने ठाउँमा धुँवाबाट स्वास्थ्यमा असर नपरोस् भनेर धुँवारहित चुल्हो अभियान चलाएका हौं,’ सापकोटाले भने, ‘गाउँका महिलाले यो चुल्हो मन पराएका छन् ।’
कास्कीको तप्राङमा मात्र होइन, मकैखोला, भाचोक, ढोडेनी, दाङसिङ, दुम्सीकोट लगायतका गाउँमा समेत उक्त अभियान चलाएको सापकोटाले बताए। रेडक्रस कास्कीले नेदरल्याण्डको युनिका फाउण्डेसनसँग मिलेर उक्त अभियान चलाएको उनले जानकारी दिए।
तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो वितरण पश्चात मादी– ६ लाई धुँवारहित वडा घोषणा गर्ने तयारी गरिएको छ। वडाअध्यक्ष बास्तोलाले गाउँपालिकामै पहिलो पटक आफ्नो वडा धुँवारहित बनाउन सफल भएको बताए।
गण्डकी प्रदेशका अधिकांश ग्रामिण क्षेत्रमा अझै पनि खाना पकाउन दाउराको प्रयोग गरिन्छ।
प्रदेशको ऊर्जा मन्त्रालयका अनुसार गण्डकीका ९५ प्रतिशत घरमा विजुली पुगेपनि ७० प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग गरिन्छ।
ग्रामीण क्षेत्रमा दाउराका धुँवाबाट गृहिणीलाई मुक्त गर्न सके उनीहरुको स्वास्थ्यमा ठुलो सुधार आउने रेडक्रस कास्कीका प्रमुख सापकोटाले बताए।