कोरोनाभाइरस संक्रमणबाट दुई वर्षपछि विश्वले त्राण पाउन थालेको छ। सन् २०१९ को अन्त्यदेखि यो भाइरस संसारभरि महामारीका रूपमा फैलिएको थियो।
खासगरी केही महिनाअघिसम्म महामारीको चपेटमा परेर लकडाउनमै रहेका दक्षिण एसियाली मुलुकहरूले बिस्तारै यो संकटबाट राहतको सास फेर्न थालेको तथ्यांकहरूले देखाएका छन्।
विश्वव्यापी कोरोना संक्रमणको रेकर्ड राख्दै आएको वर्ल्डोमिटरमा उल्लिखित तथ्यांकअनुसार दक्षिण एसियाका आठवटै मुलुकमा कोरोनाको नयाँ बिरामी संख्या ह्वात्तै घटेको देखिन्छ। विभिन्न उमेर समूहका लागि चरणबद्ध रूपमा सञ्चालित खोप अभियान र मास्कको व्यापक प्रयोगले संक्रमण दर घटेको हो।
सबभन्दा बढी सुधार भारतमा देखिन्छ। छ महिनाअघिसम्म त्यहाँ दिनकै सवा ४ लाख कोरोना संक्रमित थपिन्थे। बुधबार झन्डै १४ हजारमा झरेको छ। गत मे महिनामा भारतको संक्रमण दर उत्कर्षमा थियो। त्यति बेला दिनकै ४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु हुन्थ्यो।
नेपालमा पनि संक्रमण उत्कर्षमा पुग्दा दैनिक ९ हजार हाराहारी नयाँ बिरामी थपिन्थे। अहिले दैनिक ४ सयभन्दा कम छ। बुधबारको तथ्यांक हेर्ने हो भने ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, छ महिनाअघि पाकिस्तानमा दैनिक ६ हजार हाराहारीमा कोरोना संक्रमण फेला पर्ने गरेको थियो। त्यो पाकिस्तानको उत्कर्ष विन्दु हो। अहिले दैनिक संक्रमण ६ सयभन्दा कम छ। बुधबार ५ सय ६१ जनामा संक्रमण फेला परेको थियो।
बंगलादेश र मालदिभ्सको अवस्था नेपालको भन्दा राम्रो छ।
बंगलादेशमा अप्रिल महिना दोस्रो चरणको लहर आउँदा संक्रमण उत्कर्षमा पुगेको थियो। त्यति बेला दिनकै झन्डै १४ हजार व्यक्ति कोरोनाग्रस्त हुन्थे। अहिले ३ सयभन्दा कम छ। तथ्यांकअनुसार बुधबार बंगलादेशमा २ सय ५६ जनामा संक्रमण फेला पर्यो।
मालदिभ्समा भने बुधबार २ सय १९ जनामा संक्रमण पाइएको छ। त्यहाँको उत्कर्ष विन्दु गत मे महिनालाई मानिन्छ जब दैनिक हजार जनाभन्दा बढीलाई कोरोना लाग्ने गरेको थियो।
श्रीलंकामा अझै पनि संक्रमण दर दैनिक ६ सय हाराहारी छ। बुधबार त्यहाँ ५ सय ८१ जना नयाँ संक्रमित थपिए। महामारी उत्कर्ष विन्दुमा हुँदा त्यहाँ दिनकै ६ हजार हाराहारीलाई संक्रमण हुने गरेको थियो।
अफगानिस्तान र भुटानमा त संक्रमण दर अत्यन्तै कम छ।
भुटानमा बुधबार जम्मा एक जनालाई संक्रमण भएको वर्ल्डोमिटरले जनाएको छ भने अफगानिस्तानमा १६ जनालाई संक्रमण भएको छ।
भुटानमा कोरोना संक्रमण अन्य दक्षिण एसियाली मुलुकको दाँजोमा निकै कम रह्यो। उता अफगानिस्तानमा कोरोना परीक्षण नै कम भएकाले संक्रमणको यथार्थ तथ्यांक बाहिर आएन।