अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका छन्।
बाइडेनले आफ्नो ट्वीटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दिपावलीको शुभकामना दिएका हुन्। तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्।
बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए।
आफ्नो सन्देशमा उनी लेख्छन्, 'दिवालीकाे प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।'
उनले आफ्नो सन्देशमा अमेरिका मात्र होइन, दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना दिएका छन्।