प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ।
नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।
'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू नेपाल सम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो,' उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत चलाएको कदर गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
म्ह पूजासँग जोडिएको एउटा किम्बदन्ती पनि छ।
एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एक जना प्रख्यात ज्योतिषीले शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। त्यसैनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन्।
ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी। ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारी आफ्नो घरमा खन्याउन लगाए र भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए।
भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर त्यो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाए। त्यसैको खुसियालीमा आज पनि म्ह पूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो।
कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ।
म्ह (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्ह (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म पूजा पर्व मनाउने गर्छन्।
मानिसको आत्मा नै सबभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।
म्ह पूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्ह पूजाको तयारी गर्छन्। साँझ मनाइने म्ह पूजाका लागि सुरूमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ। पानीको मण्डल बनाई त्यसको माथि तेलको मण्डल र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डल बनाइन्छ। अनि चामलको पिठोको मण्डल बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा) को बत्ती राखिन्छ।
घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डल अगाडि पारेर बस्छन्। मण्डलमा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ।
म्ह पूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलमा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरू गरिन्छ। यो पूजा घरको नकी (मूली महिला) ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलमा जाने गरी कुल (काठको पाठी) ले खन्याई म्ह पूजा गरिन्छ। म्ह पूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।
पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ।
म्ह पूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अन्डा सगुन) लिने परम्परा छ। नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन छ। खेःसगं दिँदा अन्डा, माछा, बारा र मदिरा दिइन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ।
म्ह पूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास छ। साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ। म्ह पूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन्।
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्ह पूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए। ‘मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन। यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस्। यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ’, उनले भने, ‘आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो। त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं।’
म्ह पूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ। ‘हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ। पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ। जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पुर्याएको छ,’ उनले भने।
इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्नसक्छु, संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्ह पूजा रहेको बताए।
‘म्ह पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा पर्छ जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्ह पूजा हो,’ उनले भने।
प्राडा श्रेष्ठले अगाडि भने, ‘म्ह पूजा नेवार समुदायको प्राचीन पर्व हो। नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ। यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटा लगायत पूजा गरी म्ह पूजा पर्व मनाइन्छ।’
(राससको सहयोगमा)