रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘जलस्रोत' सुनेर कास्की, ताङतिङका जसबहादुर गुरूङले गाउँमा बिजुली बाल्ने सपना देखे।
यो आजभन्दा ३३ वर्षअघि २०४५ सालको घटना हो।
लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाबारे रेडियोबाट जानकारी पाएपछि जसबहादुरले गाउँका अरू दुई जना साथीसँग सल्लाह गरे। साथीहरू थिए, गमबहादुर गुरूङ र बलराम सापकोटा।
उनीहरू रेडियो सुनेको भरमा ताङततिङबाट एक दिन हिँडेर गगनगौंडास्थित कृषि विकास बैंकको कार्यालय पुगे। गाउँमा बगेर गइरहेको घट्टेखोलाबाट बिजुली निकालेर गाउँ झिलिमिली बनाउन चाहेको उनीहरूले बताए।
बैंकका कर्मचारीले लघुजलविद्युत आयोजना बनाउन अपनाउनुपर्ने सबै प्रक्रिया बताइदिए। बुटवलस्थित एउटा कम्पनीसँग सम्पर्क पनि गराइदिए।
बैंकका कर्मचारी र लघुजलविद्युत आयोजना बनाउने कम्पनीका कर्मचारीले जसबहादुरको सपना पूरा गरिदिने अठोट लिए र त्यसका लागि गाउँलेहरूको सहयोग जुटाउने जिम्मा जसबहादुरले बोके। गाउँका तत्कालीन प्रधानपञ्च देवीजंग गुरूङ सकारात्मक भएपछि गाउँलेको सहयोग जुटाउन गाह्रो परेन। तै पनि ३० वर्षका युवा जसबहादुरले देखेको उज्यालो ताङतिङको सपना गाउँमा कसैले पत्याएका भने थिएनन्।
‘प्रधानपञ्चले बरू विश्वास गरे तर गाउँलेहरूले पत्याएनन्। कस्तो कस्तो ठाउँमा त बिजुली बलेको छैन, ताङतिङजस्तो ठाउँमा कसरी बिजुली आउँछ भनेका थिए,' उनले सम्झिए।
मादी गाउँपालिका–२ मा पर्ने ताङतिङ कास्कीको उत्तरी भेगमा पर्छ। पोखराबाट एक दिन हिँडेर गाउँ पुग्नुपर्थ्यो। गाउँलेहरूले पोखरा पुग्न र फर्कन एक-एक दिन गरी दुई दिन लगाएर मट्टितेल बोक्नुपर्थ्यो, अनि बल्ल टुकीको उज्यालोमा बस्न पाइन्थ्यो।
कृषि विकास बैंक र बुटवलको कम्पनीका अधिकारीहरू जब गाउँमा खोला निरीक्षण गर्न आए, त्यसपछि बल्ल गाउँलेमा आशा पलायो। गाउँ नजिकै ठाडै बगेको घट्टेखोलाबाट बिजुली निकाल्न सकिने प्राविधिकहरूले बताए। बैंकले तत्कालीन सरकारको योजनाअनुरूप ताङतिङमा लघुजलविद्युत आयोजना बनाउन पाँच लाख अनुदान र दुई लाख रूपैयाँ ऋण दियो।
बिजुली बल्ने पक्का भएपछि लघुजलविद्युत आयोजनाका सामान बोक्न र पानीको कुलो खन्न गाउँलेले श्रमदान गरे।गाउँलेहरूले नै लघुजलविद्युतको जेनेरेटर बाँसमा झुन्ड्याउँदै पोखराबाट तीन लगाएर ताङतिङ पुर्याएको जसबहादुर सम्झन्छन्।
ताङतिङलाई उज्यालो बनाउन १२ किलोवाट बिजुली भए पुग्ने प्राविधिकहरूको अनुमान थियो। त्यति नै क्षमताको टर्वाइन ल्याएर जडान गरियो। काम थालेको वर्षदिनमै ताङतिङमा बिजुली बल्यो। पोखराबाट दुरदराजको गाउँ ताङतिङवासी २०४६ सालमा बिजुलीको उज्यालोमा रमाए।
कास्की जिल्लामै पहिलोपटक लघुजलविद्युत आयोजना बनाएर बिजुली बालेको जसबहादुरको दाबी छ। उनका अनुसार उक्त लघुजलविद्युतको उद्घाटन तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नन्दजंग गुरूङले गरेका थिए।
'बिजुली बलेपछि विद्यार्थीले टुकीमा बसेर पढ्नुपरेन। ताङतिङमा बलेको बिजुली हेर्न अरू गाउँका मानिस पनि आएका थिए,' जसबहादुरले भने, ‘गाउँमा खुसीको सीमा थिएन, गाउँलेले उत्सव नै मनाएका थिए।'
जति बेला ताङतिङमा बिजुली बल्यो, वरिपरिका गाउँ अझै टुकीकै भरमा थिए। अन्धकारमा टाढाबाट हेर्दा गाउँ छ कि छैन भन्ने पनि देखिन्थेन। ताङतिङ भने रात परेपछि झिलिमिली देखिन्थ्यो।
२०५३ सालमा आएर ताङतिङवासीलाई १२ किलोवाट बिजुलीले पुगेन। उनीहरूलाई दोब्बरभन्दा धेरै बिजुली चाहियो।
२०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना 'एक्याप' स्थापना भइसकेको थियो। गाउँगाउँमा संरक्षण शिक्षा शिविर सञ्चालनमा थिए। गाउँलेलाई घाँसदाउरा गर्दा वनजंगल र वन्यजन्तु जोगाउने उपाय एक्यापका अधिकारीले सिकाउँदै थिए। यसका लागि एक्यापले गाउँलेलाई विभिन्न सहयोग गर्दै थिए। ताङतिङवासीले भने थप बिजुली मागे।
एक्यापले घट्टेखोला लघुजलविद्युत आयोजनामै अर्को टर्वाइन किनिदियो। त्यही आयोजनामा २७ किलोवाटको टवाईन जोडियो। २०५३ मा टवाईन जोडेपछि ताङतिङको लघुजलद्युत आयोजना फेरि उद्घाटन भयो। पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टरमा ताङतिङ पुगेर उक्त आयोजना उद्घाटन गरेको स्थानीय हिमालय माविका प्रध्यानाध्यापक प्रकाश गुरुङले बताए।
त्यसपछि ताङवासीले कृषि विकास बैंकको अनुदानमा किनेको १२ किलोवाटको टर्वाइन नजिकै सेतीखोलाका गाउँलेलाई १ लाख ५० हजार रूपैयाँमा बेचिदिए। उक्त रकम घट्टेखोला लघुजलविद्युत आयोजना समितिले राख्यो। समितिले आयोजना मर्मतसम्भारमा उक्त रकम खर्च गर्थ्यो।
यसबीच गाउँलेहरूले कृषि विकास बैंकसँग आयोजनानिम्ति लिएको ऋण तिर्न बाँकी थियो। उनीहरूले बिजुलीको बल्बअनुसार पैसा उठाए। सय वाटको बल्ब बाल्दा २५ रूपैयाँ उठाएको जसबहादुरले बताए। गाउँमा २५ वाटको चारवटा बल्ब बाल्ने धेरै थिए।
यसरी पैसा उठाएर ऋण तिर्न उनीहरूलाई हम्मेहम्मे पर्यो। जसबहादुर र उनका साथीहरू मिलेर आफैं पैसा उठाएर ऋण तिरे। ‘ऋण नतिरे त बैंकले घर बस्नै दिँदैन नि,' जसबहादुरले भने, ‘हामीले नै पैसा उठाएर बाँकी रकम तिर्यौं।'
एक्यापले सहयोग गरेको दोब्बरभन्दा बढी क्षमताको टवाईन चल्न थालेपछि गाउँमा उज्यालोको मात्रा पनि दोब्बर भयो। दुईवटा बत्ती बाल्ने घरले चारवटा बाल्न थाले। कसैले टेलिभिजनसमेत राखे। एक्यापका संरक्षण अधिकारीहरूले खाना पकाउन पनि बिजुली प्रयोग गर्न उक्साउँथे। किनकी उनीहरूलाई वनजंगलको संरक्षण गर्नु थियो। दाउराको प्रयोग घटाउनु थियो।
बिजुलीको उज्यालोमा पढ्न पाउँदा विद्यार्थीको पढाइ पनि राम्रो भएको हिमालय माविका प्रधानाध्यापक प्रकाशले बताए। पोखराबाट दुरदराजको उक्त विद्यालय जिल्लाकै उत्कृष्ट बन्न पुगेको थियो। ‘गाउँमा बिजुली बलेपछि पढाइ राम्रो भयो,' उनले भने, ‘हाम्रो स्कुलले पोखराका स्कुललाई पनि जित्यो।'
ताङतिङलाई यसरी उज्यालो बनाएको घट्टेखोला लघुजलविद्युत आयोजना दुई वर्षदेखि बन्द छ। जिल्लाकै पुरानो आयोजनाको विद्युतगृह झाडीले छोपेको छ। टर्वाइनमा पानी लैजाने पाइप बेकामे बनेको छ। विद्युतगृहबाट गाउँमा बिजुली लैजान बनाइएका पोल खियाले ढल्न आँटेका छन्। पोलमा टाँगिएका तारमा बिजुली प्रवाह रोकिएको छ। पानीले घुमाउने टर्वाइन पनि खिया लाग्दै गएको वडाध्यक्ष एकजंग गुरूङले बताए।
उनका अनुसार आयोजना बिग्रिएर होइन, गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेकाले आयोजना बन्द हुन पुगेको हो।
त्यस्तै, ताङतिङबाट सेतीखोला लगेको १२ किलोवाटको टर्वाइन पनि अहिले थन्किएको छ। त्यहाँ पनि राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ।
जसबहादुर अहिले ६० वर्षका भए। परिवारसहित पोखरामा बस्छन्। बेलाबखत गाउँ गइराख्छन्। गाउँ जाँदा उनी त्यही लघुजलविद्युत आयोजनाको याद गर्छन्। पञ्चायत कालको अन्धकारमा गाउँमा बिजुली बालेर उज्यालो दिएको क्षण सम्झन्छन्।
लघुजलविद्युतका बिजुली हामी किन्छौं– प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले गाउँगाउँमा रहेका लघुजलविद्युत आयोजनाको बिजुली किनिदिने बताएको छ। केन्द्रीय प्रसारण लाइन पुगेका ठाउँमा त्यही लाइनमा लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न सकिने प्राधिकरणका गण्डकी प्रमुख केदारराज सिलवालले बताए।
गाउँमा रहेका लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न प्राधिकरणले ‘इनर्जी नेटिङ' कार्यविधि बनाएको छ। उक्त कार्यविधिले गाउँका लघुजलविद्युत आयोजनाका बिजुली प्रसारण लाइनमा जोड्न अनुमति दिएको छ। यसका लागि आयोजनामा एउटा छुट्टै मिटर जडान गर्न आवश्यक रहेको सिलवालले बताए।
‘आयोजनामा जडान गरिएको विशेष प्रकारणको मिटरले प्रसारण प्रणालीमा कति बिजुली खपत भयो भनेर नापजाँच गर्छ,' सिलवालले भने, ‘त्यहीअनुसार लघुजलविद्युत आयोजना चलाएका सामुदायिक संस्थालाई प्राधिकरणले भुक्तानी दिन्छ।'
उनका अनुसार केन्द्रीय प्रसारण लाइन पुगेका गण्डकीका केही गाउँका लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रसारण प्रणालीमा जडान गरिएको छ। लघुजलविद्युत आयोजनाका लागि अरू ठूला आयोजनालाई जस्तो प्रसारण लाइन र सबस्टेसन बनाउन आवश्यक छैन। गाउँमा बिजुली बाल्न लगिएको वितरण लाइनमै लघुजलविद्युतका बिजुली जोड्न सकिन्छ। यसरी जडान गर्न एक मेगावाटभन्दा ठूला आयोजनाको हकमा भने प्राधिकरणसँग खरिदबिक्री सम्झौता (पिपिए) गर्नुपर्ने उनको भनाइ छ।
ताङतिङमा लघुजलविद्युत चलाएका उपभोक्ताले पनि गाउँमा खेर गइरहेको घट्टेखोलाबाट नियमित बिजुली निकालेर बेच्न सक्ने उनले जानकारी दिए। यसका लागि उनीहरूले विद्युत प्राधिकरणको प्रदेश कार्यालय पोखरा वा केन्द्रीय कार्यालय काठमाडौंमा निवेदन दिन सक्छन्। प्राधिकरणका प्राविधिकले आयोजनाको स्थलगत अनुगमनपछि मिटर जोड्ने र बिजुली किन्ने सहमति गर्नेछ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मात्र देशभर झन्डै २ हजार १ सयवटा यस्ता लघुजलविद्युत आयोजना निर्माण गरिसकेको छ। यी आयोजनाको ३७ मेगावाट बिजुली उत्पादन क्षमता रहेको केन्द्रका सूचना अधिकारी कृष्णचन्द पौडेलले बताए।
केन्द्रका अनुसार प्रदेश १ र ७ मा बनेका ९० प्रतिशत बढी लघुजलविद्युत आयोजना अहिले पनि सञ्चालनमै छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाहेक सरकारी, गैरसरकारी र सामुदायिक रूपमा अझ धेरै लघुजलविद्युत आयोजना निर्माण भएका छन्। गाउँमा रहेका खोला, खोल्सा र झरनाका पानी सदुपयोग मात्र होइन, लघुजलविद्युतमार्फत सिँचाइ सुविधासमेत पुगेका छन्। यस्ता आयोजना नियमित सञ्चालन गर्न वैकल्पिक ऊर्जा र प्राधिकरणले संयुक्त पहल थालेको पौडेलले बताए।
उनका अनुसार प्राधिकरणले मध्यनेपाल लमजुङमा १०० किलोवाट, धनकुटामा ४० किलोवाट, नुवाकोटमा २३ किलोवाटका आयोजना पनि परीक्षणका रूपमा केन्द्रीय प्रसारण लाइनमा जडान गरिसकेको छ।
‘गाउँका सानातिना भनिएका आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा एकत्रित गर्दा ठूलो परिमाणमा बिजुली जम्मा हुन्छ,' पौडेलले भने, ‘यसले गाउँलेलाई मात्र होइन, प्राधिकरणलाई पनि फाइदा नै गर्छ।'