प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
नयाँ वर्षको स्वागतमा आज काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवार बस्ती भएका देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएको छ। परम्परागत नेवारी पहिरनमा सजिएका युवा-युवतीले र्यालीसमेत निकालेका छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ।
नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।
'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू नेपाल सम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो,' उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत चलाएको कदर गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
म्ह पूजासँग जोडिएको एउटा किम्बदन्ती पनि छ।
एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एक जना प्रख्यात ज्योतिषीले शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। त्यसैनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन्।
ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी। ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारी आफ्नो घरमा खन्याउन लगाए र भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए।
भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर त्यो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाए। त्यसैको खुसियालीमा आज पनि म्ह पूजाकै दिन पारेर नेपाल सम्बतलाई धुमधामका साथ मनाउन थालिएको हो।
कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ।
हेर्नुस् तस्बिरहरू