हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकाश खुला भएकाले बढी चिसो महसुस गरिएको छ।
अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।
भोलि मंगलबार पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
कात्तिक २४ गते बुधबार प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री सेल्सियस छ। रासस