प्रेम यति शक्तिशाली हुँदो रहेछ, संसार जित्ने हरकोहीलाई यसले पराजित गर्न सक्छ। चाहे त्यो भगवान नै किन नहोस्।
नपत्याए पचली भैरवको कथा नै हेर्नुहोस् न!
पचली भैरवको कथा सुनाउने उपयुक्त समय दसैं हुन सक्थ्यो। किनभने देशभर दसैंको रौनक छाएका बेला काठमाडौंको तल्लो टोल अर्थात् लिच्छविकालीन ‘दक्षिण कोलिग्राम’ का बासिन्दा घटस्थापनादेखि पञ्चमीसम्म पचली भैरवको जात्रा मनाउँछन्।
हामीले पञ्चमीको दिन ‘फर्पिङका किराँती राजा र दुई अजिमाको त्रिकोणात्मक प्रेमकथा’ शीर्षकमा स्टोरी पनि छापेका थियौं। मैले सुनाउन लागेको यो कथा र त्यो कथा अलिकति तलमाथि छ तर यो पनि फर्पिङका राजा र अजिमाको प्रेमकथामै सम्बन्धित छ।
कथा–किम्बदन्तीको विशेषता नै यही हो, सुनाउने मान्छे र ठाउँअनुसार केही फरक हुन सक्छन्। हुन त दसैं सकिएर तिहार पनि सकिइसक्यो। बेला न कुबेला किन यो कथा सुनाउन लागेको भन्नुहोला तर अहिले यो कथा सुनाउनुको झनै विशेष कारण छ।
यी दुई भगवानको प्रेमकथालाई हामीले अब सुन्न र पढ्न मात्र होइन, हेर्न पनि पाउने भएका छौं।
सोच्नुस् त! भगवानको प्रेमलाई दृश्यमा हेर्न पाउनु कति भाग्यको कुरा!
बज्र कला कुञ्जले टेकुस्थित कौसी नाटकघरमा ‘पचली भैरव’ कथालाई सांस्कृतिक नाटकका रूपमा मञ्चन गर्न लागेको छ। नाटकमा रूपान्तरण हुन लागेका उनै पचली भैरवको कथा मलाई सुनाएका हुन्, सुदन मुनिकारले। बज्र कला कुञ्जमा आबद्ध उनी सांस्कृतिक नृत्यहरू गर्छन्, सिकाउँछन्। बाजा बजाउनुका साथै प्रशिक्षण पनि दिन्छन्।
उनका बुवा चन्द्रमान मुनिकार चर्या नाचका गुरू हुन्। यसपटक चन्द्रमानको निर्देशन र परिकल्पनामा पचली भैरवको नाटक मञ्चन हुन लागेको हो।
यही सेरोफेरोमा छोरा सुदनले हामीलाई नाटकमा देखाइने पचली र अजिमाको कथा सुनाएका छन्।
...
जसरी काठमाडौं, इन्द्रचोकका आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, टेकुका पचली भैरवलाई फर्पिङका किराँती राजाको प्रतिरूप भनिन्छ। फर्पिङमा पुरानो दरबारका केही अवशेष छन् जसलाई स्थानीयहरू पचली भैरवको निवास मान्छन्।
कतिपयले पचली भैरव भनेका दोस्रो किराँती राजा पेलं वा पलम्बर हुन् पनि भन्छन्।
अब प्रश्न उठ्छ, फर्पिङका किराँती राजाको प्रतिरूप टेकुमा कसरी प्रतिस्थापन भयो? के उनलाई यहाँ बन्दी बनाएर ल्याइएको थियो? वा, उनले काठमाडौंमाथि विजय प्राप्त गरेका हुन्।
यसको जवाफ पचली भैरवको किम्बदन्तीले दिन्छ।
किम्बदन्तीअनुसार फर्पिङका राजा राज्यको कामकाज सकेर साँझपख थकान मेट्न टेकु दोभान आउँथे जुन बागमती र विष्णुमतीको संगम स्थल हो। यसलाई पञ्चलिंगेश्वरको लिंग आफैं उत्पत्ति भएको पवित्र ठाउँका रूपमा पनि लिइन्छ।
पचली भैरव यहाँ आफ्नो भेष बदलेर आउँथे र थकाइ मार्थे। ध्यान गर्थे र घुम्थे।
त्यही क्रममा एकदिन उनको नजर स्थानीय खड्गी समुदायकी एक केटीमा पर्छ। कालान्तरमा अजिमा भनेर चिनिएकी ती केटीको नाम रूक्मणि हुन्छ।
रूक्मणिको रूप देखेर पचली भैरवको होसहवास उड्छ। उनी मन्त्रमुग्ध भएर उनलाई हेरिरहन्छन्। रूक्मणि पनि लजाउँछिन्। हरेक दिनको देखादेखपछि उनीहरूबीच कुराकानी हुन्छ, माया बस्छ।
पछि रूक्मणि गर्भवती हुन्छिन्।
प्रेममा चुर्लुम्म डुबेकी रूक्मणि अब भने झल्याँस्स हुन्छिन्। उनले आफूले प्रेम गरेका पचली भैरवलाई राम्ररी चिनेकी पनि हुँदिनन्। आफू गर्भवती भएपछि भने उनलाई जिज्ञासा हुन्छ, ‘मेरो पेटमा जसको बच्चा छ ऊ को हो?’
यति मात्र होइन, यही गर्भकै कारण आफूले पचलीसँग गुपचुप गरिरहेको प्रेम पनि सार्वजनिक होला भनेर उनी डराउँछिन्।
रूक्मणि डराउँदै आफ्नी आमालाई सबै कुरा बताउँछिन्।
सुरूमा त आमाले गाली गर्छिन्। पछि जो भए पनि उसलाई स्विकार्नुपर्छ भनेर सम्झाउँछिन् र उसको वास्तविकता कसरी पत्ता लगाउने भनेर उपाय पनि सिकाउँछिन्।
हरेक साँझझैं पचली भैरव आफ्नी प्रेमिका भेट्न टेकु दोभान पुग्छन्।
रूक्मणिले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाबारे पचलीलाई बताउँछिन् र उनलाई आफ्नो परिवारसँग भेटाउन लैजान्छिन्।
घरमा रूक्मणिले झ्याल, ढोका सबैतिर सारीले छोपिदिएकी हुन्छिन्। त्यसो गर्दा कुनै चिजमा दैविक शक्ति छ भने त्यो सारी नाघेर बाहिर जान सक्दैन भन्ने सांस्कृतिक विश्वास छ। अझै पनि नेवाः समुदायले यसमा विश्वास गर्छन्।
त्यस्तो कोठामा लगेपछि रूक्मणिले पचली भैरवलाई सोध्छिन्, ‘मैले तपाईंलाई प्रेम गरेँ। तपाईंको बच्चा पनि मेरो पेटमा बसिसक्यो। तर म तपाईंलाई अझै चिन्दिनँ। भन्नुहोस् तपाईं को हो?’
रूक्मणिले विवश बनाएपछि पचलीलाई आफ्नोबारे भन्नैपर्ने दबाब पर्छ। उनी भन्छन्, ‘ल ठीक छ। म तिमीलाई मेरो वास्तविक रूप देखाउँछु तर तिमीले मलाई साथ दिनुपर्छ। मैले भनेको मान्नुपर्छ।’
यति भनेर भैरवले आफूसँग भएको अक्षता-चामलमा मन्त्र फुकेर रूक्मणिलाई दिन्छन् र भन्छन्, ‘यो अक्षताले मलाई हान्नू अनि म आफ्नो रूपमा आउँछु। त्यसपछि तिमीले मलाई पहिलेकै रूपमा फर्काउन फेरि अक्षताले हान्नुपर्छ।’
रूक्मणिले टाउको हल्लाउँछिन्। भनेअनुसार अक्षताले भैरवलाई हान्छिन्। त्यसपछि भैरव आफ्नो एकदम डरलाग्दो रूपमा आउँछन्। ठूलो अनुहार, लामा कपाल अनि लामा नङ। एकदम भीमकाय, डरलाग्दो शरीर।
रूक्मणिको होसहवास उड्छ। आफूलाई खान आएको भन्ठानेर उनी डराएर भाग्छिन्।
भैरवलाई पहिलेकै रूपमा फर्काउन रूक्मणिले त्यो अक्षताले हान्नुपर्ने हुन्छ। यसको निम्ति भैरव रूक्मणिको पछिपछि दौडन्छन्।
रूक्मणिका खुट्टाका गति झन् झन् बढ्छ। डरैडरमा उनले हान्नुपर्ने अक्षता आफैं निल्छिन्। परेन फसाद!
अब भैरव आफ्नो रूपमा कसरी फर्कने?
मान्छेहरूसँग भाग्दै भाग्दै भैरव टेकुको पचली क्षेत्रमा मान्छे जलाउने पिठनजिक आउँछन्। त्यति बेलासम्म रात परिसकेको हुन्छ। रातको भन्दा उनलाई बिहानको डर लाग्छ। किनभने घाम उदाउने बेलासम्म उनी आफ्नो वास्तविक स्वरूपमा फर्किसक्नुपर्ने हुन्छ।
घामबाट लुक्ने ठाउँ खोज्दा उनले त्यहाँ बाँसको मान्द्रो भेट्टाउँछन्। त्यही मान्द्रोले आफ्नो जीउ छोप्छन्।
मान्द्रोमा उनको पूरा शरीर अटाउन सक्दैन। उनको कम्मरभन्दा मुनिको भाग छोपिएकै हुन्न। त्यसैले घाम उदाएपछि उनी त्यहीँ सिद्ध हुन्छन्।
अहिले पनि पचली क्षेत्र पुग्दा त्यहाँ हामी एउटा शिला देख्छौं। मन्दिरमा पूजा गर्ने ठाउँमा खाल्डोजस्तो ठाउँ छ। त्यही खाल्डोमा रहेको शिलामा मान्छे ढोग्छन्, पूजाआजा गर्छन्।
स्थानीयले शिलाबारे खोजीनीति गर्दा यो पचली भैरव भएको र यहाँ सिद्ध भएको थाहा पाउँछन्। त्यसपछि उनीहरू भैरवले आफ्नो क्षेत्र रक्षा गर्ने भए भनेर खुसी हुन्छन्।
रूक्मणिले पनि आफ्नो गल्तीले प्रेमी त्यसरी सिद्ध भएको थाहा पाउँछिन्। अब त्यसलाई स्विकार्नुबाहेक उनीसँग अर्को विकल्प हुन्न।
उनको पेटमा हुर्कंदै गरेको बच्चा बिस्तारै बढ्दै जान्छ। जब त्यो बच्चाको जन्म हुन्छ, बच्चाको बाबु उनको साथमा हुँदैनन्। रूक्मणि विभिन्न लाञ्छना सहन बाध्य हुन्छिन्। कसैले उनलाई ‘श्रीमान नभएकी श्रीमती’ भन्छन् त कसैले के भन्छन्!
ठूलो हुँदै गएको बच्चामाथि पनि प्रश्न उठ्न थाल्छ, ‘खोइ! तिम्रो बुवा?’
बच्चालाई यस्तो प्रश्न सुन्दा सुन्दा गाह्रो हुन्छ। मन दुख्छ। अनि उसले आमालाई सोध्छ, ‘हाम्रो बुवा कहाँ हुनुहुन्छ?’
छोराले हरेक दिन सोध्ने प्रश्न र हठको अगाडि उनी हार्छिन्। समाजका हरेक टोकसो सहेकी उनले आफ्नो छोराको पीडा सहन सक्दिनन्। अनि उनले आफ्नो बच्चालाई बाबुसँग भेटाउन टेकु दोभानतिर लग्छिन्। त्यहाँ उनले पूजा गरेर भैरवको आह्वान गर्छिन्।
भैरव आएर दर्शन दिन्छन्। मनमा गाँठो परेका गुनासाहरू फुकिन्छन्।
परबाट छोराले आमाबुवा कुराकानी गरेको हेरिरहेका हुन्छन्। अनि आफ्नो बुवा जीवित रहेछन् भन्ने थाहा पाएर उनी मुसुक्क हाँस्छन्। उनै छोरालाई मुसुकाः गणेश भनेर चिनिन्छ। उनलाई रूद्रविनायक पनि भनिन्छ।
टेकु दोभानबाट काठमाडौंको भित्री सहरतिर आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै ‘मुसुकाः गणेश’ को मन्दिर हो।
यो कथाभन्दा अलिकति फरक कथा पनि चलनचल्तीमा छ। त्यो कथामा मुसुकाः गणेश अजिमाका छोरा हुँदैनन्। बरू पार्वती र शिवका छोरा हुन्छन्। भैरवलाई शिवजीकै अवतार मानिन्छ। आफ्नो पितालाई टेकु दोभानमा लुकिछिपी अर्की केटी (नै अजिमा) सँग प्रेम गरेको देखेपछि उनी आँखा सन्काउँदै मुसुक्क हाँसेको भनिन्छ।
अब हामी माथिकै कथामा फर्किऔं। किनभने नाटकमा देखाइने कथा त त्यो हो।
भैरवलाई हामीले रूद्रका रुपमा पनि लिन्छौं। मुसुकाः गणेशलाई खड्गी समुदायले रूद्र गणेशका रूपमा मानेर जात्रा मनाउँछन्। त्यसले गणेश, नै अजिमा र भैरवको सम्बन्ध देखाउँछ।
त्यस दिन भैरवलाई भेट्दा रूक्मणिले आफ्नो मन खोल्छिन्। आफूले एकल महिला भएर भोग्नुपरेका सारा पीडा सुनाउँछिन्।
भैरव उनको र बच्चाको पीडा सुन्न नसकेर उनीहरूलाई स्विकार्ने प्रयास गर्छु भन्छन्। उनीहरूलाई आफ्नो दरबार लैजान्छन्। तर फर्पिङको उनको राज्यमा रूक्मणि र उनको बच्चालाई स्वीकार गरिन्न। कथित तल्लो जात र नाजायज सम्बन्धबाट जन्मेको बच्चा भन्दै तिरस्कार गरिन्छ।
रूक्मणिले भन्छिन्, ‘जुन समाजले मलाई स्विकार्दैन, त्यो समाजमा बस्नुको कुनै औचित्य छैन।’
उनी आफ्नो बच्चा बोकेर हिँड्छिन्। श्रीमानको घर जान्छु भनेर हिँडेकी रूक्मणिलाई माइती फर्किने बाटो पनि रहन्न। त्यही भएकाले यात्रा गर्दै उनी अनकन्टार ठाउँ पुग्छिन्।
यात्रा क्रममा पानी पर्छ, हावा चल्छ, विभिन्न अवरोध आउँछन्। कतै खान पाउँदैनन्। त्यही क्रममा बच्चा बिरामी पर्छ र एकदमै नराम्रो अवस्थामा पुग्छ।
श्रीमानले पनि साथ नदिएको, समाजले तिरस्कार गरेको अनि बच्चा पनि बिरामी भएपछि रूक्मणिको पीडाले सीमा नाघ्छ। उनी भित्रैबाट रिसाउँछिन्। उनको रौद्र रूप प्रकट हुन्छ। अनि रूक्मणि रूद्रायणीमा परिणत हुन्छिन्।
रूक्मणि आफैंमा साधारण महिला भने थिइनन्। उनमा छुट्टै तेज भएकाले भैरव उनीसँग नजिकिएका थिए। बस् उनले त्यसलाई अनुभव गर्न सकेकी थिइनन्।
रूक्मणि रुद्रायणी भएपछि उनको तेज र तापबाट त्यहाँको क्षेत्र हराभरा हुन्छ। केही नभएको ठाउँमा जंगल बन्छ। खेतीयोग्य जमिन बन्छ। स्थानीयले उनलाई भगवान मानेर पुज्न थाल्छन्। त्यो ठाउँलाई अहिले सिकाली मन्दिर भनिन्छ। उनले त्यहीँ उब्जेको अन्न बच्चालाई खुवाएर निको बनाउँछिन्।
त्यसैबीच छोराको पीडाले रूँदै गर्दा उनले एक जना ज्यापूलाई भेटेकी हुन्छन्। एक्लै रूँदै हिँडेकी महिला देखेपछि ज्यापू सहानुभूति प्रकट गर्न अघि सर्छन्। उनको पीर बुझ्न खोज्छन्।
अनि रूक्मणिले रूँदै रूँदै आफ्नो सबै कहानी सुनाउँछिन्।
यसरी उनले रूँदै कथा सुनाएकीले त्यो सुनसान ठाउँको नाउँ ‘खोया खँ कंगू थ्या’ अर्थात् ‘रोएर कथा भनेको ठाउँ’ रहन गएको किम्बदन्ती छ। कालान्तरमा त्यही नाउँ अपभ्रंश हुँदै ‘खोकना’ रहेको विश्वास गरिन्छ। खोकनाको रूद्रायणी देवीलाई अजिमाकै प्रतिरूप मान्ने चलन छ। यता, टेकु दोभानको नै अजिमा मन्दिरलाई रूद्रायणी पिठका रूपमा पनि पूजा गरिन्छ।
त्यो कथामा पचली भैरव, नै अजिमा र अर्की एक अजिमाको ‘त्रिकोणात्मक प्रेमकथा’ छ जुन नाटकको हिस्सा भने होइन।
कथाअनुसार पचली भैरव र नै अजिमा लुकिछिपी घुम्न हिँडेका बेला गाइँगुइँ हल्ला चल्छ। स्थानीयहरू आफ्नो टोलको केटी घुमाउने अपरिचित को हन् भनेर पचलीको खोजी गर्न थाल्छन्।
पचली नै अजिमालाई टेकु दोभानको मोडमा छाडेर गोप्य ठाउँमा लुक्न जान्छन्।
यता नै अजिमा पचलीको बाटो हेरेर बसिरहेकी हुन्छिन्, उता पचली चाहिँ त्यही बेला भद्रकालीको लुमरी अजिमातिर लहसिन्छन्।
लामो समय पचली भेट्न नआएपछि नै अजिमा उनको खोजखबर लिन थाल्छिन्। उनले थाहा पाउँछिन्, पचली त लुक्न गएको बहानामा लुमरी अजिमासँग प्रीति पो गाँस्न थालेछन्।
उनी रिसले चूर हुन्छिन्, अनि पचलीसँग ठुँस्केर विपरीत दिशातिर फर्केकी हुन् भन्ने भनाइ छ। अनि रूँदै एक्लै खोकनातिर गएको भनाइ छ।
अब हामी फेरी माथिकै कथामा फर्किऔं।
धेरै वर्ष बितिसकेको हुन्छ। रूक्मणि अर्थात् रूद्रायणीको बच्चा पनि ठूलो भइसकेको हुन्छ। रूक्मणिलाई यता माइतीको याद आउँछ, श्रीमानको याद आउँछ। उनीहरू कस्ता भए होलान् भन्ने जिज्ञासा हुन्छ। त्यही भएकाले उनी टेकु आउँछिन्।
त्यति बेलासम्म १२ वर्ष कटिसकेको हुन्छ। यहाँ आएर उनले आफ्नो श्रीमानलाई भेट्छिन् र भन्छिन्, ‘अब हामीले आफ्नो छुट्टै ठाउँ बनाइसक्यौं। हामीलाई त्यहाँका मान्छेले पनि राम्रो गर्छन्। हामी त्यहीँ खुसी छौं। तर मलाई तपाईंको याद आउँछ। त्यही भएकाले हरेक १२ वर्षमा यसरी नै एकपटक तपाईंलाई भेट्न आउँछु।’
भैरव दुःखी हुँदै भन्छन्, ‘तिमीहरूलाई स्विकार्न नसक्नु मेरो कमजोरी हो। म जतिसुकै शक्तिशाली भए पनि प्रेममा कमजोर ठहरिएँ। तर तिमीलाई हरेक १२ वर्षमा भेट्न पाउने कुराले खुसी छु। म तिमी आउने दिनहरू गन्दै बस्नेछु।’
नाटकको कथा यति नै।
अब तपाईंहरूलाई पचली भैरव र नै अजिमाको कथा सांस्कृतिक उत्सवहरूमा कसरी प्रस्तुत हुन्छन् भन्छु है।
हरेक बाह्र वर्षमा मरूसत्तल (काष्ठमण्डप) अगाडि देखाइने पचली भैरवको खड्गजात्रामा रातो मुकुण्डो लगाएर नै अजिमा सरिक हुन्छिन्। त्यस्तै, मखनमा हुने अर्को बाह्र वर्षे खड्गजात्रामा भद्रकाली र पचली भैरवको प्रतिरूप नचाउने चलन छ।
दुवै अलग–अलग जात्रा हुन् तर दुवैका गुठियार एउटै हुन्छन्।
‘यहाँ जात्रा सकिएको अर्को वर्ष सिकाली जात्रा हुन्छ। त्यहाँ पूजापाठ गरेपछि नै अजिमा स्थानमा गुठियारहरू आउँछन्। नै अजिमाको खाल्डोजस्तो खाली ठाउँमा पूजाआजा गर्छन् र पोसाक, मुकुण्डो लगाएर हिँड्छन्,’ सुदनले भने, ‘उनीहरू आउँदा वन्दे चल्खुमा सुनको ढोकाबाट भित्र छिर्छन्। त्यो ढोका त्यही दिन मात्रै राखिन्छ। त्यसरी सुनको ढोकाबाट छिर्नु भनेको माइतीमा रूक्मणिलाई स्वागत गरेको संकेत हो।’
खोकनाका मान्छे भने रूद्रायणी र नै अजिमा फरक हुन् भन्ने तर्क राख्छन्। त्यसरी तर्क राख्नुको कारण नै अजिमा भनेको खड्गी समुदायको भएको र यहाँबाट तिरस्कार गरेको देवतालाई त्यहाँ पूजा गर्नुपरेकाले लुकाएको हुनसक्ने उनी बताउँछन्।
तर उनी यो तर्क चिर्दै अगाडि भन्छन्, ‘यदि त्यसो हो भने खोकनाको जात्रा यहाँ किन ल्याउने? रूद्रायणीलाई यहाँको सुनको ढोकाबाट किन भित्र्याउने? नै अजिमा भएकै ठाउँमा उनीहरू पाल ओढेर किन बस्छन्? किन पूजाआजा गर्छन् र लुगा लगाएर हिँड्छन्?’
बाह्रवर्षे पचली भैरव जात्रामा यहाँको राजासँग खड्ग हस्तान्तरण गर्ने चलन पनि थियो। त्यो भनेको भैरवले राजालाई आफ्नो शक्ति र राज्य सुरक्षाको भार सुम्पेको सुदन बताउँछन्। खड्ग त्यसैको प्रतीक हो।
पुरातत्वविद् साफल्य अमात्यले पनि आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्।
यो प्रचलनले ‘प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने’ अमात्यको भनाइ छ। ‘भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देशरक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो,’ उनी लेख्छन्।
वीरेन्द्रको पालासम्म प्रत्येक बाह्र वर्षमा राजा आफैं काष्ठमण्डप आएर पचली भैरवसँग खड्ग साटेका थिए। शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरे।
राजतन्त्र अन्त्यपछि यो खड्गसिद्धी परम्परा अब नाम मात्रको छ। पहिलो राष्ट्रपति रामवरण यादवका पालामा उनकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। त्यो प्रयास त्यत्तिकै रोकियो।
यो जात्रा धर्मसँग मात्र जोडिएको छैन, यसमा हामी प्राचीन काठमाडौंको राजनीतिक अवशेष पनि पाउँछौं। यसलाई काठमाडौं सहर स्थापना र सत्ता हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झनाका रूपमा लिइन्छ।
लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम (अहिले काठमाडौं भित्री सहरको दक्षिणी भाग) बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएको भनाइ छ। काठमाडौंको (खड्गाकार) आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ।
यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। जात्राको सुरूआत ती गुठियारको घरबाट हुन्छ, जहाँ अघिल्लो वर्ष पचली भैरवको मूर्ति अंकित घ्याम्पो लगेर राखिएको हुन्छ। हरेक वर्ष फरक–फरक गुठियारको घरमा घ्याम्पो राख्ने चलन छ। जुन गुठियारको घरमा घ्याम्पो हुन्छ उसैकोबाट जात्रा सुरू हुन्छ।
यो जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।
एक सय २० मिनेटको नाटक ‘पचली भैरव’ मा हामीले देख्न पाउने कथा भनेको पचली भैरवको प्रेमकथा हो। बाँकी गतिविधि त हामीले जात्रामा हेर्न पाइहाल्छौं।
कात्तिक २५ देखि मंसिर ४ गतेसम्म चल्ने नाटकलाई नाट्य रूपान्तरण र सहनिर्देशन गरेका छन् रंगकर्मी इँगिहोपो कोइच सुनुवारले। उनी आफैं पनि यो नाटकमा कलाकारका रूपमा आबद्ध छन्। यसपछि कौसी नाटकघरमा चल्ने ‘एनिमल फार्म’ नाटकमा पनि उनी कलाकारका रूपमा छन्।
पचली भैरव नाटकमा इगिंसँगै सुदन मुनिकार पनि छन्। उनीहरूबाहेक श्रृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, नानुमैया महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ राई, रोशनी चौधरी र करिना सुनुवारको अभिनय देख्न सकिन्छ।
नाटकको व्यवस्थापकसमेत रहेका सुदन मुनिकारका अनुसार यो नाटकले समाजमा भएका एकल महिला र जातीय विभेदलाई चिर्दै महिलाको शक्ति देखाउने प्रयास गरेको छ।
‘महिलाहरू महिनावारी नहुने वा गर्भवती नहुने हो भने पुरूषको महानता कहाँ थाहा हुन्छ भनेर नाटकले प्रश्न गर्छ,’ उनले भने, ‘प्रकृति र समाज बनाउन पुरूषभन्दा महिलाको बढी हात हुन्छ। चाहेको खण्डमा उनी सहन्छिन् पनि, बलियो पनि हुन सक्छिन्। त्यही भएर सभ्यको मुकुण्डो ओढेको हाम्रो समाजलाई यो नाटकले थुप्रै गम्भीर प्रश्नहरू गर्ने प्रयास गरेको छ।’
नाटकमै एउटा संवाद पनि छ, ‘नारीले जे भोग्छ त्यो पुरूषले भोग्नै पर्दैन, भोग्नै सक्दैन। अनि भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?’
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी