नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सबभन्दा धेरै कोरोना विरूद्धको खोप चीनले उपलब्ध गराएको दाबी गरेकी छन्।
‘नेपालमा सबभन्दा धेरै खोप उपलब्ध गराएको मुलुक बनेको छ चीन,’ उनले भनिन्, ‘अहिलेसम्म हामीले डेढ करोड डोज खोप नेपाललाई उपलब्ध गराइसक्यौं।’
चीन सरकारले उपलब्ध गराएको खोप हस्तान्तरणमा आफू सहभागी भएको भन्दै उनले केही समयअघि मात्र नेपाली सेनालाई चिनियाँ जनमुक्ती सेनाले उपलब्ध गराएको खोप हस्तान्तरण गरेको बताइन्।
चीन र नेपालबीच अनुभव आदान–प्रदान गर्दै आपसी सहयोग बढाउँदै लगेको समेत उनले जानकारी दिइन्।
पोखराका ४ वटा सार्वजनिक विद्यालयलाई इन्टरनेट सञ्चालन गर्न आवश्यक सामग्री प्रदान कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै यान्छीले पोखराको शिक्षामा सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरिन्।
कोरोना महामारीले पठनपाठन इन्टरनेटको माध्यमबाट सञ्चालन गर्नुपरेको भन्दै उनले इन्टरनेट सेवा सञ्चालन भएपछि सिकाइ सहज हुने विश्वास लिइन्।
‘कोरोनाले धेरै चुनौती दिएको छ, विद्यार्थीले अनलाइन कक्षा लिनुपर्छ,’ उनले भनिन्, ‘सार्वजनिक स्कुलमा इन्टरनेट नहुँदा अनलाइन क्लास पढ्न नपाएको कुरा थाहा पाएपछि हामीले सामग्री किन्यौं।’
चीन र नेपाल असल छिमेकी मुलुक भएको भन्दै यान्छीले कोरोना भाइरसको महामारी चीनबाट सुरू हुँदा नेपालले पनि सहयोग गरेको सम्झिइन्।
‘हामीले आपसमा सहयोग गरेर कोभिड-१९ मा विजय पायौं,’ उनले भनिन्, ‘नेपालले सुरूमा धेरै सहयोग गरेको छ, यसका लागि आभारी छु।’
नेपालमा कोरोना महामारी बढ्दा चीनले मेडिकल सामग्री सहयोग गरेको उनले बताइन्।
नेपालका विद्यार्थीलाई चीनले धेरै छात्रवृत्ति प्रदान गर्दै आइरहेको समेत उनले जानकारी दिइन्।
चीन सरकारको सहयोगमा निर्माण भएको दरबार हाइस्कुल हेर्न गएको भन्दै उनले पोखरामा सहयोग पाएका ४ वटै स्कुलमा पनि समय मिलाएर हेर्न आउने बताइन्। राजदूत यान्छीले विद्यार्थीलाई राम्रोसँग पढेर भविष्यमा नेपाल मुलुक निर्माणमा योगदान दिन विद्यार्थीलाई आग्रह गरिन्।
‘चीनको इतिहास पनि पढ्नुहोला, चीनमा पनि पढ्न जानुस्,’ उनले भनिन्, ‘नेपाल र चीनको सम्बन्धको प्रचार पनि गर्नुस् भन्ने आशा छ।’
नेपाल चीन जनमैत्री संघको समन्वयमा पोखरा– २१ का जनचेतन मावि, जनजागृति मावि, भविष्य निर्माण मावि र पोखरा–३२ का शिशुकल्याण माविलाई उक्त सामग्री प्रदान गरिएको थियो।
चिनियाँ राजदूतावासले सोलार प्यानलसहित सामग्री दिएर स्कुलमा इन्टरनेट सञ्चालन गर्न पोखरा इन्टरनेट कम्पनीसँग १ वर्ष नि:शुल्क इन्टरनेट उपलब्ध गराउन सम्झौता गरेको छ।
कोरोना महामारीमा अनलाइन कक्षा सञ्चालन गर्दा नेपाल टेलिकमको इन्टरनेट निकै ढिलो चल्ने गरेको जनचेतन माविका प्रध्यानाध्यापक अर्जुन पौडेलले बताए।
‘इन्टरनेट राम्रोसँग नचल्दा अनलाइन कक्षा प्रभावकारी भएन,’ उनले भने, ‘बिजुली पनि आउने जाने भइरहने हुँदा सिकाइमा धेरै अवरोध पुग्यो।’
चिनियाँ दूतावासको सहयोगले इन्टरनेट जडान गरेपछि उक्त समस्या समाधान हुने पौडेलले विश्वास लिए।
इन्टरनेट सेवा सुचारू हुन सके विद्यालयमा सञ्चालन गरिएका सूचना प्रविधि, ल्याबलगायत सञ्चालनमा सहज हुने उनले बताए।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीद्वय सविन अधिकारी र आयुष्मा भण्डारीले विद्यालयलाई शौक्षिक सामग्रीका रूपमा इन्टरनेट सेवा सञ्चालनमा आवश्यक उपकरण दिएको भन्दै चिनियाँ दूतावासलाई धन्यवाद दिए।
नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले आगामी दिनमा अन्य विद्यालयमा समेत इन्टरनेटलगायत शौक्षिक सहयोग उपलब्ध गराउँदै जाने बताए। उल्लेखित विद्यालयमा इन्टरनेटको समस्या भएको पाएपछि आफूले नै चिनियाँ दूतावाससँग उक्त सामग्री माग गरेको भन्दै पालिखेले ४ वटा विद्यालयमा २० लाख बराबरको सामग्री हस्तान्तरण गरेको बताए।
कार्यक्रममा बोल्दै गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठले गण्डकी सरकार चीनसँग मिलेर शौक्षिक र विकासका योजना अघि बढाउन चाहेको बताए।
मुस्ताङको कोरोना नाका खुलाउन राजदूत यान्छीलाई पहलकदमी लिन समेत उनले आग्रह गरे।