आठ वर्षअघि दिपावली र छठको रौनकले उनको घर झिलिमिली हुन्थ्यो।
महोत्तरीको मैनपट्टीमा बस्दा बबिता राम पर्व सुरू हुनुभन्दा एक साताअघिदेखि घर सजावटमा लाग्थिन्। त्यसमाथि रंगीचंगी बत्तीले टोलै गुलजार हुन्थ्यो।
तर ऋणमा डुबेपछि उनको परिवारले घरघडेरी सबै बेच्नुपर्यो। बबिता परिवारसहित माइतीमा बस्न थालिन्।
केही समयपछि धनुषाको लक्ष्मनियाँ गाउँपालिकाको गमहरियास्थित ऐलानी जग्गामा बस्ती बस्न लागेको थाहा पाएर बबिता र उनका श्रीमान बेचु राम जग्गा हेर्न गए। त्यहाँ दुई-चारवटा घर बनिसकेका थिए। उनीहरूले त्यहीँ घर बनाउने निधो गरे। ऋण काढेर त्यहीँको एउटा टुक्रा जग्गामा घर बनाए।
त्यसयता उनीहरूले कहिल्यै धुमधामसँग दिपावली र छठ मनाउन पाएका छैनन्।
बिजुली नभएकाले दिपावली र छठमा उल्लास हुनुपर्ने बेला टोलै सुनसान हुन्छ। साँझ ढल्नेबित्तिकै चारैतिर अन्धकार छाउँछ। विपन्न आर्थिक अवस्थाका टोलवासीहरू थोरै मात्र मट्टीतेल खर्च होस् भनेर घरभित्रै टुकी बालेर बस्छन्।
'बिजुलीका लागि नेताहरूलाई भनेका भन्यै छौं तर हामी गरिबको कुरा कसले सुनदिने? नेताले त धनीमनीका कुरा मात्र सुन्छन्,' बबिताले भनिन्, 'अँध्यारोमै जिन्दगी बिताउनुपर्ने हाम्रो भाग्यमा लेखेको छ। दिपावलीमा पनि घरमा उज्यालो नहुँदा मन खिन्न हुन्छ।'
१५ घरपरिवारको बसोबास रहेको यो टोलका सबै जना विपन्न आर्थिक अवस्था भएका दलित समुदायका छन्। उनीहरू मजदुरी गरेर गुजारा गर्छन्। बिजुलीका लागि स्थानीय नेताका घर र विद्युत प्राधिकरणको कार्यालय धायेका धायै छन्। तर बिजुली आउने कुनै छाँट नदेखिएको स्थानीय मटरू रामले बताए।
'तीन वर्षअघि विद्युत कार्यालयमा निवेदन दिएको थिएँ। त्यसयता पटकपटक गयौं। नेताहरूलाई पनि भन्यौं तर सबैले केही दिन पर्खिनुस् मात्र भन्छन्,' उनले भने।
मोबाइल र टर्चलाइट चार्ज गर्न पनि उनीहरू नजिकैको अर्को टोल जानुपर्छ।
'अर्को टोलबाट चार्ज गरेर ल्याउँछौं। सधैं अरूकोमा चार्ज गर्न जाँदा रिसाइरहन्छन्, चार्ज गर्न दिन मानिरहेका हुँदैनन्,' उनले भने।
अँध्यारोमा बस्नुपर्दा साँझ पर्नासाथ सर्प र बिच्छीको डरले उनीहरूलाई सताउन थाल्छ।
'चारैतिर झाडी छ, सर्प र कीराफट्याङ्ग्राको बास छ। घरअगाडिका ठूल्ठूला रूख हावाहुरी बेला घरमै ढल्न सक्छ। हाम्रो ज्यानै जोखिममा छ। गाउँपालिकाका अध्यक्षजीलाई भन्दा रूख काट्नुहुन्न,' स्थानीय सुबलाल मण्डलले भने, 'कतै कुनै उपाय नभएर बाध्यतावश यहाँ बस्न आएका हौं तर उहाँहरू हाम्रो पीडा बुझ्नुहुन्न। हाम्रो बस्तीछेउमै नेताहरूको खेत भएको ठाउँतिर बिजुली आयो तर हामी गरिबका कुरा कसैले सुनेनन्।'
बिजुली मात्र होइन, यहाँ पानीको पनि उस्तै अभाव छ।
करिब पाँच सय मिटर दुरीको खेतमा गाडिएको कलबाट स्थानीयले पानी भरेर ल्याउँछन्। हुन त करिब एक वर्षअघि वडा कार्यालयले यो बस्तीमा समेत कल गाडिदिएका थिए। तर त्यसबाट फोहोर पानी आउने गरेको स्थानीय सकुन्ती सहनीले बताइन्।
'त्यो कलबाट कहिल्यै सफा पानी आएन। चउरमा रहेको कलबाट पानी बोकेर ल्याउनुपर्छ। अहिले त जसोतसो ल्याइहाल्छौं तर बर्खा बेला बाटोमा हिलैहिलो हुन्छ, बहुत अप्ठ्यारो हुन्छ,' उनले भनिन्।
गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलाई पीडा सुनाउन जाँदा मतदाता नभएकाले केही गर्न नसक्ने भनेर फर्काइदिएको सकुन्तीले गुनासो पोखिन्।
'तिमीहरूको भोटले हामी जितेका हौं र? तिमीहरू यहाँका भोटर पनि होइनौं भनेर उहाँले झपार्नुभयो,' सकुन्तीले थपिन्।
वडाध्यक्ष गणेश यादव उनीहरू सडकको जग्गामा बसिरहेकाले विद्युत पुग्न नसकेको बताउँछन्।
'आज वा भोलि त्यहाँ लाइन त आउँछ नै तर उनीहरू सडकको जग्गामा बसिरहेका छन्। सडक विस्तार भएपछि सबैको घर तोड्नुपर्छ। अध्यक्षज्यूले उनीहरूको घर हटाउनुपर्ने भनेर उहिल्यै भन्नुभएको थियो तर अहिले किन भगाउनु भनेर हामीले छोड्दियौं,' उनले भने।
बस्ने ठाउँ नपाएपछि लक्ष्मनिया गाउँपालिकाकै अर्को टोलबाट आएर केही व्यक्ति यहाँ बस्न थालेको उनको भनाइ छ।