कारागारभित्र मौलाएको चौकीदारको 'दादागिरी' र त्यसलाई देखेको नदेख्यै गर्ने प्रशासनको कमजोरीले विराटनगस्थित मोरङ कारागार सधैं तनावको घेरामा पर्दै आएको छ।
कारागारमा भइरहने यस्तो तनावले कैदीबन्दीलाई असुरक्षित मात्र पारेको छैन, तिनका नातेदारलाई सधैं भयाक्रान्त पनि तुल्याउँदै आएको छ।
एक साताअघि मात्रै विराटनगरका अभिषेक गिरीलाई काठमाडौंको डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित बने। उनीहरूको माग एउटै थियो- अवैध असुली र चरम यातना दिने गिरीलाई विराटनगर नल्याइयोस्।
तिनै कैदीबन्दीको शंकाअनुसारकै घटना मंगलबार विराटनगरमा फेरि भयो। चौकीदारले यातना दिएको भन्दै अन्य कैदीबन्दी झडपमै ओर्लिए।
कारागारको अवस्थाबारे जानकारहरूका अनुसार त्यहाँभित्र हुने अवैध असुली धन्दा र त्यसमा प्रशासनले गरेको नजरअन्दाज नै कारागारमा दोहोरिने तनावको मुख्य कारण हो।
'अहिले देशभरका कारागारमध्ये सबभन्दा खराब अवस्था विराटनगरमा छ,' विराटनगरका अधिवक्ता हेमराज पन्तले भने, 'प्रशासनकै अघि चौकीदारले अलग्गै साम्राज्य चलाएका छन्। जब त्यो साम्राज्यमा खलल पर्न थाल्छ, जेलमा यस्ता घटना हुन्छन्।'
उनले जेलभित्र हुने अमानवीय गतिविधिलाई त्यहाँको प्रशासनले आम्दानीको माध्यम ठान्ने गरेको आरोप लगाए।
'विराटनगर कारागारमा हुने अमानवीयताको पराकाष्ठाबारे जेल प्रशासन, प्रमुख जिल्ला अधिकारी सबै जानकार छन्,' अधिवक्ता पन्तले भने, 'तर उनीहरू चुइँक्क बोल्दैनन्। किनभने त्यहाँभित्र हुने ठूलो आर्थिक लेनदेनको सवाल छ।'
उनका अनुसार जेलभित्र हुने व्यापार, उपभोग्य वस्तुको आपूर्ति, औषधोपचारजस्ता सबै गतिविधि चौकीदारको रेखदेखमै हुने भएकाले प्रशासनले उसैलाई सबैथोक जिम्मा लगाएको हुन्छ। त्यसैले जेलमा जे चल्छ, चौकीदारकै चल्छ।
मंगलबार दिउँसो मोरङ कारागार परिसर तनावग्रस्त हुँदा बाहिर कैदीबन्दीका आफन्त झुम्मिइसकेका थिए। भित्र भइरहेको होहल्लाले उनीहरू तर्सिएका थिए।
'एक साताअघि अभिषेक गिरी ल्याउने भनेपछि हाम्रो भोक तिर्खा हराएको थियो,' मोरङ कारागार परिसरमा भेटिएकी एक महिलाले भनिन् 'आज फेरि कुटाकुट भएछ। जेलमा पनि सुरक्षा हुँदैन भने के गर्ने हो?'
लागुऔषध मुद्दामा सजाय काटिरहेका २७ वर्षे उनका छोरा जेलभित्र छन्। जेलमा बारम्बार हुने तनावले सधैं तर्साउने उनको भनाइ छ।
'अभिषेक गिरी आउने भनेपछि कैदीबन्दीका हामी धेरै आफन्त तर्सेका थियौं,' ती महिलाले भनिन् 'उसलाई नल्याउने भएपछि थोरै राहत भएको थियो। अहिले फेरि अर्को चौकीदारको दादागिरी सुरू भएछ।'
जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भयो। त्यसको मुख्य कारण पनि चौकीदारको दादागिरी नै भएको कैदीबन्दीका आफन्त भएको बताउँछन्। आजको झडपमा घाइते हुने चौकीदार किरण गुरूङसहित १४ जना कैदीबन्दीहरूलाई स्थान्तरण गरिने भएको छ।
झगडा गर्नेहरूलाई सरूवा गर्नेबित्तिकै अर्को समस्या आउने कारागारकै कर्मचारीहरू बताउँछन्।
'जसलाई चौकीदार बनायो, उसैले भित्र डनगिरी थाल्छ,' मोरङ कारागारका एक कर्मचारीले सेतोपाटीसँग भने, ‘प्रशासनको नेतृत्वले त्यसलाई देखेको नदेख्यै गरेपछि यस्तो घटना दोहोरिइरहन्छ।’
यसपटक चौकीदार गुरूङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागार स्थानान्तरण गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए।
झुम्का कारागार सरुवा हुनेहरूमा शेखर राई, सुर्यदिप गुप्ता, निर्मल ढकाल र पदम कुमार लिम्बु रहेका छन्। यस्तै झापा कारागारमा नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, राम बहादुर लिम्बु, रोशन दाहाल, डिल्ली देवान, कपिल कुमार साह, विशाल तामाङ, रमेश मण्डल, मुस्कान भन्ने बबिहाङ राई र राजु राईलाई सरूवा गरिएको पोखरेलले जानकारी दिए।
गुरूङको सरूवा भएपछि मोरङ कारागारको चौकीदारको जिम्मेवारी तत्कालको लागि कार्तिक कामतलाई दिइएको छ। चौधरी ज्यान मार्ने उद्योगमा जेल परेका हुन्। उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन्।
गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका छन्।
झडपमा परेर चौकीदार गुरूङसहित अरू कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएका थिए। घाइते भएकाहरूको हात, टाउको र नाकमा चोटपटक लागेको थियो। कोशीमा उपचार भएपछि उनीहरूसहित १४ जनालाई सरूवा गरिएको जेलर पोखरेलले जानकारी दिए।
एक साताअघि कैदीबन्दीहरूले दिनभर जेलको छतमा चढेर प्रदर्शन गरेपछि अभिषेक गिरीलाई कारागारबाट सप्तरी सरूवा गरिएको थियो। गिरीले कारागारभित्र कैदीबन्दीलाई चरम यातना दिने, महँगो मूल्यमा विभिन्न उपभोग्य सामग्री किन्न लगाउने गरेकाले कैदीबन्दीले विरोध जनाएको बताएका थिए। तर, अर्का चौकीदार गुरूङले पनि कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरू कैदीबन्दी रूष्ट बनेका थिए। त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो।
स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरूद्ध अर्को समूह जाइलागेको थियो।
निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए। उनका अनुसार चौकीदारको समूहविरूद्ध अरू कैदीबन्दी आन्दोलित भएका छन्। चौकीदार गुरूङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरू कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ।
आन्दोलित बनेका कैदीबन्दीले गुरूङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए।
कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन्। १० जना कैदीबन्दी बराबर एक जना भाइ नाइके हुन्छ। २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने कानुनी व्यवस्था रहेको छ। कारागार भित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन्। मोरङ कारागारमा ८ सय ९७ जना पुरुष कैदीबन्दी छन् भने ७२ महिला छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भने क्षमताभन्दा धेरै कैदीबन्दी हुनु नै जेलमा बारम्बार निम्तिने तनावको मुख्य कारण भएको दाबी गर्छन्।
'क्षमताभन्दा धेरै बढी कैदीबन्दी भएपछि यस्तो भएको हो,' जेलबारे प्रशासनका अधिकारीहरुले सधैं दिने रेडिमेड उत्तर दिँदै उनले थपे 'अन्यथा यस्तो अवस्था नआउनु पर्ने हो।'
जेलभित्र हुने 'दादागिरी' र असुलीबारे भने आफूलाई केही थाहा नभएको उनको दाबी छ।
'त्यसबारे हामीलाई केही जानकारी छैन,' उनले भने।