अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएको गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित देखिएको छ।
उक्त जग्गा धितो राखी कुमारी बैंकले १९ करोड रूपैयाँ ऋण दिएको थियो। नक्कली कागजातका आधारमा ऋण लिएर आफूलाई ठगेको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नक्कली कागजात बनाउने मुक्तिनाथ गौतम र एसकुमार महर्जनबाट बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो।
‘बैंकले गौतम र महर्जनको जग्गाजमिन राखेर अमात्यको जग्गा सुरक्षित गरिसकेको जानकारी हामीलाई दिएको छ,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सेतोपाटीसँग भने।
गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। दुवैले अमात्य र उनकी श्रीमतीका नाममा रहेको बिरुवा भूमि वनकाली कम्पनीको नक्कली कागजात बनाएर एक महिनाअघि १९ करोड रुपैयाँ निकालेका थिए।
कागजात नक्कली रहेको थाहा पाएपछि बैंकले गौतम र महर्जनको जग्गाजमिन राखेर नयाँ धितो कायम गरेको प्रहरीको भनाइ छ।
‘उनीहरूले १९ करोड कहाँ के गरे भन्ने थाहा भएन, तर त्यो बराबरको रकमको धितोबापत् बैंकले उनीहरूको जग्गा राखिसकेको जानकारी दिएको छ,’ ब्युरोका निर्देशक सिंहले भने, ‘अहिले अमात्यको जग्गा ‘स्वतन्त्र’ भइसकेको छ।’
अमात्यको बारा विश्रामपुरस्थित १२ बिगा जग्गाको नक्कली कागजात बनाएर १९ करोड रुपैयाँ निकालेको पाइएपछि गौतम र महर्जनसहित चार जनालाई ब्युरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता बैंककै कर्मचारी राजेश्वर चौरसिया पनि छन्। ठाकुर, महर्जन र गौतम केही दिनअघि नै पक्राउ परेका थिए भने चौरसिया मंगलबार पक्राउ परेका थिए।
कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको थियो।
ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार पक्राउ परेकालाई अहिले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान थालिएको छ।
नक्कली कागजात बनाएर गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएको दिए। पर्सा शाखाका कर्मचारी ठाकुर र चौरसिया नक्कली कागजातबाट १९ करोड रुपैयाँ ऋण स्वीकृतिका लागि गौतम र महर्जनलाई सहयोग गरेका थिए।
पर्सा शाखाले न्यूरोड शाखामा फाइल पठाएको थियो। न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिएको महतोले बताए।
यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।
पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा छन्।
‘यो प्रकरणमा मिलेमतो देखिए बैंकका अन्य कर्मचारी पनि पक्राउ पर्नेछन्, प्रारम्भिक रूपमा अहिले पर्सा शाखाका दुई जनाको मिलेमतो उजागर भएको छ,’ ब्युरोका निर्देशक सिंहले भने।
गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको थाहा पाएपछि एक महिनाअघि ब्युरोमा जाहेरी दिएका थिए।
‘नक्कली लालपूर्जा खडा गरेर मेरो जग्गाको नाममा ऋण निकालेको भन्ने थाहा पाएर मैले ब्युरोमा जाहेरी दिएको थिएँ,’ अमात्यले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको हुनाले यसबारे म अहिले बोल्दिनँ।’
सम्बन्धित समाचार :
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट निकालियो १९ करोड