छठमा तराई जानू अनि ठेकुवा नखानू!
दुई वर्षअघि म र सहकर्मी समिक्षा अधिकारी सप्तरीमा छठ हेर्न गएका थियौं। त्यो बेला हामीले तराईको छठमा हुने गतिविधिलाई नजिकबाट हेर्ने मौका पायौं।
त्यही बेला हो मैले ठेकुवाबारे धेरैथोरै जानकारी पनि संकलन गर्न पाएकी थिएँ। यो छठमा तराईको त्यही ठेकुवा सम्झिँदै यहाँहरूलाई ठेकुवाको कथा भन्छु है!
हामी बसेको हनुमाननगरको घरमा पूजाको दिन बिहानै ठेकुवा बनाउने तयारी भइरहेको थियो। ठेकुवा बनाउनेमा थिइन् घरमूली ममता मेहता। उनलाई सहयोग गर्ने श्रीमान शिवशंकर।
छठको विशेषता हो शुद्धता। मन–तन सबै शुद्ध। छठीमाईलाई पकाएर चढाउने सामग्रीसँगै चुलो पनि।
परिकार पकाउने घरको महिला भए पनि सामान जुटाउनु, चुलो बनाउनु वा किन्नु लगायत काम पुरुषले गर्छन्।
नयाँ माटोको चुलोमा दाउरा ठोसेर त्यसमाथि विभिन्न बुट्टा कुँदिएका ठेकुवा पकाउँदै थिइन् ममता। उनका श्रीमान शिवशंकर गहुँको पिठोमा सख्खर, घ्यु, मरमसलाहरू हाली मुछेर बुट्टा कुँद्न मद्दत गर्दै थिए।
ठेकुवामा बुट्टा कुँद्न विभिन्न साँचा हुन्छन्। त्यसमा हालेर पिठो थिचेपछि रोटी कलात्मक बुट्टाले भरिन्छन्।
यसरी साँचोले बुट्टा कुँदिएको रोटी कहिलेदेखि बनाउन थालियो ममतालाई थाहा छैन। साँचोमा ठोकेर बुट्टा कुँदेर बनाइने भएकाले यसको नाम 'ठेकुवा' रहेको भने भनिन्छ।
छठबारे सूर्य पुराणमा उल्लेख छ। जसअनुसार पाण्डवहरू द्रौपदीसहित वनवास जाँदा यात्रा सफल होओस् भनी सूर्यदेवको आराधना गर्थे। त्यही समयदेखि छठ मनाउने परम्परा रह्यो। तसर्थ यसको उत्पत्तिस्थल विराटनरेशको राजधानी विराटनगर हो भन्ने भनाइ पनि छ। यसैगरी अग्नीमुनिकी पत्नी अनुसुईयाले आफ्ना पतिको प्रेम तथा अटल सौभाग्यका लागि यो व्रत गरेकी भन्ने विश्वास पनि छ।
त्यो बेला यसरी नै ठेकुवा लगायत रोटी बनाउने चलन थियो कि थिएन होला!
ममताको परिवारझैं तराइबासीलाई भने छठमा ठेकुवा अनि भुसुवा लगायत रोटी अनिवार्य नै हो। गम्हरी चामलको पिठोमा सख्खर, घ्यु र अन्य मसला हालेर बिस्कुटजस्तै भुसुवा तयार हुन्छ। यी सबैलाई बाँसले बनेको ढाकी (कोनिया, दौरी लगायत भाँडा) मा हालेर खोला–किनार वा पोखरीको घाटमा लगिन्छ। बेलुकी सूर्य अस्ताउने समयमा पूजा हुन्छ। अनि सूर्य नउदाउन्जेल रातभर त्यही घाटमा बसेर ती सामग्रीको सुरक्षा गरिन्छ।
छठको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि ममता घर फर्किइन्। परिवारजनलाई खाना बनाएर खुवाइन्। दिनभरीको निराहार व्रतपछि उनले बेलुकीको एक छाक मात्रै खाने हो। उनले खाना खाने भनेको सबै सुतेपछि वा सदस्य बाहिर गएपछि मात्रै।
'छठमा व्रत बस्नेहरू खाना खाँदा कुनै आवाज आयो वा खानामा ढुंगा पनि किरकिर गर्यो भने खाना बन्द गर्छन्,' उनका देवर हरिओम मेहताले भने। हरिओम कलाकार पनि हुन्। उनैले हामीलाई सप्तरीको छठ हेर्ने अवसर जुराइदिएका थिए।
छठ पूजाको अघिल्लो दिनलाई 'खर्ना' भनिन्छ। त्यो दिन पनि रोटी बनाइएको हुन्छ, जसलाई सोहाडी भनिन्छ। विशेषगरी, चामलको पिठोले बनाएको रोटी। राति घरको आँगनमा पूजा गर्ने देवतातिर फर्काएर केही रोटी दुई केराको पातमा राखिएका थियो।
'यी रोटीलाई घरका कोही दुई पुरुष मान्छेले खान्छन्,' उक्त्त रोटीबारे विश्लेषण गर्दै हरिओमले भने, 'पुरुषहरू घर बाहिरको काम गर्छन्, विदेश जान्छन्। उनीहरूलाई घर बाहिर रहँदा सुरक्षा होस् भन्ने हिसाबमा त्यो रोटी खान दिइएको हो।'
घरका दुई पुरुषले रोटी खाइसकेपछि मात्रै अन्य सदस्यले खान पाउँछन्। छठमा बनेको ठेकुवा भने बिहान सूर्योदयको पूजा भएपछि मात्रै खान पाइन्छ। छठका यी रोटीलाई प्रसाद स्वरूप माग्ने पनि हुन्छन्। तिहारको सेलरोटीजस्तै यी रोटी धेरै दिनसम्म खान सकिन्छ।
विराटनगर मूल घर भएका मिथिला कलाकार एससी सुमनका अनुसार छठ कृषिसँग जोडिएको पर्व हो। त्यही भएकाले यो पर्वमा साग, हरियो पात भएको बेसार, लौका, भ्यान्टा, केरा, अम्बा लगायत आफ्नो घरमा उब्जाउ भएको अन्न तथा फलफूलसँगै स्याउ, सुन्तला लगायत आयातित फलफूल पनि खोलाकिनारमा पूजाका लागि लगिन्छ। यी अन्न र फलफूलसँगै मिठाइ र नैवेद पनि चढाउने चलन छ। सबै गरेर ७० वटा परिकार हुनुपर्छ।
'यदि कसैको ढाकीमा ७० सामग्री पुगेन भने गम्हरी धानको चामल चढाउँदा हुन्छ। अनि क्षमायाचना गर्न भिजाएको केराउ (अकडी) छर्किने पनि चलन छ,' उनले भने, 'त्यसरी केराउ छर्किएपछि धर्तीमा फेरि केराउको बोट उम्रिन्छ र त्यसले आफ्नो जीवनचक्र पूरा गर्ने विश्वास छ।'
छठको ७० परिकारमध्ये एक ठेकुवा विस्तारै प्रख्यात हुँदै गएको उनी बताउँछन्। छठको समयमा निराहार व्रत बस्ने भएकाले गहुँ, सख्खर, घ्यु लगायत विभिन्न पौष्टिक आहार मिसिएको ठेकुवा खाँदा त्यसले शरीरमा ऊर्जा पनि मिल्ने उनी बताउँछन्। त्यसका साथै ठेकुवाको बुट्टाले मिथिलामा कला र सौन्दर्यको व्यापकता भएको पनि झल्काउँछ।
'मिथिला क्षेत्रका हरेक गतिविधिसँग कला मिसिएर आएको हुन्छ। त्यसैको उदाहरण ठेकुवा पनि हो,' उनले भने, 'त्यसरी बुट्टा कुँद्दा खान पनि रूचिकर हुन्छ।'
ठेकुवा सधैं–सधैं पकाइने रोटी भने होइन। छठबाहेक चौरचन र घरी भनिने पर्वमा पनि यो रोटी पाक्ने हरिओम बताउँछन्। घरी भनेको घरको कुलदेवताको पूजा गर्ने समय हो। यो साउन महिनामा आफ्नो कुल देवताअनुसार शनिबार वा बुधबार मनाइने रहेछ।
हामी बसेको मेहता परिवार भने सोखा स्वयम्भूनाथ भन्ने कुल देवतालाई पूजा गर्दा रहेछन्। यो पर्वमा घरको मान्छेबाहेकका मान्छे पूजामा सामेल हुन र प्रसाद खान पाउँदैनन्। घरभित्रै खाएर त्यहीँ हात चुठेर मात्रै बाहिर निस्कन पाउँछन्।
यही पर्वपछि अन्य चाड तीज, दसैं, तिहार लगायत सुरू हुन्छ र राम नवमीका दिन मूर्ति जलाएर अन्त्य हुन्छ। मूर्ति नबनाउनेले भने आफ्नो घरमा मिठाइ ल्याएर बाँड्छन्।
'साउन भनेको हरियाली हुने मौसम हो। यो समयमा वर्षात हुन्छ। कीरा, सर्पहरू धेरै हुने महिना पनि यही हो,' घरी मनाउनुको आशय बताउँदै हरिओमले भने, 'यो समयमा धेरै मान्छेको मनभित्र पनि मानसिक असर गरिरहेको हुन्छ। त्यसलाई अन्तै मोड्न पनि यो पर्व मनाएको हुनसक्छ।'
यही पूजामा प्रयोग भएको अक्षताको खीर आउँदो पूर्णिमा अर्थात् रक्षाबन्धनमा बनाएर खाइने रहेछ।
चौरचन पूजा भदौ शुक्ल चतुदर्शीमा मनाइन्छ। यसमा पुरी, फलफूलसँगै ठेकुवा पनि हुन्छ। यो पूजा घरको बाहिर आँगनमा हुन्छ। जसरी छठमा सूर्यको आराधना हुन्छ, चौरचनमा जूनको पूजा गरिन्छ। चौरचनमा ठेकुवा बनाइने भए पनि यहाँ दही मुख्य हो। छ–सात वटा माटाका भाँडामा दही राखेर पूजा हुन्छ। छठमा झैं चौरचनमा पनि भाकल गरिन्छ। भाकल पूरा हुनेले छठमा ढाकी थप्दै पूजा सामग्री बढाएझैं चौरचनमा दही बढाउँदै लानुपर्ने हरिओमले बताए।
'चौरचन दुई-तीन घन्टा मात्रै हुन्छ। भदौतिर एकदम गर्मी हुने भएकाले शीतलताको प्राथना गर्दै यो पर्व मनाइन्छ,' उनले भने, 'दहीले शीतलता दिन्छ, जून पनि शीतलताको प्रतीक।'
चौरचनमा पनि छठको खर्नामा झैं आँगनमा राखिएका पूजाका रोटी घरको पुरुषले खान्छन्। ती रोटी खाएपछि पात त्यही गाड्नुपर्ने परम्परा हुन्छ, जसलाई 'मडड' भनिन्छ। अचेल त्यो लोप हुँदै गइरहेको हरिओम बताउँछन्।
यी पर्वलाई चाहिने रोटी शुद्ध तरिकाले बनाउनुपर्ने हुँदा त्यहाँ नजिकै बसेर पिउन र खान हुँदैन।
छठ जति महत्वपूर्ण छ तराइबासीलाई त्यति नै महत्वको छ 'चौरचन', 'घरी' लगायत अन्य पर्व। तर बाहिर चर्चामा आउँदैनन्।
'छठ तामझामका साथ बाहिर देखाइन्छ, अरू पर्व देखाइन्न। घरभित्रै हुन्छ, त्यही भएर बाहिरको समुदायलाई कति त थाहा पनि हुँदैन्,' हरिओमले भने।
ब्रह्मववैर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धबारे उल्लेख छ। षष्ठी अपभ्रंस भएर छठ भएका हुनाले यस पूजाको नाम छठ भएको मानिन्छ। ब्रह्म पुराणअनुसार प्रकृति देवीले दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री गरि आफूलाई पाँच भागमा बाँडेकी छिन्। प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ। मैथिल कोकिलकवि विद्यापतिको वर्षकृत्यमा सूर्यष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको एससी सुमन बताउँछन्।
शास्त्रीय मान्यता अनुसार चार दिवसीय अनुष्ठानका रूपमा मनाइने यो पर्व प्रत्येक वर्ष शुक्लषष्ठी (प्रदोषषष्ठी) को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ्य दिएर मनाइन्छ।
'नकारात्मक सोच छोडेर सकारात्मकतातिर अग्रसर हुनु छठ पर्वको विशेषता हो,' एससी सुमनले भने, 'पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा हो। यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ भविष्यको निर्माणमा जुट्न प्रेरित गर्ने विश्वास गरिन्छ। यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाका लागि श्रद्धापूर्वक मनाइन्छ।'
एउटै पोखरी वा जलाशयको चारैतिर विभिन्न जातजाति, धर्म, समुदायका व्यक्तिले घाट बनाई अर्घ्य दिने भएकाले यो पर्व छुवाछुतबाट टाढा रहेको पनि सन्देश दिन्छ। आफूले गरेको भाकल अनुरूप कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीले पनि प्रकृति पूजाका रूपमा छठ पूजामा सहभागी भई अर्घ्य दिने गरेको पाइन्छ। यो पर्व कुनै पनि विभेद पनि नभएको पर्व भएको एससी सुमन बताउँछन्।
'छठ घाटमा मधेसी मात्रको उपस्थित हुँदैनन्। हिन्दु मात्र पनि उपस्थित हुँदैनन्। सम्पन्न, धनी वा हुने-खाने मात्र नभई कुनै पनि जात, धर्मले यसमा सहभागी हुन पाउँछन्,' उनले भने, 'यस अर्थमा हेर्ने हो भने यस पर्वमा सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून् भन्ने सन्देश पनि दिन्छ।'