तरेली पहाडको एउटा नेटोमा छ, लमजुङको समिभञ्ज्याङ जुन भञ्ज्याङबाट पूर्वतर्फ लागे सदरमुकाम बेसीसहर पुगिन्छ भने पश्चिम लागे पोखरा पुगिन्छ। दक्षिणमा तनहुँको सदरमुकाम दमौली छ।
यो भञ्ज्याङको खुला ठाउँमा एउटा भलिबल कोर्ट छ, वरिपरि स–साना पसल छन्। अनि छ ढुंगाले छाएको एउटा पुरानो भवन।
यो त्यही भवन हो, जसले पञ्चायत कालमा जिल्लाकै राजनीतिमा प्रभाव जमाउँथ्यो। सामाजिक रूपान्तरण र पर्यावरण संरक्षणका अभियान यही भवनबाट चल्थे।
अहिले त्यो भवनको एउटा कोठामा मध्यनेपाल नगरपालिका- ५ को वडा कार्यालय छ। भवनका बाँकी चार कोठा र एउटा सेमिनार हल नखुलेको दुई दशकभन्दा बढी बितिसकेको छ।
तीमध्ये दुईवटा कोठामा झन्डै तीन हजार पुस्तक छन्। कयौं पुस्तक धमिराले खाइसके। माकुराका जालो कोठाभरि छ। किताबहरू बन्द कोठामा थुनिएको पनि ३० वर्ष नाघिसक्यो।
यी पुस्तक जुन बेला यहाँ जम्मा गर्न थालियो, त्यो समय, परिस्थिति र देशको शासन अहिलेजस्तो सहज थिएन।
आजभन्दा ५० वर्षअघि गाउँका ‘पढेलेखेका’ युवाहरूको सामूहिक प्रयत्नका प्रतिफल थिए, यी भवन र पुस्तक जसलाई उनीहरूले ‘अन्नपूर्ण पुस्तकालय’ नामाकरण गरेका थिए।
विक्रम संवत् २०२८ सालमा स्थानीय युवाहरू जम्मा भएर खोलेको यो पुस्तकालयको सुरू प्रस्ताव समिभञ्ज्याङमै जन्मेहुर्केर जिल्लाको राजनीतिक नेतृत्वमा रहेका लेखनाथ अधिकारीले गरेका थिए। गाउँका युवाहरूले सहमति जनाए।
लेखनाथले नै पुस्तकालय समिति बनाए। यसका संस्थापक अध्यक्ष थिए, जीवनाथ अधिकारी। त्यति बेला २७ वर्षका जीवनाथ अहिले ७७ वर्षका भए।
‘पुस्तकालय खोल्यो भने केटाकेटीको उन्नति–प्रगति हुन्छ, विद्या आर्जन हुन्छ, ज्ञान आउँछ भनेर उहाँ (लेखनाथ अधिकारी) ले भन्नुभयो,’ पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथले भने, ‘सुरूमा भीमसेनस्थानमा पुस्तकालय चलायौं, पछि भञ्ज्याङमा भवन बनाएर सार्यौं।’
देशमा निर्दलीय पञ्चायती व्यवस्था थियो। मानिसहरू संगठित हुन पाउँथेनन्। राजनीतिक दलहरु प्रतिबन्धित थिए। प्रजातन्त्र ल्याउनेहरू पनि भित्रभित्रै लुकेर कार्यक्रम चलाउँथे।
अन्नपूर्ण पुस्तकालय गाउँका प्रजातन्त्रप्रेमीहरूको भेटघाट हुने थलो बन्यो। उनीहरू पुस्तकालयमा किताब पढ्दै विभिन्न कार्यक्रम चलाउँथे। आफू मात्र पढ्थेनन्, गाउँका अरू युवालाई पनि पढ्न सिकाउँथे। निरक्षर गाउँलेलाई ‘रात्रिकालीन पाठशाला’ का नाममा अक्षर चिनाउँथे। त्यही बेला पुस्तक पढ्न पाउने स्वतन्त्रतासमेत सरकारले कसरी खोजेको छ भनेर बुझाउँथे।
पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथका अनुसार त्यति बेला गाउँमा सामाजिक उत्थान र रूपान्तरण गर्न कुनै पनि संगठन थिएन। गाउँलेहरू संगठित हुन पाउँथेनन्। अरू संघ-संस्था पनि अस्तित्वमा थिएनन्। समाजसेवा गर्न उक्सिएका युवाहरूले पुस्तकालयलाई भरपुर उपयोग गरे।
पुस्तकालयका संस्थापक उपाध्यक्ष रामकृष्ण श्रेष्ठले यसैका माध्यमबाट गाउँको चौतर्फी विकास र जागरण ल्याउन सफल भएको बताए।
पुस्तकालय खोल्न हौस्याएका लेखनाथ जिल्ला पञ्चायत सदस्य हुँदै सभापति भए र पछि राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए। पुस्तकालयले पञ्चायतविरोधी अभियान चलाउँदासमेत कोही पक्राउ परेनन्, उल्टै सहयोग पाइरहे। लेखनाथकै पहलमा पुस्तकालय भवन बनाउन जिल्ला विकास समितिबाट करिब ४५ हजार रूपैयाँ प्राप्त भयो। त्यही पैसा र श्रमदान जुटाएर बनेको त्यो भवन अहिले पनि उस्तै छ।
पुस्तकालय चलाउन स्थानीय युवाहरूले केही पुस्तक खरिद गरे। धेरैजसो विभिन्न दातृसंस्था र व्यक्तिबाट संकलन गरे। पुस्तकालयमा राजनीति, साहित्य, स्वास्थ्य, पर्यावरण लगायत विविध विषयका पुस्तक थिए। ती धमिराले खाए पनि अझै बाँकी छन्।
कतिपय प्रतिबन्धित पुस्तकसमेत अन्नपूर्ण पुस्तकालयमा सहज पहुँचमा थियो। डाइमण्डशमसेर राणाको ऐतिहासिक उपन्यास ‘सेतो बाघ’ देखि बिपी कोइरालाका साहित्यिक र राजनीतिक पुस्तक अनि प्रतिबन्धित पत्रिकासमेत पुस्तकालयमा पाइन्थे।
कहिलेकाहीँ त्यस्ता पुस्तक र पत्रिका भित्रभित्रै लुकाएर अध्ययन गर्नुपरेको श्रेष्ठ सम्झिन्छन्।
‘प्रतिबन्धित किताब र पत्रिका हामी भित्रभित्रै बाँडीचुडी पढ्थ्यौं,’ श्रेष्ठले भने, ‘लेखनाथजीको प्रभावले भनौं, पुस्तकालयमा राख्दा समेत प्रशासनको खासै निगरानी थिएन।’
पुस्तकालयमा बसेर गाउँका युवाहरू पुस्तक र पत्रिका मात्र पढ्थेनन्, त्यहाँ लेखिएका विषयमा विमर्श पनि गर्थे। पुस्तकालय समितिभित्रका मात्र होइन, बाहिरका मानिस पनि त्यो विमर्शमा सहभागी हुन्थे। पुस्तकालयमा भेला भएकाहरू देशमा प्रजातन्त्र चाहिन्छ भनेर छलफल गर्थे। आन्दोलनबारे कुरा गर्थे।
पुस्तकालयमा रजिस्टर राखेर पुस्तकको रेकर्ड राख्ने, पुस्तकालय सदस्य बनाउने र सदस्य नभएका व्यक्तिले पनि एक साताका लागि एउटा पुस्तक घरमा लगेर पढ्न पाउँथे। सबै गतिविधिका रेकर्ड पुस्तकालय समितिले राख्ने गरेको संस्थापक अध्यक्ष जीवनाथ सम्झिन्छन्।
समितिका सदस्यहरू नै पालैपालो पुस्तकालयमा बस्ने, पढ्न आउनेलाई पुस्तक दिने र घर लगेर पढ्न चाहनेको रेकर्ड राख्ने गर्थे।
सधैं अरूका समाचार, विचार, साहित्य मात्र कति पढ्ने भनेर जिल्लाकै पुरानो पुस्तकालय समितिले आफूहरू पनि केही प्रकाशन गर्ने सोच बनायो। अनि पुस्तकालयले नै गाउँमा भित्तेपत्रिका प्रकाशन गर्न थाल्यो जहाँ स्थानीय गतिविधि र कार्यक्रमका समाचार समेटिएका हुन्थे। प्रजातन्त्रको पक्षमा लेखिएका कविता र अन्य सामग्री भित्तेपत्रिकामा प्रकाशन हुन थाल्यो।
पुस्तकालय समितिमा रहेर काम गरेकाहरू अधिकांश स्थानीय विद्यालयका शिक्षक थिए। भित्तेपत्रिका मात्रै उनीहरूलाई सानो लाग्यो। अब छापा पत्रिका निकाल्ने सोच बनाए।
पुस्तकालय समितिले ‘भञ्ज्याङ’ नामक छापा पत्रिका निकाल्न थाल्यो जसमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गतिविधि, समाचार, विचार र साहित्य प्रकाशन हुन थाल्यो।
पत्रिका प्रकाशन गर्न सामग्री संकलनदेखि सम्पादनका काम पुस्तकालय समितिले सामूहिक रूपमै गरेको उपाध्यक्ष श्रेष्ठले बताए। त्यति बेला समितिका प्रत्येक सदस्यले भञ्ज्याङमा के छाप्ने, के नछाप्ने भनेर छलफल चलाउँथे, सबै एकमत भएर सामग्री छनौट गरेर प्रकाशन गर्थे।
त्यति बेला पत्रिका प्रकाशन गर्न सजिलो थिएन। पञ्चायती राज्यले प्रतिबन्ध लगाएको थियो। उनीहरू निबन्ध र साहित्यमा मात्र होइन, समाचार र विचारमा पनि स्वतन्त्रताको वकालत गरिरहन्थे। पत्रिका प्रकाशन आफैंमा स्वतन्त्रताको अभ्यास थियो, उनीहरूले त्यही अभ्यास गरिरहे।
पत्रिका छाप्न पनि उत्तिकै आपत् थियो। सामग्री जुटाएर तनहुँको सदरमुकाम दमौलीसम्म हिँडेर जानुपर्थ्यो। गाउँबाट एकदिन हिँडेर उनीहरू दमौली पुग्थे, पत्रिका छाप्न दिन्थे र छापिएपछि फेरि लिन जान्थे। यसरी छापिएका पत्रिका जिल्लाकै राजनीतिक नेतृत्वदेखि गाउँका अक्षर चिनेका नागरिकसम्म पुग्थ्यो।
पुस्तकालय तर्फबाट गाउँमा कविता, निबन्ध, वादविवाद, हिज्जे लगायत प्रतियोगिता आयोजना हुन्थे।
गाउँका अधिकांश महिला निरक्षर थिए। उनीहरूलाई साक्षर बनाउन शिक्षक पनि महिला नै चाहिने पुस्तकालय समितिले निर्क्यौल गर्यो। अर्को गाउँ जीताबाट भूमि श्रेष्ठलाई शिक्षिका बनाएर ल्याएको उपाध्यक्ष श्रेष्ठले बताए।
शिक्षिका भूमिले दिउँसो समिभञ्ज्याङकै तत्कालीन सम्झना प्रावि (हाल मावि) मा र राति निरक्षर महिलालाई पढाउन रात्रिकालीन पाठशालामा पढाउन थालिन्। त्यति बेला अक्षर चिनेकाहरू अहिले पनि पत्रिका पढ्न सक्छन्। आफ्नो नाम लेख्न र हिसाब राख्न सक्छन्।
पुस्तकालय समितिले नै गाउँमा रात्रिकालीन पाठशाला चलाउन आवश्यक मट्टीतेल र लालटिन आफैं पैसा उठाएर खरिद गरेका थिए।
२०४१ सालमा महेन्द्र प्रकृति संरक्षण कोषले पुस्तकालयसँग मिलेर पर्यावरण संरक्षणका अभियान चलाउन हातेमालो गर्न चाह्यो। पुस्तकालय समिति पनि यसका लागि तयार भयो। कोषसँग मिलेर पुस्तकालयले गाउँमा मात्र होइन, जिल्लाभर नै पर्यावरण संरक्षणको अभियान चलायो।
त्यति बेला जिल्लाका प्रत्येक चोकमा अन्नपूर्ण पुस्तकालयकै नाममा ‘डढेलोबाट वन जोगाऊँ, हरियो वन नेपालको धन’ जस्ता नारा लेखिएका बोर्ड राखिए। डढेलो र जथाभाबी वन फडानीका असर र वन जोगाउनुपर्ने कारण लिएर पुस्तकालयका टोली जिल्लाभर खटिए।
यसरी जिल्लाव्यापी अभियान चलाएर फर्किएका युवाहरूले पुस्तकालयको स्थापना दिवस मनाउने तयारी गरे। स्थापना दिवसमा राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरियो। सम्मेलनमा तत्कालीन वनमन्त्री गगन जंगबहादुर शाह प्रमुख अतिथिका रूपमा समिभञ्याङ आएको उपाध्यक्ष श्रेष्ठले सम्झिए।
त्यति बेला रेडियो नेपालका पत्रकार कृष्ण ताम्राकार र नेपाल टेलिभिजनका प्रतिनिधिसमेत समिभञ्ज्याङ पुगे। मोटरबाटो सकिएपछि दुई घन्टा बढी हिँडेर उनीहरू गाउँ पुगेका थिए। पुस्तकालयको उक्त साहित्यिक कार्यक्रममा जनकवि धर्मराज थापासमेत समिभञ्ज्याङ पुगेका थिए।
दुरदराजका एउटा गाउँमा भएको कार्यक्रमको समाचार रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण भयो। उनीहरूले देशव्यापी वाहवाही पाए। पुस्तकालय समिति झनै हौसियो।
सरकार पञ्चायती थियो, उनीहरूले त्यो उत्साह प्रजातन्त्र ल्याउनतिर खर्चिए। भूमिगत गतिविधिलाई जोड दिन थाले।
पुस्तकालयले स्वतस्फुर्त गरिरहेका कामबारे विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि मूल्यांकन गरेका रहेछन्। नि:शुल्क सामाजिक अभियानमा लागेका पुस्तकालय समितिका युवाहरूलाई ‘रेड वर्ण नेपाल’ नामक संस्थाले ‘सुरक्षित मातृत्व कार्यक्रम’ सञ्चालन गर्न प्रस्ताव गर्यो, पुस्तकालयले स्विकार्यो।
उक्त संस्थाको सहयोगमा गाउँगाउँमा फेरि सुरक्षित मातृत्व अभियान सञ्चालन भयो। पुस्तकालयमा राखिएका पुस्तकमध्ये सबभन्दा धेरै पाठकले घर लगेर पढ्न चाहेको पुस्तक पनि स्वास्थ्यसम्बन्धी नै हुने गर्थे। त्यति बेला ‘डाक्टर नभएमा’ नामक पुस्तक धेरै पढिएको उपाध्यक्ष श्रेष्ठ सम्झिन्छन्।
त्यो समय गाउँमा स्वास्थ्य चौकी थिएन। सामान्य हात काट्यो वा घाउ खटिरा आयो भने पनि उपचारका विधि थिएनन्। 'डाक्टर नभएमा' नामक उक्त पुस्तकमा यस्ता समस्याका स्थानीय समाधानका विधि सिकाइएका थिए। सुरक्षित मातृत्व, प्रसूति, ज्वरो लगायत स्वास्थ्य समस्यामा पनि गाउँमै बसेर गर्न सकिने समाधान पुस्तकमा समावेश थियो।
पुस्तकालय समितिले नै गाउँमा बेलाबखत स्वास्थ्य शिविर आयोजना गर्थ्यो जहाँ गाउँलेले नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि पाउँथे। यसका लागि पुस्तकालय समितिले विभिन्न संस्था र अस्पतालसँग सहकार्य गर्थ्यो।
काठमाडौंको ‘मृगेन्द्र चिकित्सा गुठी’ बाट पुस्तकालयलाई नियमितजसो औषधि आउन थाल्यो। गुठीबाट आउने औषधिहरूमा झाडापखाला, रूघाखोकी, ज्वरो, घाउखटिराका धेरै हुन्थे। पुस्तकालयले गाउँमा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उक्त औषधि वितरण गर्थ्यो।
पुस्तकालय यतिमा मात्र सीमित भएन। गाउँमा घरआँगन, टोल, बाटोघाटो, पँधेरा लगायतदेखि सार्वजनिक स्थलसम्म सरसफाइका अभियान चलाउन थाल्यो। पुस्तकालय समितिको निर्णय गाउँका सबै गाउँलेले शिरोधार्य गरे। श्रेष्ठका अनुसार उक्त अभियान पनि गाउँका कसैले अवज्ञा गरेनन्।
अन्नपूर्ण पुस्तकालयको नाम जिल्लामा मात्र नभई देशभर फैलिन थाल्यो। २०४५ सालतिर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषले पुस्तकालयसँग सहकार्य गरेर ‘लमजुङ नमूना वातावरण योजना’ सञ्चालन गर्न चाह्यो। पुस्तकालय समिति पनि तयार भयो। उक्त परियोजनाअनुसार जिल्लाका पाँचवटा गाविसको ‘भिलेज प्रोफाइल’ बनाउनुपर्ने भयो।
भिलेज प्रोफाइलमा गाविसका प्राकृतिक विपत्तिका सम्भावनादेखि वनजंगल, गाविसमा रहेका घरधुरी र उनीहरूको अवस्था, खानेपानीको स्रोत सबै संकलन गर्नुपर्थ्यो। उक्त योजनाअनुसार जिल्लामा रहेका ६१ गाविसमध्ये पूर्व, उत्तर, दक्षिण र पश्चिमका गाविस छनौट गरिएका थिए।
भिलेज प्रोफाइल बनाउने काममा जोडिएका त्यति बेलाका युवाहरू पछि कोही मन्त्री बने कोही सांसद। कसैले समाजसेवा गरे। पुस्तकालयले आफ्नो नियमित कार्यक्रमका दौरान खाली ठाउँमा वृक्षारोपण गर्थ्यो। पुस्तकालयको वन तथा वातावरणसम्बन्धी कामका कारण गाउँकै पुरानो हटिया सामुदायिक वनलाई ‘जराजुरी’ नामक संस्थाले राष्ट्रिय पुरस्कार प्रदान गर्यो।
पुस्तकालय आफैंले नियमित रूपमा खुला भलिबल, निबन्ध, हाजिरीजवाफ लगायत रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्थ्यो। यसले गाउँका युवा र विद्यार्थीलाई समेट्थ्यो। यी सबैका आयोजक पुस्तकालय हुन्थ्यो, पुरस्कार पुस्तकालयले नै जुटाउँथ्यो।
गाउँमा पुस्तकालय खोलेर अनेक अभियानमा कस्सिएका युवाहरू विस्तारै किसानका हितमा काम गर्न घोत्लिए। पुस्तकालय पढेलेखेका फुर्सदिलाका लागि मात्र नभई दिनरात काम गरे पनि खान नपुग्ने किसानको समेत उपयोगमा ल्याउन चाहन्थे उनीहरू।
किसानलाई पुस्तकालय तर्फबाट कसरी सहयोग गर्न सकिएला भनेर समितिका युवाहरूले मन्थन गरे अनि उपाय निकाले। कविता प्रतियोगिताजस्तै कृषि प्रतियोगिता सञ्चालन गर्ने उनीहरूले निर्णय लिए। गाउँमा कृषि प्रदर्शनी आयोजना गरियो। कृषि तथा पशुपन्छी प्रतियोगिता चलाएर सबभन्दा राम्रो फसल तथा पशुपन्छी पालेका किसानलाई प्रोत्साहन दिन पुरस्कारको व्यवस्था मिलाए।
गाउँमा कुखुरा, खसी, बोका, गाई, भैंसी पाल्ने उत्कृष्ट उद्यमी किसान पुरस्कृत भए। त्यस्तै, तरकारी खेती र अन्नपातमा पनि किसानलाई पुरस्कारको व्यवस्था मिलाए। राम्रोसँग कृषिकर्ममा लागेर धेरै र ठूलो परिणाम दिने किसान पुरस्कृत हुँदा अरू किसानले पनि त्यसरी नै हौसला पाउने उनीहरुको विश्वास थियो।
कृषि उपजको प्रदर्शनी र प्रतियोगिताले मात्र किसानको बाली सप्रनेवाला थिएन। पुस्तकालयले उन्नत खेतीसम्बन्धी तालिम सञ्चालन गर्यो। बीउबिजन वितरण र खेतीपातीका आधुनिक तरिका सिकाउन कृषि विज्ञलाई गाउँ बोलाएर किसानको घरखेत पुर्याए।
राज्य नपुगेको किसानको खेतबारीमा विज्ञ लिएर पुस्तकालय पुग्यो।
गाउँमा गरिबी व्याप्त थियो। केही धनीमानीले गरिबलाई चर्को ब्याजमा ऋण दिन्थे। ऋण तिर्ने भाका पूरा नभए साँवामा ब्याज जोड्थे, ब्याजको पनि ब्याज लिन्थे। पुस्तकालय भवनकै एउटा कोठामा सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन ‘कृषि कल्याण कोष’ सञ्चालन गरियो। कोषले बैंकबाट पैसा ल्याएर सस्तो ब्याजमा गाउँका किसानलाई कर्जा दियो।
यसरी पञ्चायतकालको प्रतिबन्धमा प्रजातन्त्रका पक्षधर संगठित हुन मात्र होइन, नागरिकसँग जोडिन पनि पुस्तकालयले भूमिका खेल्यो। पछि समिभञ्ज्याङस्थित अन्नपूर्ण पुस्तकालयबाट करिब दुई किलोमिटरकै दुरीमा अर्को पुस्तकालय पनि स्थापना भयो– जनचेतना पुस्तकालय।
अन्नपूर्णसँगै खुलेको जनचेतना पुस्तकालयले राजनीतिक गतिविधि धेरै गर्न थालेको भन्दै तत्कालीन प्रशासनले बन्द गर्न आदेश दिएको थियो। अन्नपूर्ण पुस्तकालय कांग्रेस पक्षधरले चलाएको थियो भने कम्युनिस्ट पक्षधरले जनचेतना पुस्तकालय। अन्नपूर्ण पुस्तकालय समितिलाई प्रशासनको नजरबाट अन्तिमसम्मै राष्ट्रिय पञ्चायत सदस्य बनेका लेखनाथले जोगाइदिएका थिए।
पञ्चायतकालमा खुलेर यसरी जिल्लाकै एउटा केन्द्र बनेको अन्नपूर्ण पुस्तकालय प्रजातन्त्र पुनर्स्थापनापछि सुस्ताउँदै गयो। २०४७ सालपछि त पुस्तकालयमा समितिकै सदस्य विस्तारै जान छाडे। पुस्तकालय समितिमा रहेकाहरू जागिर सिलसिलामा बाहिरिन थाले। नयाँ पुस्ताले पनि पुस्तकालय सञ्चालनबारे सोच्न सकेनन्।
पुस्तकालय प्रजातन्त्र आएपछि बन्दै हुन पुग्यो।
२०५० सालसम्म पुस्तकालय लगभग बन्द भइसकेको संस्थापक उपाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार भवन र जग्गाको भने पुस्तकालयकै नाममा लालपुर्जा बनेको छ।
पुस्तकालयको पुस्तक राखिएको ढोका अहिले पनि बन्द छ, ढोकामा लगाइएको चाबी कसैसँग छैन। चाबी फोडेर मात्र पुस्तकालय कोठाभित्र छिर्न सकिन्छ। त्यहाँ छिर्ने चासो कसैलाई छैन।
पचास वर्षअघि स्थापना भएर २५ वर्ष काम गरेको पुस्तकालय बन्द भएको पनि ३० वर्ष पुगिसकेको छ।
पुस्तकालयका संस्थापक उपाध्यक्ष श्रेष्ठले प्रजातन्त्र स्थापना भएपछि राजनीतिक पार्टीभित्र देखिएका विभाजन र गुटबन्दीले पनि असर पारेको बताए। उनका अनुसार, पुस्तकालयका अभियानमा सँगसँगै हिँडेकाहरू पनि विभाजित भए। पुस्तकालय समितिका पुराना पदाधिकारी र सदस्य आ–आफ्नो बाटो लागे।
त्यही अन्नपूर्ण पुस्तकालयका कर्मचारी बनेका व्यक्तिहरू प्रजातन्त्र पुनर्स्थापनापछि जिल्लाको राजनीतिक नेतृत्वमा रहे। सांसद र मन्त्री बने। उनीहरूले पुस्तकालयको हालचाल सोधखोज गरेनन्। खोला तरेपछि लौरो बिर्सिए।
जनचेतना पुस्तकालय भने बेसी दुईपिप्लेमा सारेर पुन:संचालनको जमर्को भइरहेको छ। दुईवटा कोठा भाडामा लिएर पुस्तकालय ब्युँताउन रम्घाका स्थानीय लागिपरेका छन्।
जिल्लामा मात्र नभई देशमै चर्चा कमाएको अन्नपूर्ण पुस्तकालय सञ्चालनमा भने अझै पनि कसैले चासो देखाएका छैनन्। पुस्तकालय भवनमै वडा कार्यालय राखेका वडाध्यक्ष बालकुमार जोशीले गाउँमा युवा पुस्ता नहुँदा चाहेर पनि पुस्तकालय ब्युँताउन नसकेको बताए।
वडाध्यक्ष निर्वाचित भएपछि पुस्तकालयका लागि उनले बजेट विनियोजनसमेत गरेका थिए। तर त्यो बजेट कार्यान्वयन हुन नपाएको उनले बताए।
‘गाउँका धेरै युवा बिदेसिए, गाउँलेहरू सहर झरे, बसाइसराइँ रोक्न सकिएन,’ वडाध्यक्ष जोशीले भने, ‘गाउँ रित्तिएकाले पुस्तकालय ब्युँताउन चाहेर पनि सकेका छैनौं।’
पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथ भने युवा पुस्ताले पुस्तकालय ब्युँताउन सक्ने बताए।
‘हामी बूढो भयौं, रोग पनि लाग्यो, अब सक्दैनौं,’ उनले भने, ‘हामीले पञ्चायतकालमा त पुस्तकालय चलाएर देखायौं, अहिलेका युवा लागे सजिलै ब्युँतिन्छ।’