मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा खण्ड अझै निर्माण सकिएको छैन।
पोखराको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटर खण्डमा अझै १ किलोमिटर कालोपत्र गर्न बाँकी छ। कालोपत्र भएका ठाउँमा पनि सडकमा कोर्नुपर्ने रेखा र राख्नुपर्ने चिन्ह मजदुरले सडकमा कोरिरहेका छन्।
राजमार्गको बीचमा २ देखि ३ मिटर खाली ठाउँ राखिएको छ जहाँ चाइनिज दुबो रोप्न बाँकी छ। दुबोका वरिपरि फूलहरू रोपिनेछन्।
सडकको छेउकुनामा रातिका बेला टल्किने ‘क्याट आई’ राख्न पनि बाँकी नै रहेको मध्यपहाडी राजमार्ग आयोजनाका कास्की, पर्वत र बागलुङ खण्डका प्रमुख नारायणदत्त भण्डारी बताउँछन्।
सडक सुरक्षा र सौन्दर्यका काम बाँकी रहँदै राजमार्गको पोखरा खण्ड यतिबेला भाइरल छ।
सामाजिक सञ्जालमा उक्त सडक खण्डका तस्बिर र भिडिओ हेरेकाहरू मोहित भएका छन्।
‘यो सडक अझै भाइरल हुनेवाला छ,’ भण्डारीले भने, ‘किनकि, ‘सडक सुरक्षा र सौन्दर्यका काम बाँकी नै छन्।’
यस्तै, बजार क्षेत्रमा चोक बनाउन पनि बाँकी छ। चोकमा आकाशेपुल राख्ने योजना बनाएको उनले बताए।
याम्दीदेखि घट्टेखोलासम्मका १२ किलोमिटर उक्त सडकको चौडाइ ३० मिटर छ। ६ लेनमा बनेको यो सडकका दायाँ-बायाँ फुटपाथ र नाला राखिएका छन्।
जेब्राक्रस र सडकको लेन छुट्याउन कोरिएको रेखाले सडकको सोन्दर्य बढाएको भण्डारीले बताए।
याम्दी–घट्टेखोला सडकको याम्दीदेखि अन्नपूर्ण श्रृंखलाका अधिकांश हिमाल देखिन्छन्। सडक हेर्दा हिमालतर्फ सोझिएका देखिन्छन्। फराकिलो सडक अगाडि उभिएका हिमालले सडकको सोन्दर्य थपिएको हेम्जाका स्थानीय आइबहादुर थकालीले बताए।
मध्यपहाडी लोकमार्ग बनाउन थालेपछि पोखरा-बागलुङ सडक खण्डका पुरानो कालोपत्र भत्काइएिको थियो। जसका कारण २ वर्षसम्म सडकका वरिपरिका बासिन्दा मात्र होइन, यात्रु समेत धुलोले आक्रान्त बनेका थिए।
सडकबाट आउने धुलोकै कारण थकालीले घरका सटरमा समेत सिसा राखेका थिए।
सडक कालोपत्र भएपछि हेम्जाबासीले धुलोको सामना गर्नुपरेको छैन। घरअगाडि नै ६ लेनको फराकिलो सडकले बजारको शान बढाइदिएको थकालीले बताए।
मध्यपहाडी राजमार्गको पर्वत कार्यालयले कास्की, पर्वत र बागलुङमा गरी २४० किलोमिटर सडक बनाउँदैछ। जसमा कास्कीको ३३ किलोमिटर सडक खण्ड विवादका कारण ठेक्का लाग्न सकेको छैन भने बाँकी सडक आगामी चैतसम्म निर्माण सकिनेछ।
आयोजनाका पर्वत कार्यालयले लमजुङको भोर्लेटारदेखि बागलुङबाट रुकुमको सीमानासम्मका सडक हेर्दैछ। राजमार्गका सबै ठाउँमा उत्तिकै फराकिलो सडक भने नहुने भण्डारीले बताए।
पोखराकै घट्टेखोलादेखि पर्वततर्फ लागेपछि केही ठाउँमा २ लेन रहनेछ भने पर्वत बजारमा ४ लेन बनाउने योजना छ।
आयोजना अन्तर्गत लमजुङको भोर्लेटारदेखि कास्कीको भगवतीटारसम्म १६ किलोमिटर सडक बनाउन ठेक्का सम्झौता भइसकेको छ। विवादित भनिएको भगवतीटारदेखि पोखराको याम्दीसम्मको क्षेत्रमा भने नयाँ रूटको सम्भाव्यता अध्ययन भइरहेको भण्डारीले बताए।
‘पुरानो डिपिआर गरेको ठाउँबाट सडक लैजान सम्भव देखिएन,’ भण्डारीले भने, ‘विवादित ठाउँमा पोखरा महानगर, प्रदेश सरकार र सडक विभागसँग सल्लाह गरेर नयाँ रूटको अध्ययन गर्दैछौं।’
मध्यपहाडी राजमार्गलाई टिकाउ बनाउन ‘अस्फाल्ट’ प्रविधिमा आधारित कालोपत्र गरिएको छ। संसारमा सबभन्दा बलियो मानिएको यो प्रविधि अमेरिकी प्रविधि हो। मध्यपहाडी लोकमार्गलाई बलियो र सुरक्षित बनाउन अमेरिका र भारतका रोड कंग्रेससँग मिलेर काम गरेको भण्डारीले बताए।
अस्फाल्ट प्रविधि बलियो र टिकाउ हुने भएकाले कालोपत्र गर्न पनि अन्य प्रविधिभन्दा महँगो हुने उनले बताए।
याम्दी–घट्टेखोला सडक १२ किलोमिटर कालोपत्र गर्न २ अर्ब १० करोड रुपैयाँ लागेको उनले जानकारी दिए।
कोरोना महामारी र गएको वर्षातमा लामो समय झरी परेका कारण सडक कालोपत्र गर्न एक वर्ष बढी समय थपिएको आयोजनाले जनाएको छ।
पोखरा बागलुङ सडक २०४५ सालतिर चिनियाँ सरकारको सहयोगमा जग्गाको मुआब्जा दिएर बनेको थियो।
अहिले सडक विस्तार गर्दा कतिपय ठाउँमा स्थानीयले मुआब्जा माग्ने गरेका छन्।
यस्तै, बिजुलीका पोल सार्न नेपाल विद्युत प्राधिकरणले ढिलाइ गरेका कारण पनि आयोजनाको काम केही समय रोकिएको थियो।
मध्यपहाडी राजमार्ग अन्तर्गत याम्दी–घट्टेखोला सडकले आयोजना छिटो सक्न हौसला मिलेको पर्वत कार्यालय प्रमुख भण्डारीले बताए।
‘सडक बनेपछि नागरिकमा देखिएको उत्साहले भरोसा बढाएको छ,’ उनले भने, ‘मध्यपहाडी आयोजना समयमै सकिँदैन, लामो समय अड्किन्छ भनेर कतिपयले आशंका गरेका थिए, काम गरेपछि सकिन्छ भनेर विश्वास बढाएको छ।’
राजमार्गलाई सुरक्षित बनाउन विज्ञहरूसँग सुझाव लिएर काम गरिरहेको समेत भण्डारीले बताए।
मध्यपहाडी राजमार्गको यी तीन जिल्लाका सडक सुरक्षित बनाउन सडक सुरक्षाविज्ञ पदम शाहीसँग परामर्श लिएको उनले बताए। शाहीले राजमार्गको स्थलगत अध्ययन गर्दैछन्।
‘राजमार्गका उकाली, ओराली र घुम्ती मिलाउनुपर्छ, यसले सवारी साधनको स्पिड बढाउँछ,’ सडक सुरक्षा विज्ञ शाहीले भने, ‘राजमार्गमा स्पिड नियन्त्रण गर्न अन्य उपाय अपनाउनुपर्छ।’
राजमार्गमा दुर्घटना कम गर्न सावधानी जगाउने चिन्हहरू राख्ने, ठाउँ-ठाउँमा बेरियर र सडक छेउमा दुर्घटना रोक्ने संरचना बनाउनुपर्ने उनले बताए।
यसका अलवा सवारी चालकलाई नै सवारीको गति नियन्त्रण गर्न प्रोत्साहन हुनेगरी संरचना बनाउनुपर्ने उनले जोड दिए।
जस लिन होडबाजी
मध्यपहाडी राजमार्गका याम्दी–घट्टेखोला सडकको तस्बिर र भिडिओ राखेर विभिन्न राजनीतिक दलका कार्यकर्ताले जस लिन होडबाजी गरेका छन्।
धेरैले उक्त सडक पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको योजना भनेका छन् भने एमालेका कार्यकर्ताले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला बनाइएको बाटो भनेका छन्।
यस्तै, कांग्रेस कार्यकर्ताले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएको भनेका छन् भने माओवादीका कार्यकर्ता अध्यक्ष प्रचण्डको योजनामा उक्त बाटो बनेको भनिरहेका छन्।
सडक विभागका अनुसार उक्त आयोजना कुनै नेताविशेषले भन्दा पनि विभागको योजना अनुसार अघि बढेको जनाएको छ।
मध्यपहाडी राजमार्ग बन्नुअघि पहाडका मानिस पूर्वपश्चिम जानुपर्दा तराईमा रहेको महेन्द्र राजमार्ग पुग्नुपर्थ्यो। यस्तै, पहाडकै एउटा जिल्लाबाट अर्को जिल्लामा जानुपर्दा पनि तराई नझरी उपाय थिएन।
पहाडै-पहाड मेचीदेखि महाकाली जोड्ने सडक थिएन। त्यही अभाव पूरा गर्न सडक विभागकै परिकल्पनामा उक्त सडक बनेको विभागले जनाएको छ।
यस्तै, अहिले हिमाली क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग बनाउन योजना बनिरहेको छ भने तराईमा भारतको सिमाना नजिकैबाट पूर्वपश्चिम जोड्न हुलाकी राजमार्ग निर्माण भइरहेको छ।
यी राजमार्गले नागरिकलाई सुविधा दिने मात्र नभई देशको आर्थिक उन्नतिमा टेवा पुर्याउने विभागले आशा गरेको छ।