सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले अंशबण्डा गरेर श्रीमतीको नाममा घर-जग्गा राखेको पाइएको छ।
सिभिल सहकारी ठगी प्रकरणमा हाल केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका तामाङले श्रीमती सिर्जना शाक्यका नाममा जग्गा राखेको पाइएको हो।
तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराधमा तामाङसहित १२ जनामाथि अनुसन्धान गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ। कीर्तिपुर नगरपालिका-१, ट्याङलाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ।
तामाङलाई प्रहरीले पक्राउ गरेपछि शाक्य फरार छिन्।
यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको छ। सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको छ। तामाङको अरू लगानी कम्पनीहरूमार्फत् भएको विभाग स्रोतले जानकारी दियो।
‘बेलायतमा छोरीहरू पढाउन केही रकम खर्च गरेको देखिन्छ,’ विभागका एक अधिकारीले भने।
सात वर्षयता उनले ११ करोड रुपैयाँ ती कम्पनीबाट तलब-भत्ता र सेवा सुविधाबापत् लिएका छन्। राष्ट्र बैंकबाट विवरण माग्दा श्रीमती शाक्यको नाममा बैंक मौज्दात खासै नदेखिएको विभागका ती अधिकारीले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोले भने सम्पत्तिको छुट्टाछुट्टै विवरण आउन बाँकी रहेको जानकारी दियो।
‘हामीले छुट्टाछुट्टै रूपमा उनी, उनीनिकटका व्यक्तिहरूसँग कहाँ के सम्पत्ति छ भन्ने विवरण मगाएका छौं, त्यो विवरण प्राप्त भइसकेको छैन,’ ब्युरो निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने।
तामाङविरूद्ध अनुसन्धान अन्तिम चरणमा छ। उनीविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ।
सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको ब्युरोले त्यस बराबर बिगो तयार पारेको छ।
एक साताभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी ब्युरोको छ। तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।
हालसम्म उनीहरूविरूद्ध १३ सय ७५ जनाले जाहेरी दिएका छन्। ती जाहेरी र सहकारीमाथि अनुसन्धान गर्दा तामाङ तथा उनका परिवारले २१ वटा कम्पनीका नाममा सहकारीको झन्डै ६ अर्ब रुपैयाँ ऋण निकालेको पाइएको छ।
त्यो ऋण वर्षौंदेखि सहकारीमा दाखिला नगरेको अनुसन्धानले देखाएको छ। तामाङले सहकारीबाट ऋण निकालेर लगानी गरेको सिभिल होम्समा २०६३ पछि ११ सयवटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ।
ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्बजति हुन्छ। तर त्यो बिक्रीको पैसा तामाङले सहकारीको ऋण तिर्न प्रयोग गरेनन्।
तामाङले त्यो सम्पत्ति आफूले अन्य कम्पनी स्थापना गर्दा खर्च गरेको बयान दिएका छन्। त्यसमा चित्त बुझाउने ठाउँ नरहेको ती अधिकृत बताउँछन्।
तामाङको केही शंकास्पद कारोबार विदेशतिर भएको सूचनाका आधारमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
अंशबण्डा गरेर तामाङले श्रीमतीका नाममा सम्पत्ति राखेको पाइएको ब्युरोले जनाएको छ। ब्युरोको अनुसन्धानमा २०७० सालअघि नै करिब चार अर्ब ऋण सहकारीबाट निकालेको देखिएको छ। पछि थप्दै ६ अर्ब पुर्याएको देखिएको छ।
त्यो पैसा लगानी भएका कम्पनीहरूले राजश्व न्यायाधिकरणमा कारोबार घाटामात्र देखाएका छन्। त्यही अवधिमा ११ अर्बको कारोबार भएको सिभिल होम्सले पनि घाटा नै देखाएको छ।
विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको छ।
सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।
तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।
तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।
बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो।
२०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।
२०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदो देखिन्छ। उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो।
तामाङले सिभिल सहकारीमा रहेको निक्षेप आफ्ना कम्पनीहरूमा प्रवाह गर्दा कानुन प्रतिकूल पनि निर्णय गरेको देखिएको अधिकारीहरू बताउँछन्।
तामाङ २०७० सालमा एमाले पार्टीबाट दोस्रो संविधानसभा सदस्य बनेका थिए। २०७४ सालमा सहकारी ऐन संशोधन हुँदा उनी मस्यौदाकार थिए। स्वार्थको द्वन्द्व हुँदाहुँदै पनि तामाङ आफू मस्यौदाकार बनेर आफूअनुकूल कानुन संशोधनमा संलग्न भएको आरोप लागेको थियो।
सम्बन्धित समाचार :