पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको ७ वर्ष बित्यो।
यतिका वर्ष बित्दा समेत अस्पताल प्रशासनले न नयाँ मेसिन ल्याउन सक्यो, न त पुरानै मेसिन बनाएर चलाउन। परिणाम, बिरामी सिटी स्क्यान गर्न अन्य निजी अस्पताल धाउन बाध्य भए, विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्न पाएनन्।
उक्त अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गण्डकी प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पताल हो।
प्रदेशभरका अन्य सरकारी र निजी अस्पतालमा उपचार हुन नसकेका बिरामी यही अस्पतालमा रिफर हुन्छन्। जिल्ला जिल्लाका अस्पतालमा समेत पुगेको सिटी स्क्यान मेसिन रिफरल अस्पतालमै नहुँदा बिरामी थप मर्कामा परेका छन्।
अस्पतालमा आएका बिरामीको सिटी स्क्यान गर्न आवश्यक परे बाहिरका अन्य अस्पतालमा सिटी स्क्यान गर्न पठाउने गरेको छ।
स्वास्थ्य बीमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए। जबकि, ती अस्पताल निकै महँगा छन्।
स्वास्थ्य बीमा नगरेका बिरामीको सिटी स्क्यान गर्न भने जुनसुकै अस्पतालबाट भए पनि सिटी स्क्यान गरेर ल्याउन आग्रह गरिएको डा. खत्रीले बताए।
‘सिटी स्क्यान आवश्यक पर्यो भने हामी बिरामीलाई अनुरोध गर्छौं,’ उनले भने, ‘बीमा गरेका बिरामीको मणिपाल र गण्डकीमा नि:शुल्क हुन्छ, अरू बिरामीले आफूखुसी अस्पताल पुगेर सिटी स्क्यान गरेर ल्याउनुहुन्छ।’
प्रदेशकै ठूलो अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा रेडियो डायग्नोसिस विषयमा एमडी अध्ययन गर्दै गरेका विद्यार्थी समेत मर्कामा परेका छन्।
उक्त विषय अध्ययन गर्दा सिटी स्क्यान मेसिन अनिवार्य आवश्यक रहेको अस्पतालका डाक्टर बताउँछन्।
रेडियो डायग्नोसिस विषय पढाइ सुरू भएको एक वर्ष बितिसक्दा समेत अझै आवश्यक उपकरण उपलब्ध नभएको एक विद्यार्थी डाक्टरले बताए।
रेडियो डायग्नोसिस पढ्न सिटी स्क्यान मेसिनसँगै एमआरआई र भिडिओ एक्स–रे आवश्यक पर्छ। अस्पतालमा अहिले एमआरआई र भिडिओ एक्स–रे मेसिन भने सञ्चालनमा छ।
सिटी स्क्यान मेसिन नहुँदा बिरामी र विद्यार्थी मर्कामा परेका हुन्।
अस्पतालमा नयाँ सिटी स्क्यान मेसिन खरिद अघिल्ला वर्षमा बजेट अभाव भएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए।
२ वर्षअघि नै सिटी स्क्यान मेसिन किन्न सरकारसँग बजेट माग गर्दा ६ करोड रुपैयाँ प्राप्त भएको उनले बताए।
उक्त रकम सिटी स्क्यान मेसिन किन्न अपुग भएको डा. खत्रीको भनाइ छ।
सरकारले गत वर्ष थप ३ करोड बजेट दिएपछि अहिले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढेको छ।
सिटी स्क्यान मेसिन किन्न ७ करोड रुपैयाँमा टेण्डर सम्झौता भइसकेको छ। गत असारमै तीन महिनाभित्र सिटी स्क्यान मेसिन ल्याउने शर्तमा फिलिक्स कम्पनीसँग सम्झौता गरिसकेको निर्देशक डा. खत्रीले बताए।
अस्पताल र फिलिक्स कम्पनीबीच सम्झौता भएको पनि करिब ५ महिना पुगेको छ। कम्पनीले अझै ३ महिना लाग्ने जनाउ दिएको छ।
अस्पताल निर्देशक डा. खत्रीका अनुसार सिटी स्क्यान मेसिन ल्याउन अस्पतालले कम्पनीलाई सम्झौता अनुसार भुक्तानी पनि दिएको छ।
‘नेदरल्याण्डबाट मेसिन ल्याउँदा अनेक अड्चन देखिएको छ, कहीँ अझै बन्द छ,’ निर्देशक डा. खत्रीले भने, ‘कोरोना महामारी र अनेक कारणले गर्दा मेसिन ल्याउन कम्पनीले अझै ३ महिना लाग्छ भनेको छ।’