मुस्ताङको थासाङ गाउँपालिका-२ मा आइतबार बिहान एकाएक त्रास फैलियो। हिमालबाट झर्दै गरेको हिउँले बादलको रूप लिएपछि स्थानीय विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूको भागाभाग भयो।
उनीहरूले सुरूमा हिउँ बग्दै गरेको देखेका थिए। हेर्दाहेर्दै हिउँको थुप्रो बादलजस्तै देखियो र हावामा मिसिएर तीव्र गतिमा गाउँसम्मै आइपुग्यो। वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार हिमपहिरोले यहाँको जंगलै सखाप पारेको छ। भागदौडमा केही विद्यार्थी घाइते भएका छन्।
'आकाशबाट बादलको थुप्रो झ्याम्म खसेजस्तो हिउँको एउटा ढिस्को नै खस्यो। कति खस्यो थाहा छैन,' हिराचनले सेतोपाटीसँग भने, 'धौलागिरी हिमालसँगै अर्को चुचुरो छ, त्यसलाई हामी मानापाथी हिमाल भन्छौं। पहिरो गएको त्यहीँ हो।'
विगतमा पनि सानोतिनो पहिरो जाने गरेको भए पनि यसपटक ठूलै ढिस्का खसेको उनले बताए।
'यसपटकको पहिरो देखेर ८०/९० वर्षका बुढापाकाहरू यस्तो त जिन्दगीमै कहिल्यै नदेखेको भनिरहेका छन्,' हिराचनले भने, 'मलाई सम्झना भएसम्म २०३०-३५ सालतिर ठूलो हिमपहिरो आएको थियो। त्यतिबेला पनि चौंरीहरू मरेका थिए। मानवीय क्षति भएको थियो।'
हिमाली क्षेत्रमा जाने पहिरो लगायत प्राकृतिक प्रकोपको अध्ययन सामान्यतया स्याटलाइट तस्बिरका आधारमा गरिन्छ। त्यही स्याटलाइट तस्बिरको तुलनात्मक अध्ययनबाट विज्ञहरू त्यसको कारण पत्ता लगाउन खोज्छन्। जलवायु परिवर्तनले ल्याएका विभिन्न प्रकारका क्षणिक घटना र पृथ्वीको तापक्रम वृद्धिले यस्ता विपत बढाइरहेको विज्ञहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जनकुमार दाहालका अनुसार स्याटलाइट तस्बिरहरूको अध्ययनबाट नेपालको हिमाली क्षेत्रमा सन् २०६० देखि २१०० को बीचमा पहिरोका घटना ९० प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ।
कसरी आउँछ हिमपहिरो?
नेपालको ५ हजार मिटरमाथिका भू-भागमा बाह्रै महिना हिउँ जमेर बसेको हुन्छ। हिउँ पर्ने मौसम सुरू भएपछि त्यस्ता भू-भागमा हिउँमाथि हिउँ थपिँदै जान्छ। हिमाली क्षेत्रका उपत्यका वा खोँच पनि हिउँले भरिएका हुन्छन्। त्यस्ता ठाउँमा हिउँ पर्ने, जम्ने र बग्ने क्रम निरन्तर चलिरहन्छ। यसरी जम्मा भएको हिउँको थुप्रोले सन्तुलन गुमाउनु नै हिमपहिरोको प्रमुख कारण हो।
विज्ञहरूका अनुसार जब ठूलो हिउँको थुप्रोले सन्तुलन गुमाउँछ, तब त्यो खस्न थाल्छ। यसरी खस्दा हिमाली क्षेत्रको भिरालो भू-भागमा त्यसले कम समयमै एकदमै तीव्र गति लिन्छ।
हिमपहिरोलाई हिमआँधीकै एउटा रूप मानिन्छ। हिमआँधी दुई प्रकारका हुन्छन्। मुस्ताङमा आइतबार आएजस्तो सानो र सुख्खा हिउँको तह तीव्र गतिमा तल खस्दै बादलको रूप लिने हिमआँधी एउटा हो। यस्तो हिउँको थुप्रो हावामा उच्च गतिले फैलिन्छ। यसको गति ३२० किलोमिटर प्रतिघन्टासम्म हुनसक्छ।
भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीका अनुसार भर्खर परेको हिउँको घनत्व ०.०१ ग्राम प्रतिघनसेन्टिमिटर हुन्छ। धेरै समय हिउँ जमेर खाँदिएर बनेको बरफ ०.९१७ ग्राम प्रतिघनसेन्टिमिटर हुन्छ।
'हिउँको माथिल्लो तहले सन्तुलन गुमाउँदा हलुका हिउँ बादलजस्तै उड्छ। ठूलो हिमपहिरो आएको अवस्थामा त्यसले हिमबाढीसमेत सिर्जना गर्छ,' उनले भने।
अर्को प्रकारको हिमआँधी भने खाँदिएर बसेको हिउँको एउटा तहले सुन्तलन गुमाउँदा आउँछ। यसले ठूलो आँधीको रूप लिन्छ र कतिपय अवस्थामा हिमाल आरोहीहरूको ज्यानसमेत जान सक्छ।
हिमपहिरोको सुरूआतमा हिउँ मात्रै खस्ने भए पनि जति तल झर्छ, त्यसले ढुंगा, माटो लगायत गेग्रान पनि सँगसँगै लैजान्छ। मुस्ताङको हिमपहिरोमा सुरूमा सफा बादलजस्तै हिउँ देखिएको थियो। तल आइपुग्दा माटो पनि मिसिएको देखिन्छ।
उच्च हिमालमा हिउँ थुप्रिएर चोइटिने कारणले मात्र हिमपहिरो जाँदैन। पछिल्ला अध्ययनले हावाका कारण समेत हिमपहिरो जाने देखिएको छ। हिमालमा भएका ढुंगाहरू हावाले उडाउने र त्यस्तो ढुंगा हिउँमा खस्दा पहिरो जान थालेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दाहाल बताउँछन्।
बढ्दो तापक्रमले पनि हिउँ पग्लन थालेको र यसले पहिरोका घटनामा बढोत्तरी हुने देखिएको छ। त्यस्तै, हिमाली क्षेत्रमा पानी पर्दा हिउँ पग्लने र त्यसले पहिरो निम्त्याउने घटना बढ्दो छन्।
मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीसहित तीन जनाले सन् २०२० मा गरेको अध्ययनअनुसार धेरैजसो हिमपहिरोका घटना पुसदेखि वैशाखसम्म हुने गर्छन्। यस्ता घटना ३० देखि ३५ डिग्रीको भिरालो क्षेत्रमा ९० प्रतिशत हुने गरेका छन्। त्यस्तै, २५ डिग्रीदेखि ५० डिग्री भिरालोपना भएको ठाउँमा ९८ प्रतिशत यस्ता घटना हुन्छन्।
अन्नपूर्ण र धौलागिरी क्षेत्रमा हिमआँधी र पहिरोका घटनामा परेर सन् २०१४ मा ४३ जनाले ज्यान गुमाएका थिए। त्यति बेला हुदहुद चक्रवातले १२ घन्टाभित्रै झन्डै दुई मिटरसम्म हिउँ जमेको थियो।
यी पनि हेर्नुहोस्: