मोरङको बुढीगंगा गाउँपालिका गंगाचोकबाट करिब डेढ किलोमिटर पूर्वमा पर्छ-यादव टोल।
गाउँभरि चिकित्सक नै चिकित्सक रहेको हल्ला सुनेपछि यादव टोलले हामीलाई तानेको थियो। त्यसैले गंगाचोकबाट भित्र लागेपछि सोध्दैसोध्दै पुग्यौं।
गाउँका अधिकांश मान्छे खेतबारीमै व्यस्त देखिन्थे।
'यादव टोल यही हो?,' टोलको बाटोमा कतै गइरहेका एक जनालाई सोध्यौं।
उनले 'हो' भन्ने स्वीकृतिसूचक टाउको हल्लाए।
'यो टोलमा धेरै जना डाक्टर हुनुहुन्छ भन्ने सुनेका थियौं। कुनै चिकित्सकको परिवार भेट्न सकिएला? प्रश्न झर्न नपाउँदै मुसुक्क हाँस्दै उनले भने, 'मेरै भाइ पनि डाक्टर हो नि!'
खोजेकै जस्ता व्यक्ति फेला परेपछि गाउँ घुम्न आउनुको उद्देश्य सुनायौं। उनी खुल्न थाले। उनको नाम जयराम यादव रहेछ, पूर्णकालीन किसान।
'जाऊँ न त घरमै बसेर कुरा गरौं,' यति भनेर जयराम घरतिर लाग्दै थिए। बाटो किनारैको खेततिर हेरेर उनी कराए, 'काका...।'
उनले आफ्नै भाषामा काकालाई घरतिर बोलाए।
'उहाँ पनि एक जना डाक्टरको बाबु हो,' जयरामले चिनाइदिए।
उनका काका योगेन्द्र यादव। उनले खेत बैंकमा राखेर ऋण लिएर छोरालाई एमबिबिएस पढाएका रहेछन्। पछि ऋण बढ्दै गएपछि जग्गा बेचेर छोरा पढाएछन्।
'एमबिबिएस सकाउँदा चानचुन ४० लाख सकियो,' ७० वर्षे योगेन्द्रले हिँड्दाहिँड्दै सुनाए, 'अब एमडी गर्ने तयारीमा छ।'
उनका अनुसार छोरा सरोज अहिले बुढीगंगा गाउँपालिकामा करारमा काम गर्दै स्नात्तकोत्तर तहको तयारी पनि गरिरहेका छन्।
यी काका भतिजसँग गफिँदै अघि बढिरहँदा एक जना अधबैंसे बाइकमा हुइँकिँदै आए। जयरामले उनलाई पनि बाटैमा रोके।
'एकछिन पख्नु न उहाँहरू कुरा गर्ने रे!'
बाइक उनले एउटा घरभित्र छिराए।
'आउनुस्, यतै बसेर कुरा गरौं,' उनले आफ्नै घरभित्र बोलाएका रहेछन्। उनको नाम सतनारायण यादव रहेछ। उनी पनि खेतीपातीमै व्यस्त हुँदा रहेछन्। पुर्ख्यौली सम्पत्तिमा प्राप्त दुई विघा जमिनमध्ये १० कठ्ठा बेचेर उनले पनि भाइ सुबोधलाई चिकित्सक पढाएका रहेछन्।
'एमबिबिएस चीनबाट गरेर अहिले एमडीको तयारी गर्दैछ,' सतनारायणले सुनाए, 'काठमाडौंमा बसेर केटो तयारी गर्दैछ।'
यादव टोलको बाटामा भेटिएजति व्यक्ति सबै चिकित्सकका अभिभावक!
यो टोलका हरेकजसो घरमा पाइने समानता भनेको आँगनमा फैलिरहने भकारोको गन्ध हो। गोठमा दुई चार माउ गाई र परिवारका बहुसंख्यक सदस्य खेतबारी र तिनै चौपायाको स्याहारमै भिडिरहेका भेटिनु पनि अर्को समानता हो।
पूरापूर खेती किसानीमा रमाइरहेका यो टोलका एक दर्जनभन्दा बढी परिवारमा पाइने अर्को पनि समानता भनेको उनीहरुमध्ये कसैका सन्तान चिकित्सक रहेछन्, कोही हुने क्रममा र कोही चिकित्सक बन्ने तयारीमा लागेका रहेछन्। कसैले पढेर चिकित्सक नै बन्ने सपना देखिरहेका छन्।
अधिकांश किसान र निरक्षर अभिभावकका सन्तानमा चिकित्सक बन्ने भोकको आगो यसरी सल्किएको देखिन्छ कि, घरैपिच्छेजसो कोही न कोही डाक्टर छन्। त्यसैले मोरङ बुढीगंगा गाउँपालिका १ को यादव टोल अचेल डाक्टर जन्माउने गाउँका रूपमा प्रख्यात हुँदै गएको छ।
यसको अनुभव स्थानीयवासीलाई पनि हुन थालेको छ।
'हाम्रो गाउँलाई डाक्टर गाउँ भन्न थालेका रहेछन् अचेल,' सबैभन्दा पहिले बाटामा भेटिएर गफिन तयार बनेका जयराम यादवले सुनाए, 'हुन पनि हाम्रै टोलमा अहिलेसम्म २४ जना डाक्टर भइसके। अरू आठ-दस जना पनि त्यहीँ पढ्ने तयारीमा छन्।'
गाउँमा एउटा-दुइटा घरमा, एक दुई जना डाक्टर बन्नु अनौठो होइन। तर, गाउँका कम्तीमा १२–१५ घरका अधिकांश सन्तान डाक्टर बनेको घटना रोचक वास्तविकताका रूपमा यहाँ उपस्थित छ। गाउँका हरेकजसो घरका सदस्य कसरी बने त डाक्टर?
'यो सबै बाबुप्रसाद काकाको परिवारले देखाएको बाटो हो,' सतनारायण यादवले भने, 'उहाँको परिवारमा धेरै जना पहिल्यै डाक्टर बनेका थिए। उहाँकै प्रेरणाले गाउँका अरूलाई पनि डाक्टरी पेसातिर डोर्यायो।'
उनका अनुसार छिमेकका काका र दाइले पढ्न सकेको विषय हामीले किन नसक्ने भन्ने भाव यहाँका ती विद्यार्थीमा पलायो, जो अहिले चिकित्सक छन्।
'विस्तारै त्यतातिर लाग्नेहरू थपिँदै गए,' सतनारायणले थप्दै गए, 'हुँदाहुँदा अहिले २४ जना त डाक्टर नै भइसके। अरू आठ-दस जना पढ्ने तयारीमा लागेका छन्।'
सतनारायण र गाउँका उनीजस्तै अभिभावक र विद्यार्थीमा चिकित्सा शिक्षाको भोक जगाउने बाबुप्रसादलाई भेट्न सकिएला भन्ने सेतोपाटीको जिज्ञासालाई सतनारायणले तत्कालै हल गरिदिए।
उनले पनि उही भाकामा भने, 'काका।'
एकैछिनमा सतनारायणको आँगनमा आइपुगे बाबुप्रसाद यादव।
सतनारायण र जयरामले गफको विषय सुनाएपछि उनी उत्साही देखिए। ६८ वर्षीय बाबुप्रसादको परिवारमा झन् धेरै चिकित्सक रहेछन्।
उनका छोराहरू राजेश, रमेश र अनिल तीनै जना चिकित्सक रहेछन्। बाबुप्रसादका भाइ शितल, उनका जेठा छोरा सुशील, कान्छा सुनिल दुवैजना डाक्टर भइसकेका छन्। डा. शितलका दुवै बुहारी पनि भानुप्रिया र नितु यादव पनि चिकित्सक नै रहेछन्।
'मेरो त परिवारमै आठ जना डाक्टर छन्,' बाबुप्रसादले सुनाए, 'तिनीहरुले सफलता पाएको देखेपछि गाउँका अरु भाइछोराछोरी पनि प्रेरित भए।'
पूरापूर किसान परिवारबाट आठ–आठ जना चिकित्सक उत्पादन भएको कथा झन् रोचक रहेछ। बाबुप्रसादले परिवारका चिकित्सकहरु उत्पादनको कथा सुनाए।
उनका कुरा सुन्दा लाग्थ्यो, 'विख बिनाको सर्प र इख बिनाको मान्छे काम लाग्दैन' भन्ने उखानलाई उनले कुनैबेला आफ्नो जीवन दर्शन बनाएका रहेछन्। उनको जीवनमा सबैभन्दा प्रभाव पारेको र उनले व्यवहारिक रूपमै पछ्याएको लाइन यही थियो।
मोरङ बुढीगंगा गाउँपालिका १ का बाबुप्रसादका लागि कसैले चुनौती दिएको थियो, 'हिम्मत भए आफ्ना सन्तानलाई डाक्टर बनाएर देखाऊ।'
यो २०३५ सालताकाको कुरा हो। बाबुप्रसादलाई यस्तो चुनौती उनकै एक नातेदारले दिएका थिए, जसलाई चिकित्सक बनाउन उनले आफ्नो करिअर नै भुलेका थिए।
महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट व्यवस्थापनमा स्नातक गरेर घरखेतमै व्यस्त बाबुप्रसादलाई जब त्यो चुनौती आयो उनले पनि झोंकमै भनिदिए, 'मैले मेरा सन्तानलाई डाक्टर बनाउन सकिनँ भने मेरा जुँगा काटेर तिम्रो हातमा राखिदिउँला।'
परम्परागत यादव परिवारमा 'जुँगा' को प्रतिष्ठा त्यसबेला 'उच्च' थियो।
'मेरा दुई जना छोरा त्यसबेला बल्ल हुर्किँदै थिए,' उनले पुराना दिन सम्झिए, 'एक न एक जनाले त कसो नपढ्ला भन्ने थियो।' उनका अनुसार २०४१ सालपछि परिवारमा कान्छा छोरा पनि थपिए।
बाबुप्रसादका हजुरबुबा बहुजन यादव पहिल्यै भारतबाट तत्कालीन टंकीसिनवारी –३ मा आएर बसोबास थालेका थिए।
'हाम्रो घरमा वि. सं. १९९२ मै जग्गाको तिरो तिरेको रसिद मैले भेटेको थिएँ,' बाबुप्रसादले सुनाए, 'त्यसपछि २००० सालमा हजुरबुबाले एक हजार रूपैयाँ बिघाले १४ विघा जमिन किन्नुभएको रहेछ।'
उनका अनुसार हजुरबुबा र बुबा दुवै निरक्षर थिए। घरमा सात–आठ हल गोरू/राँगा थिए।
'छोरा नातिलाई पढाउनुपर्छ भन्ने लागेर उहाँहरूले हामीलाई पढाउनुभयो,' विराटनगरको आदर्श विद्यालय पढेका उनले सुनाए, '३० सालदेखि बुबा बिरामी पर्नुभयो। त्यसपछि घरव्यवहार मेरो काँधमा आयो।'
घर व्यवहार भन्नु खेतीपाती थियो, त्यो र पढाइ सँगै अघि बढाएका उनले बि.कम. सम्म अध्ययन पूरा गरे।
त्यो बेला भारतीय दूतावासको सहयोगमा चिकित्सा शिक्षा अध्ययनका लागि फारम खुलेको थियो। उनले आफ्ना एक जना नातेदारका लागि विराटनगरमा गएर मातृकाप्रसाद कोइरालालाई भेटे। त्यसको उद्देश्य बाबुप्रसादका नातेदारलाई सिफारिस गराउनु थियो।
'कोलम्बो प्लानमा पढ्न कसैको सिफारिस चाहिन्थ्यो। त्यसैले मातृकाबाबुलाई गुहार्न पुगेका थियौं। उहाँले सिफारिस गरिदिनुभयो अनि त्यसपछि उसले चिकित्सा शिक्षा पढ्न पायो,' उनले भने।
बाबुप्रसादका ती नातेदारले जब चिकित्सा शिक्षा पढिसिध्याए त्यसपछि उनले अलि नराम्रो शब्द गरेको उनले सुनाए।
'एक दिन उसले मैले मेरो क्षमताले पढेको हो, हिम्मत भए आफ्ना सन्तानलाई चिकित्सक बनाएर देखाउन मलाई चुनौती दियो,' उनले भने, 'अनि मैले पनि जुँगा काटेर राखिदिने घोषणा गरेँ।'
त्यसपछि उनले यो घोषणाबारे आफ्ना जेठा छोरा राजेशलाई सुनाए। नभन्दै राजेशले यति राम्रो पढ्दै गए कि, उत्कृष्ट अंक ल्याएर उनी चिकित्सा शिक्षा अध्ययनतिर लागे। अहिले फर्माकोलोजिष्टका रूपमा विराटनगरकै नोवेल अस्पतालमा कार्यरत डा. राजेशले एमबिबिएस बंगलादेश र एमडी पोखरास्थित मणिपालबाट सिध्याएका हुन्।
बाबुका माइला छोरा डा. रमेश बालरोग विशेषज्ञका रूपमा विराटनगरकै विराट टिचिङ अस्पतालमा कार्यरत छन्। कान्छा छोरा अनिल बंगलादेशमा रेडियोलोजीमा स्नात्तकोत्तर गरिरहेका छन्।
'अबको दुई महिनाभित्रमा ऊ स्वदेश फिर्दैछ,' डाक्टरका बा भनेर गाउँमा चिनिने बाबुप्रसादले सन्तुष्ट स्वरमा भने, 'आएर आफ्नो काम गर्ला।'
तीन जना छोरालाई चिकित्साशास्त्र पढाउँदाको सकस भने बयानगरी साध्य नभएको उनले सुनाए।
'कतिबेला पैसा चाहिन्छ पत्तो नहुने त्यहीँ भएर मैले मेरो ६ बिघा जमिन बेचेर उनीहरूको खर्च बेहोरेँ,' अहिले पनि नौ बिघा जग्गाका धनी बाबुले सुनाए, 'छोराहरूको पढ्ने रहर थियो। मलाई पनि कसैगरी उनीहरूलाई डाक्टर बनाउनु थियो। त्यसैले जग्गा बेचेरै उनीहरूलाई पढाएँ।'
यसरी बाबुप्रसादले तीन छोरा, उनका भाइ शितलले आफू र दुई छोरालाई चिकित्सक बनाएपछि गाउँमा बेग्लै माहोल छाएको उनीहरुको बुझाइ छ।
'डाक्टर बन्न विशेष क्षमता चाहिन्छ भन्ने कुरा गलत हो,' बाबुप्रसादले भने, 'मेहनत गरेर पढाइमा ध्यान दिए जो पनि हुनेरहेछ।'
त्यसको प्रमाणका रूपमा उनले गाउँकै एक जनाको उदाहरण दिए, जसको एसएलसी थर्ड डिभिजन थियो। तर, आइएससीमा राम्रो अंक ल्याएर एमबिबिएस गरेका उनले उत्तिकै राम्रो अंकसहित एमडी गरिसकेका छन्। ती पात्रका बारे भने उनले थप केही खुलाएनन्।
हुनेखाने किसान परिवारका सदस्यका रूपमा हुर्केका बाबुप्रसादका जेठा छोरा डा. राजेश बुबाले जग्गा बेचेरै भए पनि आफूलाई पढाउने हिम्मत देखाउँदा तीन जना दाजुभाइको चिकित्सक बन्ने सपना पूरा भएको बताउँछन्।
'बुबाले हामीलाई जसरी पढाउनुभयो, गाउँमा काका दाइहरूले पनि त्यही शैली पछ्याउनुभयो,' राजेशले भने, 'भाइबहिनीले पनि मेहनत गरे। त्यही भएर हाम्रो टोलमा यतिधेरै चिकित्सक उत्पादन सम्भव भयो।'
जम्मा दुई-अढाइ बिघा जमिन भएका योगेन्द्र यादवका छोरा सरोज र दुई बिघा जमिन भएका सतनारायणका भाइ सुबोधलाई दुवै परिवारले चीनमा पढ्न पठाएको थियो।
'उनीहरूलाई पढाउँदा एक जना बराबर ४० लाख खर्च भयो,' योगेन्द्रले भने, 'हामीले जग्गा बेचेरै पढायौं।'
अहिले योगेन्द्रलाई गाउँमा 'डाक्टरको बाबु' भनेर अरूले भनिदिँदा गौरव लाग्ने सुनाए।
'हामीले पढेनौं, खेतबारीमा जिन्दगी बितायौं,' योगेन्द्रले भने, 'तर, छोरालाई डाक्टर बनाएकामा खुसी लाग्छ। हामीले गर्दा गाउँका अरूले पनि त्यसै गरे। अहिले गाउँभरी डाक्टरै डाक्टर छन्। खुसी लाग्छ।'
भाइलाई डाक्टर बनाउन जग्गा बेचेर आफू खेतीमै सक्रिय रहेका सतनारायणका अनुसार गाउँका करिब १० जना नयाँ विद्यार्थी अहिले काठमाडौंमा बसेर चिकित्सा शिक्षा अध्ययनको तयारी गरिरहेका छन्।
'हाम्रो गाउँमा सबै किसान हुन्, हामी दिनरात खेतबारीमै हुन्छौं,' उनले भने, 'तर गाउँका सिनियरले जुन सफलता पाए त्यो नयाँ पुस्ताका लागि प्रेरक हुँदोरहेछ। त्यही प्रेरणाले यहाँका धेरै विद्यार्थी चिकित्सा शिक्षातिर लागेका हुन्।'
सतनारायणलाई पनि कुनै बेला डाक्टर बन्न विछट्टै प्रतिभा चाहिएला जस्तो लाग्थ्यो। विद्यार्थीको मेहनत र लगन अनि अभिभावकको साथ भए जस्तोसुकै परिवारका सदस्यले पनि डाक्टरी पढ्न सक्ने उनको बुझाइ छ।
'म आफैंलाई पहिला डाक्टर धनाढ्य परिवारका सदस्यले मात्रै पढ्ने पेसा हो जस्तो लाग्थ्यो,' उनले सुनाए, 'तर छिमेकमै, आफन्तमै आफू जस्तै किसान परिवारका सदस्यले धमाधम डाक्टरी पढेपछि हाम्रो परिवारमा पनि आत्मविश्वास पलाएको थियो।'
उनका अनुसार त्यो आत्मविश्वासले पढ्न हिम्मत दिएको थियो।
'मेरो भाइ ज्यादै ट्यालेन्ट पनि थिएन, नजान्ने लद्दू पनि थिएन,' उनले भने, 'यति हो, पढाइमा ज्यादै मेहनति र लगनशील थियो। त्यसैले उसले निरन्तर सफलता पाउँदै गयो।'