शिवम् भीरामुथु, उमेर ४४ वर्ष।
भारतको चेन्नई र मलेसियाको क्वालालम्पुर घर बताउने भीरामुथुले गत फेब्रुअरीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोबाइलमा मेसेज पठाए।
‘एमालेको एउटा समूहलाई साथमै लिएर सरकार गिराउने कार्यमा सफलता प्राप्त गर्नु भएकोमा बधाई छ।’
प्रचण्डले तुरून्तै जवाफ फर्काए- धन्यवाद! चाँडै भेटौंला।
भीरामुथुले प्रचण्डसँग सम्बन्ध बनाउँदा आफू अन्तर्राष्ट्रिय रेडक्रस कमिटीको निर्देशक भएको बताएका थिए।
भीरामुथुले शेरबहादुर देउवालाई उनी प्रधानमन्त्री नियुक्त भएको बेला एसएमएस पठाए- बधाई छ।
देउवाको नम्बरबाट पनि तुरून्तै जवाफ आयो- धन्यवाद!
देउवासँग दोहोरो सम्बन्ध बनाउँदा भीरामुथुले आफूलाई रेडक्रस र सिंगापुरस्थित मिलेनियम ग्रुपको निर्देशक भनेर चिनाएका रहेछन्।
भीरामुथुले पहिलो लकडाउन बेला स्वास्थ्य मन्त्रालयबाट निस्फिक्री हिँड्न पास बनाए- रेडक्रसको डिजास्टर डाइरेक्टरका रूपमा।
रेडक्रसका लागि काम गरेको भनी तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट उनले प्रशंसा पत्र नै लिए।
विभिन्न परिचय दिएर नेपालका भिआइपीसँग सम्बन्ध बनाउने यी भीरामुथु अहिले भने प्रहरीको हिरासतमा पुगेका छन्।
उनले जति पनि भिआइपीलाई अन्तर्राष्ट्रिय रेडक्रस र मिलेनियम ग्रुपको डाइरेक्टर भनेर चिनाएका थिए, ती सबै झुठा हुन् भन्ने उनी पक्राउ परेपछि क्रमश: खुल्दै गएको छ।
‘अन्तर्राष्ट्रिय रेडक्रस कमिटीको निर्देशक भनेपछि प्रचण्ड र देउवाले सहजै भेट दिएको, दोहोरो कुराकानी हुने गरेको, सम्बन्ध स्थापित गरेको देखाउँछ,’ महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृत भन्छन्, ‘यिनले नेपालमा बसेर साधारणदेखि भिआइपीसम्मलाई ठगेको हाम्रो अनुसन्धानले देखाउँछ।’
भीरामुथुले अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनेर गृहसचिव टेकनारायण पाण्डेसँग पनि सम्बन्ध बनाएका रहेछन्।
कहिले मोरङ, कहिले सिरहातिर पुगेर त्यहाँका सिडिओलाई भेटघाटका लागि फोन गरिदिन पाण्डेलाई अह्राउँदा रहेछन्।
‘गृहसचिवले फोन गरेर सिडिओलाई भेटघाट र कामको सहजीकरणका लागि भन्दिनुभएको पनि देखिन्छ,’ ती अधिकृत भन्छन्।
भीरामुथु पछिल्लो समय ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका एक जना डाक्टरलाई पचास लाख ठगी गरेको अभियोगमा प्रहरीको हिरासतमा पुगेका हुन्।
महाशाखाका अनुसार ती डाक्टरसहितको एक समूहले पोखरास्थित मणिपाल मेडिकल कलेज किन्न खोजेको थियो। मणिपाल भारतीय लगानी भएको कलेज हो।
मणिपालको व्यवस्थापनले भारतीय नागरिक संलग्न भएका कम्पनीलाई अस्पताल बिक्री गर्न चाहेको थियो। मणिपाल व्यवस्थापनले भारत व्यक्ति वा संस्थालाई खोजेकाले ती डाक्टरको समूह त्यस्तै व्यक्तिको खोजीमा थियो।
सोही क्रममा डाक्टरसँग भीरामुथुको भेट पशुपतिका मूल भट्टकहाँ भएको थियो। दुवै भारतीय भएका कारण भीरामुथु भट्टलाई भेट्न पुगिरहन्थे।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार करिब पाँच महिनाअघि ती डाक्टर भट्टकहाँ पुगेका थिए। भट्टसँग भीरामुथु पहिले नै परिचित भइसकेको त्यहीँ थाहा पाए।
भीरामुथुले भट्टलाई आफू अन्तर्राष्ट्रिय रेडक्रसको डाइरेक्टर, योङ लिआन ग्रुप रियालिटी मलेसियाको सिइओ र मिलेनियम ग्रुप सिंगापुरको निर्देशक बताएका थिए। विश्वासका लागि कागजातसमेत देखाएका थिए।
योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। यसको सेयर नेपालको एनएमबी बैंकमा छ। २०५४ सालमै यो कम्पनीको सेयर एनएमबी बैंकमा तीन करोड थियो।
४२ वर्षअघि मलेसियामा स्थापना भएको यो कम्पनीले होल्डिङ्स, रियलस्टेट, सेयरमा लगानी गरिरहेको छ।
पंगेनीका अनुसार अनुसार भीरामुथुले आफूलाई त्यो ग्रुपको सिइओ भनेर परिचय दिइरहेका थिए। नेपालमा आएर त्यो कम्पनीको आधिकारिक व्यक्तिको रूपमा एनएमबी बैंकबाट कागजात पनि लिए।
‘कम्पनीको आधिकारिक व्यक्ति भनेर कागजात लिएका उनले ठूलो रकमको हिस्सेदार आफू रहेको देखाएपछि मणिपाल खरिद गर्ने समूह उनको पछाडि लागेको देखिन्छ,’ पंगेनी भन्छन्।
लिआन ग्रुपको अहिले एनएमबी बैंकमा पचास लाख कित्ता सेयर छ। यो सेयरबापत उसले बर्सेनि करोडौं बोनस लगिरहेको छ।
‘सेयरको बोनस नै करोडौं लैजाने कम्पनीको हर्ताकर्ता भन्दै परिचय पत्र लिएर आउँदा बैंकका मानिसले डकुमेन्टहरू बनाएर दिएको देखियो,’ पंगेनीले भने।
त्यस्तै, आफ्नो व्यक्तिगत बैंक खातामा ८ करोड, लोटस इन्भेष्टमेन्ट कम्पनीमा २७ करोड लगानी, स्टेट बैंक अफ इन्डियामा पनि मौज्दात रहेको भीरामुथुले देखाएका थिए। आफ्ना अन्य पाँचवटा कम्पनी पनि भीरामुथुले देखाउने गरेका थिए।
यसरी सम्पत्ति र अन्तर्राष्ट्रिय कम्पनी देखाएपछि पशुपतिका भट्ट पनि भीरामुथुसँग प्रभावित भएका रहेछन्।
पंगेनीका अनुसार ती डाक्टर भेट्न आएका बखत भट्टले अन्तर्राष्ट्रिय कम्पनीको व्यक्ति रहेका भीरामुथुसँग सम्पत्तिको स्रोत पनि देखिएको भन्दै कुराकानी गराइदिएका थिए।
त्यसरी कुराकानी अघि बढ्दा सिंगापुरको मिलेनियम ग्रुपले मणिपाल मेडिकल कलेज किन्ने भनिएको थियो। त्यो ग्रुपका निर्देशक भएको बताएकाले मणिपाल खरिदको नेतृत्व भीरामुथुले गर्ने भनिएको थियो।
डाक्टरसँग कुरा अघि बढ्दा भीरामुथुले मणिपालले महोत्तरी, धनुषा र पोखरामा किनेको १५० बिगाहाजति जग्गा मात्र मिलेनियम ग्रुपलाई दिए पुग्ने भनेका रहेछन्।
‘मणिपाल किन्दा मिलेनियमले जति लगानी गर्छ त्यसबापत् जग्गाको स्वामित्व आफूले लिने, कलेज भने ती डाक्टर लगायतको समूहले नै चलाउने भन्ने कुरा भएको रहेछ,’ पंगेनीले भने।
पंगेनीका अनुसार भट्टसमेतले सल्लाह दिएपछि ती डाक्टरले भीरामुथुसँग सघन छलफल थाले। डाक्टरलाई सुरूमा ८० लाख रुपैयाँ अग्रिम भुक्तानी आफूलाई दिनुपर्ने सर्त राखे। त्यो पैसा फिर्ता दिने पनि भने।
नभन्दै डाक्टर व्यक्तिगत रूपमा पचास लाख रूपैयाँ निकाल्न तयार भए। उनले भिरामोथुलाई त्यो पैसा दिए।
भीरामुथुले भट्टकहाँ पानी पुर्याउने सुदर्शन रिसालको नामको पचास लाखको चेक दिएर डाक्टरलाई पैसा फिर्ता हुने ‘ग्यारेन्टी’ गरे।
यो एक महिनाअघिको कुरा हो। पचास लाख टप्काएपछि भीरामुथु केही दिन हराए। अचानक सम्पर्कविहीन भएपछि डाक्टर पशुपतिका भट्टकहाँ पुगे।
भीरामुथुको खोजी गरे। आफ्नो सम्पर्कमा पनि आउन छोडेका भीरामुथुलाई खोज्दै डाक्टर आउँदा भट्टले चासो देखाए।
कुराकानी क्रममा डाक्टरले आफूलाई दिएको पचास लाख रूपैयाँको चेक देखाए।
चेक देखेर भट्ट झसंग भए। ‘यो त मेरो पानी बोक्ने मान्छे पो हो, उसको नामको चेक भीरामुथुले कसरी दिए?’ भट्टले डाक्टरलाई प्रश्न सोधे।
डाक्टर उसैगरी झस्किएपछि भट्टले रिसाललाई बोलाए।
त्यसपछि पो थाहा भयो- रिसाललाई पनि भीरामुथुले सेयर दिन्छु भनेर मख्ख पारी पचास लाख रूपैयाँको चेक काट्न लगाएका रहेछन्।
अब तीनै जनालाई बित्यास पर्यो, भीरामुथुले यो सब प्रपञ्च पचास लाख उम्काउन रचेका रहेछन्। यसपछि डाक्टर प्रहरीकहाँ पुगेका थिए।
भीरामुथु एक वर्षदेखि बालुवाटारस्थित एउटा घरमा बस्ने गरेका थिए। त्यसअघि उनी कहाँ बस्थे प्रहरीले खोजी गरिरहेको छ।
प्रहरीले कात्तिक २३ गते सोही घरबाट भीरामुथुलाई पक्राउ गरेको थियो। पक्राउ गर्दा उनले प्रहरीलाई धम्क्याएका थिए- म तिमीहरूलाई देखाइदिन्छु।
तर हिरासतमा पुगेपछि र प्रहरीले खेर्दै लगेपछि वास्तविकता खुल्दै गयो।
‘हामीले इन्टरनेसनल रेडक्रसको नेपालस्थित प्रमुखलाई सोध्यौं, भीरामुथु नाम गरेको व्यक्ति रेडक्रससँग जोडिएको देखिएन,’ भीरामुथुको मुद्दा हेरिरहेका महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी भन्छन्।
महाशाखाले मिलेनियम ग्रुप र मलेसियाको लिआन ग्रुपलाई सोधेको छ। तर त्यहाँबाट जवाफ आइसकेको छैन।
रेग्मीका अनुसार ती कम्पनी वास्तवमै छन् तर ती कम्पनीमा भीरामुथु कहीँकतै जोडिएको देखिँदैन।
‘उनले ती कम्पनीको आधिकारिक व्यक्ति आफू रहेको कागजात मात्र बनाएका रहेछन्, सोही कागजात देखाएर ठगी धन्दा चलाउँदै आएका रहेछन्,’ रेग्मीले भने।
अनुसन्धानमा भीरामुथुको नाममा पाँचवटा कम्पनी नेपालमै दर्ता रहेको देखिएका छन्। सिएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एन्ड सप्लायर्स कम्पनी उनको नाममा देखिएका छन्।
यी कम्पनी २०७२ देखि २०७८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको देखिन्छ। ती कम्पनीको कारोबार भने नदेखिएको पंगेनी बताउँछन्।
भीरामुथुले एक जना निर्माण व्यवसायीलाई पनि दुई करोड रुपैयाँ ठगी गरेको देखिएको छ। ती निर्माण व्यवसायी प्रहरीको सम्पर्कमा आएका छैनन्।
भीरामुथुको भारत, मलेसियादेखि नेपाल यात्रा
महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार भीरामुथु यसभन्दा पहिले २०७२ जेठ २२ गते वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।
ठगी मुद्दामा पक्राउ पर्नुअघि उनले यस्तो काम गरे/गरेनन् यकिन हुन सकेको छैन। उनी आफू त प्रहरीलाई ठगी गरेको होइन भनिरहेका छन्।
जेलबाट छुटेपछि उनी सनसनीपूर्ण ठगी अवतारमा देखिएका हुन्। कोइरालाका अनुसार भीरामुथु २०५२ सालतिर मलेसिया पुगेका थिए।
मलेसियामा काम गर्दागर्दै नेपालीहरूसँग नजिकिएका थिए। नेपाल आएकै २२ वर्ष भइसकेको उनले बताउने गरेका छन्।
नेपाल आएपछि उनले मलेसियामा कामदार ओसार्ने गरेका थिए। यही सिलसिलामा युवतीहरूलाई ठगी गरेको आरोपमा उनी वैदेशिक रोजगार ठगी मुद्दामा जेल परे।
भीरामुथु जेल परेको वा छुटेको भिआइपीहरू कसैले पत्तो नपाएर हुनुपर्छ उनले पहुँच बनाइरहे।
‘यतिको ठगी गर्न सक्ने आइडिया छोटो समयमै आर्जन भएको पक्कै होइन,’ कोइराला भन्छन्, ‘लामो समयको अनुभव हासिल गर्दै धन्दालाई निरन्तरता दिएको हुनुपर्छ।’
उनका अनुसार नेपालमा मानिसहरूले छिट्टै विश्वास गरिहाल्ने भएकाले उनलाई सजिलो भयो। अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनेपछि उनलाई उच्चपदस्थ व्यक्तिले पनि पत्याएको देखियो।
त्यसरी उच्च पदस्थ व्यक्तिसँग नजिकको सम्बन्ध रहेको भनेपछि अरू मानिसले थप विश्वास गरेको देखिएको कोइराला बताउँछन्।
उनले परिचय दिने गरेका तथ्यबारे सोध्दा भीरामुथुले बताउन सकेका छैनन्। रेडक्रसबारे सोध्दा उनले ‘लकडाउन’ मा सजिलो हुन्छ भनेर नाम भजाएको बताएका छन्।
‘यतिका परिचय-पत्र र छाप कहाँ बनाए भन्ने खोजिरहेका छौं,’ कोइराला भन्छन्।
उनले मलेसिया र सिंगापुरमा आफ्ना आफन्त रहेको बताउने गरेका छन्। लिआन ग्रुप र मिलेनियम ग्रुपबारे उनले बताउन मानिरहेका छैनन्।
आफ्नो ठगी धन्दामा लिआन ग्रुप, मिलेनियम ग्रुपजस्ता संस्था नै उनले किन प्रयोग गरे भन्ने ‘रहस्यमय’ छ।