घरैघर घरैघर घरैघर!
एउटा समय थियो, काठमाडौंमा घरभन्दा बढी मन्दिरहरू हुन्थे। अहिले मन्दिरधरि छेकिने गरी बनेका छन्, घरैघर घरैघर घरैघर!
कलाकार सुजन डंगोलको 'टेल्स अफ सिटी' अर्थात् 'सहरको कथा' शीर्षकको चित्र प्रदर्शनीमा पनि हामी घरहरू नै बढी देख्न सक्छौं।
जहीँतहीँ घरैघरले घेरिएको सहरको कथा चित्रमार्फत् सुनाइरहेका सुजनलाई मनपर्ने छाने शैलीको परम्परागत घर हो। उनका चित्रमा त्यही किसिमका घर प्रतिबिम्बित छन्।
पुर्ख्यौली घर साँखु भएका सुजन जन्मे–हुर्केको महाबौद्धको घरमा हो। उनको जन्म हुँदासम्म त्यो घरमा आधुनिकता छाउन थालिसकेको थियो। परम्परागत घरमा ठाउँठाउँमा सिमेन्ट लगाइएको थियो। छाना पनि जस्ताको हालिएको थियो। पछि त्यो घर भत्काएर बुवाले आधुनिक घर बनाए।
तर सुजनले वरिपरि देखिरहेका पुराना घरहरूका स्मृति आज पनि ताजा छन्।
जति हुर्कंदै गए, उनले झनै त्यसको महत्व बुझ्न थालेका छन्।
'पहिला पहिला बाजेहरूले घरको छिँडी, बुइगल भन्नुहुन्थ्यो। तिनको आफ्नै महत्व छ। कुन तलामा कस्तो झ्याल राख्ने भन्ने आफ्नै नियम हुन्थ्यो। घरहरू पनि बराबर आकारका हुन्थे,' उनले भने, 'जबदेखि विकास पस्यो, हामीले परम्परागत घरहरू गुमायौं।'
सुजनको स्मरणमा अझै स्कुल पढ्दा जाडो महिनामा पाइने 'मिनपचास' अर्थात् ५० दिने बिदाको सम्झना छ। त्यति बेला उनको परिवार बरन्डामा लाइनै बसेर खाना खान्थे। घाममा खाना खाँदा न्यानो त हुन्थ्यो नै, आँखाले परपरसम्मका दृश्य देख्न पाउँथे। अहिले जताततै अग्ला घरहरू बनेपछि कहाँ पाउनु घाम अनि त्यस्ता दृश्य!
त्यही भएर अहिलेको सहरको कथा सुनाउँदा उनी त्यति खुसी सुनिँदैनन्, 'अहिले जुन हिसाबमा सहरी विकास भइरहेको छ, त्यो न हाम्रो भाषासँग मिल्छ, न धर्म, जाति र संस्कृतिसँग मिल्छ। आधुनिक पूर्वाधारहरू आरामदायी त भए तर हामीले हाम्रो पहिचान गुमाउँदै गयौं।'
उनले अगाडि भने, 'सहर भनेको आजको भोलि बन्ने कुरा होइन। सहर बन्नलाई हजारौं वर्ष लाग्छ जसमा सभ्यता, संस्कृति, भाषा, संगीत, भेषभूषा लगायत जोडिएका हुन्छन्। गएको २०–३० वर्षमा जसरी सहरी विकास भयो, त्यसले हामीलाई निकै गाह्रो अवस्था सिर्जना गरिरहेको छ।'
सुजनको एउटा चित्रमा हलोमाथि डोजर बनेको छ। त्यो भनेको विकासले हाम्रो मौलिकता थिच्दै जानुको प्रतीक हो।
सहरमा पुरानै मौलिक कुराहरू खोज्ने सुजन भन्छन्, 'राजनीतिका मान्छेहरू प्रधानमन्त्री भएँ भने देशलाई सिंगापुर, स्विट्जरल्यान्ड बनाउँछु भन्ने खालका भाषण गर्नुहुन्छ। त्यो भनेको कस्तो अचम्मको कुरा हो नि! त्यसो भनिरहँदा हामीले आफ्ना कुरा पनि गुमाउँदै गएका छौं।'
आधुनिकताकै शिकारमा गुमनाम हुँदै गएका त हाम्रा लोककथाहरू पनि हुन्। हाम्रो शिक्षाले ती कथाहरू जोगाउन खोई त भूमिका निर्वाह गरेको?
सुजनले एउटा चित्रमा कालियादमनको कथा उतारेका छन्।
कथाअनुसार कालियादमन भनेको भारतको यमुना नदीमा रहेको टाउकै टाउको भएको विशालु सर्प हो। उनकै डरका कारण वृन्दावनमा रहेका मान्छे त्यो नदीमा जान डराउँछन्।
एकदिन भगवान श्रीकृष्ण आफ्ना साथीहरूसँग यमुना नदी किनार भकुण्डो खेलिरहेका हुन्छन्। भकुण्डो नदीमा खस्छ। उनी त्यसलाई लिन खोलामा जान्छन्।
साथीहरूले उनलाई खोलामा विषालु सर्प भएको सम्झाउँछन्। तर कसैको कुरा नसुनेर श्रीकृष्ण नदीमा पस्छन्। त्यसको परिणाम, कालियाले उनलाई आक्रमण गर्छ।
पहिला त कालियाले पानीमा विष ओकल्छ। कृष्णले हातको एकै झट्कामा विषलाई तितरबितर पार्छन्। त्यसपछि उसले कृष्णको शरीर बेरेर निमोठ्न खोज्छ। तर कृष्णले आफ्नो शरीर निकै ठूलो बनाउँछन्। उनी सर्पको पुच्छर समाएर नदी किनारमा ल्याउँछन्। त्यति बेलासम्म कालिया थाकिसकेको हुन्छ।
कृष्ण उनको टाउकोमाथि चढेर बाँसुरी बजाउन थाल्छन्। कालिया आफ्नो मुखबाट विष र रगत ओकल्न थाल्छ।
मृत्युको नजिक पुगेका उनले कृष्णसँग आफ्नो जीवनको भिख माग्छ।
'यस्तो कथा त मैले सानो बेला टिभीमा हेरेको हो। म सानो हुँदा महाभारत, रामायणहरू हेर्थें,' सुजनले भने, 'यी कथाहरू त्यत्तिकै बनेका होइनन्। यी पनि हाम्रो शिक्षाकै पाटो हुन्। ती कथा संरक्षण गर्न खोई त हामीले पहल गरेको? हाम्रो शिक्षा नीतिमा विकास मात्र होइन, संस्कृति र सभ्यताका अमूल्य कुराहरू जोगाउने तत्व पनि हुनुपर्छ।'
'कालियादमन' शीर्षकमा बनाएको चित्रको तल्लो भागमा कमलको फूल छ। कमललाई ज्ञानको संकेत मानिन्छ। त्यसमाथि झुरूप्प घरहरू बनेका छन् जुन उनको यो प्रदर्शनीको विशेषता भइहाले। त्यसमाथि कालियादमन सर्प छ। त्यसैको टाउकोमाथि कृष्ण चढेका छन्।
सुजनको चित्रमा कतै प्रताप मल्लको शालिक देखिन्छ, कतै पाटनको ठूलो घन्टी। कतै कालियादमन त कतै बराह लगायत भगवान।
विभिन्न भगवान र कलाका स्मारकको चित्र भए पनि उनी आफूलाई दरबार स्क्वायरको आइडिया मन नपर्ने बताउँछन्।
'मलाई दरबार स्क्वायरको आइडिया नै मन पर्दैन, किनभने त्यो त पर्यटकका लागि संरक्षण गरेजस्तो भयो,' उनले भने, 'तर त्यो स्क्वायर बन्नुपछाडि हाम्रा गल्ली र घरहरू कारण हुन् नि। त्यहीँबाट त हाम्रो सम्पदा मार्ग सुरू हुन्छन्। तिनलाई संरक्षण गर्नु पनि त सरकारको जिम्मेवारी हो। तर सरकारले सहरी विकाशको आइडियालाई यसरी प्रचार गर्यो कि हामीलाई पुराना शैलीको घर बनाउनु भन्दा नयाँ बनाउन सस्तो पर्न थाल्यो।'
आफ्नो मनमा गढेर रहेको यही उकुसमुकुस पोख्न उनले गल्लीभित्र मन्दिर, मूर्तिका चित्रमा बस्ती घुसाएका छन्। कतै गोलाकार, कतै अर्धाकार त कतै यसै झुरूप्प बस्ती। घरलाई सहरको आधार मान्ने उनका धेरै चित्रको मूल जग वा खम्बाकै रूपमा पनि घरहरू आएका छन्।
तपाईं पनि यो प्रदर्शनी घुमेर आउनुभयो भने दिमागभरि घरैघरको आकृति बोकेर फर्कनुहुन्छ।
यसको कलात्मक पाटोको कुरा गर्नुपर्दा सुजनका यी चित्र 'पेन एन्ड इंक' अन्तर्गत पर्छन्। अर्थात् चित्रमा कुनै रंग प्रयोग भएका छैनन्, मात्र कलम र मसीले बनाइएको छ। लामो समयदेखि उनले यही शैलीमा काम गर्दै आएका छन्।
कलाका स–साना विवरण पनि सूक्ष्म ढंगमा कोर्नुपर्ने भएकाले यो शैलीको चित्र बनाउँदा धैर्य र समय लाग्छ।
२४ चित्र प्रदर्शन गरेका भिजुअल कलाकार सुजनका चित्रका केही ढाँचा पनि उनको शैली बन्दै गएका छन्। जस्तो, उनले सुकुलका 'प्याटर्न' लाई कतै आकाश, कतै बादल त कतै खाली ठाउँहरूमा प्रयोग गरेका छन्। यसले मुख्य चित्रलाई केन्द्रित बनाउन केही हदसम्म सहयोग गरेको छ।
उनको अर्को ढाँचा भनेको गोलाकार हो। उनले त्यसलाई सोलार क्यालेन्डरसँग जोडेका छन्। चन्द्रमासँग पनि जोड्छन्।
'हामी सूर्यलाई पूजा गर्छौं तर हाम्रो दैनिक तिथिमा चन्द्रमाको प्रमुख भूमिका छ,' उनले भने।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको उनको प्रदर्शनीका चित्रहरू हेर्दा सरल छन्। तर त्यसभित्र मिहिन र सुन्दर काम भएका छन्। सहरका कथाले जसरी उनलाई 'नोस्टाल्जिक' बनाउँछ, त्यसले तपाईंलाई पनि सहरसँगको 'नोस्टाल्जिया' मा पुर्याउँछ।
त्यही भएर हुनुपर्छ, उनका एक–दुई चित्र छाड्ने हो भने सबैमा रातो टीका लागेका छन्। त्यसरी चित्रमा रातो टीका लाग्नु भनेको त्यो चित्र बिक्री हुनु हो।
प्रदर्शनीमा सहरकै कथा भन्ने अन्य कलाकारका कला र फोटोहरू पनि छन्। कलाकार शर्मिला श्रेष्ठले 'सिड्स' शीर्षकमा गरेको मिक्स मिडियाको कामले हामीले आधुनिकतासँगै गुमाउँदै गएका गेडागुडी र चकटीको चित्रण गर्छ।
त्यसैगरी अभिषेक शाह, अनिल रञ्जित, अशेष डंगोल, जगदिश उपाध्याय लगायतले फोटोमार्फत् सहरको कथा सुनाएका छन्।
माध्यम फरक भए पनि उनीहरूले देखाउन चाहेको कथा यही सहरको हो।