मुस्ताङस्थित धौलागिरि श्रृंखलाको पानामाथि हिमालबाट आइतबार उर्लिएको हिमपहिरोको क्षति अझै यकिन भइसकेको छैन।
हिमपहिरो जाँदा भागदौड हुँदा ११ जना घाइते छन्। जसमध्ये तीन जना पोखरामा थप उपचार गराइरहेका छन्।
हिमपहिरो गएको क्षेत्र थासाङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरप्रसाद हिराचनका अनुसार अहिलेसम्म २४ वटा चौरी र याक हराएको यकिन भएको छ।
हिमपहिरो गएको क्षेत्रमा राखिएका चौरी गोठमा भने अहिलेसम्म गोठधनी पुग्न सकेका छैनन्।
‘चौरी गोठ जानै सकिएको छैन,’ वडा अध्यक्ष हिराचनले भने, ‘गोठमा पुगेर हेरेपछि मात्र के कति क्षति भयो थाहा हुन्छ।’
हिमपहिरोले चौरी गोठ लैजाने बाटो बिगारिदिएको छ भने ठाउँ-ठाउँमा रूख ढलाइदिएको छ। त्यही कारण गोठसम्म पुग्न स्थानीयलाई समस्या परेको उनले बताए।
स्थानीयले याक र चौरी चराउन हिउँद र बर्खामा छुट्टछुट्टै राख्छन्। अहिले गाउँदेखि ४, ५ घण्टा हिँडेर जानुपर्ने लेकमा उनीहरूले चौरी राखेका छन्।
गोठ बनाएर राखिएकोले चौरी दिनभरि आफैं चर्ने र गोठमा गएर बस्ने स्थानीय गौतम शेरचनले बताए। ती गोठमा रहेका चौरी र याकको अवस्था बुझ्न स्थानीय जान सकेका छैनन्।
हिउँ पर्नु थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ।
बर्खायाम सकिएर हिउँद लाग्दै गरे पनि अझै हिमाली भेगमा हिमपात सुरू भएको छैन। सुख्खायाममा उर्लिएको यो हिउँ धेरै वर्ष पुरानो भएको हुन सक्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका संरक्षण अधिकृत सन्तोष शेरचनले बताए।
‘पुरानो हिउँ हिमालको सबभन्दा तल रहने भएकाले तलबाट एकैचोटि माथितिर प्रेसर आउँछ,’ कोवाङका स्थानीय समेत रहेका शेरचनले भने, ‘यसपालिको हिउँको सास गाउँसम्म आएको थियो, यो वर्षौ पुरानो हिउँको पहिरो गएको हुनुपर्छ।’
हिमपहिरो आएको बेला भागदौडमा निस्किएका स्थानीय निथ्रुक्क भिजेका थिए। हिमपहिरो गडगडाएर आउन थालेपछि भागाभाग गर्दा हिउँको हुरीले भेटाएको स्थानीय गौतम शेरचनले बताए।
जमिनबाट ज्वालामुखी फुटेजस्तो माथितिर उर्लिएको हिमपहिरोको हुरीले उनी भिजेका थिए।
‘हिमपहिरो यहाँसम्म त के आउँला र भनेर सोचेका थियौं,’ गौतमले भने, ‘हिमालमा बम पड्काएजस्तो डाँडाकाँडा छोपेर आउन थाल्यो, त्यसपछि त हामी अत्तालिन थाल्यौं।’
धौलागिरि श्रृंखलामा स–साना हिमपहिरो देखिरहेका गौतमले यसपालि अचम्मैको घटना भएको सुनाए।
गौतमका अनुसार यसअघि झण्डै २४ वर्षअघि पनि धौलागिरि श्रृंखलाबाट ठूलो हिमपहिरो झरेको थियो। जुन हिमपहिरोमा परेर एक जनाको ज्यान गएको थियो। त्यतिबेला गौतमको मात्रै ५४ वटा चौरी मरेका थिए।
२०५४ सालमा गएको त्यो हिमपहिरोले ठूलो क्षति पुर्याएको थियो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख राजकुमार गुरूङ त्यतिबेला मुस्ताङका वरिष्ठ रेञ्जर थिए। त्यो हिमपहिरोका कारण भएका क्षति विवरण बटुल्न गुरूङ हिमपहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।
‘त्यतिबेला टुकुचे पिक र धौलागिरि आइसफलको बीचबाट हिमपहिरो बोक्सेखोलामा झरेको थियो’, गुरूङले भने, ‘त्यतिबेलाको हिउँपहिरोमा पनि धेरै चौरी परेका थिए, हिमपहिरोले जंगल विनाश गरेको थियो।’
अहिले पानामाथि हिमालबाट गएको हिमपहिरो पनि बोक्सेखोलामा झरेको छ। यी दुबै हिमपहिरो नजिकैबाट गएको गुरूङले बताए।
अहिलेको हिमपहिरोमा झरेको हिउँ र माटो थुप्रिएर बसेको स्थानीयले बताएका छन्।
उनीहरूका अनुसार हिमपहिरोमा झरेका हिउँ बरफ बने पनि पग्लिएर बगेको छैन।
स्थानीय गौतम शेरचनका अनुसार २४ वर्षअघि हिमपात भएकै समयमा हिमपहिरो गएको थियो।
‘त्यतिबेला म बाजे-बज्यैसँग कोवाङमै थिएँ, गाउँमै तीन फिट जति हिउँ परेको थियो,’ उनले भने, ‘यसपालि त हिउँ नपर्दै हिमपहिरो गयो।’
सम्बन्धित समाचार: 'हिउँको ढिस्को यस्तरी खस्यो, मानौं आकाशबाट बादल झ्याम्म खस्दैछ' (भिडिओ)