रामेछाप, सिरुबारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापा मगर दस वर्षदेखि काठमाडौंमा छन्।
सानै उमेरमा घर छाडेर हिँडेका उनी काठमाडौं आएर तामाका भाँडाकुँडामा बुट्टा भर्ने काम गर्थे। उनी बुढानिलकण्ठ नगरपालिका-११, कपनमा बसिरहेका थिए।
उनकी आमा ४१ वर्षीया पुष्पा थापा मगर र मावल सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया हजुरआमा गोमा श्रेष्ठ भने गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बसिरहेका थिए।
समरोजका बुवा हेटौंडातिर छन्। मावलका हजुरबुवा सिन्धुपाल्चोकमै बस्छन्।
पुष्पा र गोमाको कामको ठेगान छैन। उनीहरू जे भेट्यो त्यही गर्छन्। कक्षा-३ सम्म मात्र पढ्न पाएका समरोजले भने काठमाडौं आएदेखि नै तामाका भाँडाकुँडामा बुट्टा भर्न सिकेका रहेछन्।
यही पेसाले उनी आफ्नो जीवन चलाउने र आमा र हजुरआमालाई खर्च दिने गर्थे। अविवाहित समरोज पाँच वर्षअघि दुर्घटनामा परेर आफैं थलिए।
दाहिने खुट्टामा अप्रेसन गरेर स्टिल हाल्नुपरेपछि उनले लामो समय काम गर्न पाएनन्। बल्ल-बल्ल तंग्रिएपछि तामामा बुट्टा भर्ने पुरानो कामलाई निरन्तरता पनि दिए।
परिवारसँग तीतो-मीठो सम्बन्धका कारण लामो समयदेखि काठमाडौंमै बसिरहेका यी तीनै जना अहिले प्रहरीको हिरासतमा पुगेका छन्, नक्कली नोट छपाइ र कारोबार गरेको आरोपमा।
‘आर्थिक अवस्था कहिल्यै सुधार नभएकोमा धेरै पछुतो मान्दा रहेछन्,’ महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने, ‘युट्युब हेर्ने क्रममा नोट छपाइसम्बन्धी भिडिओ हेरेर सिकेको बयान दिएका छन्।’
मंगलबार साँझ वृत्तको टोली नक्कली नोटका कारोबारी देखिएको सूचनाका आधारमा नारायणटोर दक्षिणढोका पुगेको थियो। बौद्ध क्षेत्रमा नक्कली नोटको कारोबार हुने गरेको गाइँगुइँ प्रहरीले सुनिरहेकै थियो।
प्रहरी पुग्दा समरोजकी हजुरआमा गोमा बाटोमा हिँडिरहेकी थिइन्। उनैलाई प्रहरीले शंका गरेर सोधपुछ गर्न थाल्यो।
त्यस क्रममा उनीबाट २९ वटा एक सय रूपैयाँका नक्कली नोट भेटिएका थिए। हेर्दा सक्कलीसँग दुरूस्तै देखिने नोटको स्रोतबारे प्रहरीले उनीसँग कुराकानी अघि बढायो।
उनले छोरी पुष्पाले आफूलाई नोट दिएको बताएपछि प्रहरी आमाछोरी बस्ने कोठामा पुग्यो।
‘त्यहाँ पुग्दा एक हजारको नोटलाई रंगीन प्रिन्ट गरी अगाडि र पछाडिको भाग टाँसेर नोटको आकार दिइएको अवस्थामा ३६ थान फेला पर्यो,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उस्तैगरी पाँच सयको दुवैपट्टिको भाग प्रिन्ट गरेर राखेको कागज ५६-५६ थान भेटियो।’
प्रहरीले कागजका टुक्रा, कागज टाँस्ने फेबिकलको बट्टा, सक्कली नगदसहित पुष्पालाई पनि नियन्त्रणमा लियो।
पुष्पासँग सोध्दा त्यस्तो रकम बनाउने काम बुढानिलकण्ठ नगरपालिका-१० चिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोतीले गर्ने गरेको बताइन्।
हेलम्बु गाउँपालिका-२ सिन्धुपाल्चोक घर भएका जोती र चिरञ्जीवी काका-भतिजा हुन्। प्रहरी उनीहरूको कोठामा पनि पुग्यो। तर त्यहाँ केही फेला परेन।
उनीहरूबाट केही फेला नपरे पनि प्रहरी नक्कली नोट छपाइमा संलग्न मुख्य व्यक्तिकहाँ पुग्नु नै थियो।
‘सबै जनालाई कार्यालयमा ल्याएर सोधपुछ गरेपछि भोलिपल्ट मात्रै पत्ता लाग्यो, समरोजले नक्कली नोट छाप्दा रहेछन्,’ न्यौपानेले भने।
तामामा बुट्टा भरिरहेका समरोजले तीन महिनादेखि यो काम थालेको प्रहरीलाई बताएका छन्।
समरोजले एउटा रंगीन प्रिन्टर किनेका रहेछन्। त्यही प्रिन्टरबाट फोटोकपी पेपरमा सक्कली नोटको फोटोकपी प्रिन्ट गर्दा रहेछन्।
अगाडि-पछाडि दुवै भाग अलग-अलग प्रिन्ट गर्ने र दुवै भागलाई मिलाएर टाँस्ने गरेका रहेछन्।
‘दुवै भाग मिलाएर टाँसेर कैंचीले नै काटेर नोटको दुरूस्तै आकारप्रकार र रंगरोगन निकाल्दा रहेछन्,’ न्यौपानेले भने, ‘यसरी बनाएको नोट निकै बाक्लो हुन्छ। तर, उनले फेबिकलको मात्रा उडाउन भाँडामा स्टिम गर्दा रहेछन्।’
स्टिम गरेपछि नोट हल्का देखिँदो रहेछ। त्यस्ता नोटहरू उनले आमा, हजुरआमा र आफूसमेत चलाउने गरेका रहेछन्।
न्यौपानेका अनुसार उनले सुरूमा एक हजार र पाँच सयका नोट त्यसरी प्रिन्ट गरेर बनाउन थालेका थिए। ती नोट बजारमा लैजाने आँट नआएर कोठामै राखेको न्यौपानेले बताए।
‘सय दरको नोट पठाउँदा मानिसले खासै वास्ता पनि नगर्ने ठानेर उनले त्यस्ता नोट भने प्रिन्ट गर्दै पठाएको बताएका छन्,’ न्यौपानले भने।
उनले हालसम्म सय रुपैयाँका १ लाख ५० हजार नक्कली नोट बजारमा पठाइसकेको बयान दिएका छन्। ती नक्कली नोट कहाँ-कहाँ पुगे भन्ने यकिन छैन।
एकपटक मजाले हेरे सक्कली र नक्कली नोट चिनिन्छ। किनभने त्यहाँ प्रयोग भएका सुरक्षात्मक चिह्नहरू र नोटको नम्बर, गभर्नरको सही फोटोकपी गरेको प्रस्ट चिनिन्छ।
‘वास्ता नै नगरी नोट लिने र सामान दिने चलन छ, हामी राम्रोसँग नोट हेर्दैनौं,’ न्यौपानले भने।
समरोजको कोठाबाट प्रहरीले सय रूपैयाँ दरको प्रिन्ट गरिसकिएको कागजको पाना तीन सयभन्दा बढी, कटिङ गरिसकेका १३७ थान नक्कली नोट, प्रिन्टर, सक्कली नोट (दस, बीस, पचासका) २७ हजार १५०, लालीगुराँस छाप भएको स्ट्याम एक थान, कैंची, रङका बट्टा, कागजका टुक्राहरू लगायत बरामद गरेको छ।
लालीगुराँस भने एक हजारको नोटमा मात्रै प्रयोग गरिन्छ। ‘उनले एक हजारको नोट बजारमा पठाउन लालीगुराँसको छाप पनि दुरूस्तै बनाएको देखिन्छ,’ न्यौपानेले भने।
प्रहरीसँगको बयानमा समरोजले प्रिन्टर पनि अरू नै व्यक्तिबाट २५ हजार रूपैयाँमा किनेको बताएका छन्। यो कार्यमा अरू व्यक्ति पनि संलग्न छन् कि भन्नेबारे अनुसन्धान भइरहेको छ।
अनुसन्धान क्रममा उनीहरूले सयको नक्कली नोट दिएर १०-२० रूपैयाँको मात्रै सामान किन्ने गरेको खुलेको न्यौपानले बताए। बाँकी पैसा ल्याएर उनीहरूले घरमै राख्ने गरेको न्यौपानेले बताए।
यो काममा जोती काका-भतिजाको संलग्नता के-कसो हो स्पष्ट भइसकेको छैन। तर उनीहरू पुष्पा र गोमाको कोठामा गएर नोट बनाउने र व्यवस्थापनको काममा संलग्न भएको आशंका प्रहरीको छ।
पुष्पा, गोमा र समरोजबाट ६५ हजार ३ सय रूपैयाँ नक्कली नोट बरामद भएको छ। नक्कली नोटको साथमा सक्कली रकम पनि बरामद भएको छ। पक्राउ परेका पाँचै जनालाई मुद्रासम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको न्यौपानेले बताए।
मुलुकी अपराध संहिताअनुसार नक्कली नोट बनाउनेलाई कसुर हेरेर पाँचदेखि दस वर्षसम्म र पचासदेखि एक लाख रूपैयाँ जरिवाना हुने व्यवस्था छ। प्रयोग गर्नेलाई कसुर हेरेर कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
गरिबी छल्ने उपाय खोज्दै जाँदा समरोजले नक्कली नोट छपाइको काम सुरू गरेको र त्यही कारण परिवारै हिरासतमा पुगेको न्यौपाने बताउँछन्।