नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले लकडाउन खुलेपछि नेपालमा बंगाली पर्यटक घुम्न आउने बताएकी थिइन्।
गण्डकी सरकारले गत असोज दोस्रो साता विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराएपछि राजदूत चौधरीले भनेकी थिइन्, ‘कोठमाडौंदेखि बंगलादेशसम्म हवाइसेवा सुचारू भएपछि नेपालमा बंगाली पर्यटकको चाप बढ्नेछ।’
राजदूत चौधरीले भनेजस्तो नेपालमा बंगाली पर्यटकको चाप बढ्न सकेको छैन। हिमालय एयरलाइन्स र बिमान बंगलादेशले दुई देशबीच नियमित हवाई उडान भर्दै आए पनि अपेक्षा गरिएअनुसार बंगाली पर्यटक नेपाल घुम्न आएका छैनन्।
कोभिड-१९ को महामारीले नेपालको मात्र नभई बंगलादेशको पर्यटन व्यवसाय पनि थला परेको छ। बंगलादेशमा होटल सञ्चालकसमेत रहेका प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) बंगलादेश च्याप्टरका अध्यक्ष शहिद हमिदले बाहिरी देशका पर्यटक मात्र नभई आन्तरिक पर्यटनमा पनि उल्लेख्य गिरावट आएको बताए।
नेपालले जस्तै बंगलादेशले पनि अहिले विश्वभरका पर्यटकका लागि खुला गरेको छ। पाटा नेपाल च्याप्टरको निमन्त्रणामा १२ जना टुर अपरेटर, सञ्चारकर्मी, व्यवसायीसहितको टोली लिएर काठमाडौं ओर्लिएका हमिद बुधबार पोखरा आए। पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका उनले दुई देशका व्यवसायीले पर्यटन प्रवर्द्धन गर्न हातेमालो गर्न आवश्यक रहेको औंल्याए।
‘बंगलादेशका नागरिकले घुमफिरमा प्रशस्त पैसा खर्च गर्न थालेका छन्, उनीहरूलाई नेपालले आकर्षित गर्न सक्नुपर्छ,’ हमिदले भने, ‘हामी दुई देशका व्यवसायी मिलेर पर्यटन क्षेत्रलाई उकास्न सक्छौं।’
बंगाली नागरिकले नेपालको प्राकृतिक सम्पदा मन पराएका मात्र होइन, खुला रूपमा घुमफिर, मनोरञ्जन र नेपालमा पस्मिना लगायत विभिन्न सामग्री खरिद गर्न चाहने हमिदको भनाइ छ।
पाटा नेपाल च्याप्टरका अनुसार कोरोना महामारी आउनुअघि सन् २०१९ मा २६ हजार बंगाली पर्यटक नेपाल भित्रिएका थिए। कोरोना महामारी सुरू भएपछि पनि सानो संख्यामा बंगाली पर्यटक नेपाल आउन भने नछाडेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए।
धेरैजसो बंगाली पर्यटक अहिले पनि बैंकक जाने गरेका छन्। बंगलादेशमा नेपाल प्रवर्द्ध गर्न सके उनीहरूलाई नेपाल भित्र्याउन सकिने बुडालको भनाइ छ। ‘बंगलादेशमा नेपाल प्रवर्द्धन नै भएको छैन,’ उनले भने, ‘अहिले आइरहेका पर्यटक निकै सानो संख्यामा छ, थोरै मेहनतले पनि दोब्बर पार्न सकिन्छ।’
बंगाली पर्यटकका लागि पनि नेपाल सस्तो र नजिकको गन्तव्य भएको उनले बताए। ढाकाबाट १ घण्टा २० मिनेटमा काठमाडौं उत्रने सक्ने र २ सय अमेरिकी डलर मात्र टिकट खर्च लाग्ने उनले बताए। बंगाली पर्यटकले डलरमा खर्च गर्ने भएकाले पनि नेपालको डलर सञ्चिती बढ्ने भन्दै उनले बंगाली पर्यटकबाट फाइदै-फाइदा पुग्ने बताए।
कोभिड–१९ को महामारीमा छोटो दुरीमा आउन सक्ने छिमेकी देशका पर्यटकलाई आकर्षित गर्नुपर्नेमा नेपालका पर्यटक व्यवसायी टिकाराम सापकोटा पनि सहमत छन्। बंगाली नागरिक नेपाल घुम्न आउँदा अधिकांश पोखरा आउने गरेको भन्दै उनले युवा पुस्ताका बंगालीहरू पदयात्रा गर्न रूचाएको उनले बताए।
नेपाल र बंगालादेशका पर्यटन व्यवसायीबीच व्यवसाय ‘नेटवर्किङ’ बंगलादेशका व्यवसायीलाई नेपाल बोलाएको भन्दै सापकोटाले यो भ्रमणले नेपालको प्याकेज बंगलादेशमा बेच्न सजिलो हुने बताए। ‘हामीले पर्यटकलाई दिने प्याकेज बंगलादेशकै व्यवसायीमार्फत् त्यहाँ बिक्री गर्न यो भ्रमण फलदायी हुनेछ,’ सापकोटाले भने, ‘अहिलेसम्म सानो संख्यामा भएको व्यवसाय नेटवर्किङ यो भ्रमणले विस्तार गर्न टेवा पुर्याउँछ।’
पोखरा आइपुगेका बंगाली पर्यटन व्यवसायीको समूहले बिहीबार बिहान फेवातालमा डुंया सयर गरेका थिए। पोखराका व्यवसायीसँग व्यवसाय नेटवर्किङबारे छलफल सकेर उनीहरूलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय र विश्व शान्ति स्तुपमा दृश्यावलोकन गर्न लगिएको थियो।
नेपालमा जस्तो अग्ला पहाड र हिमाल नभएका कारण बंगाली व्यवसायी यी दुबै ठाउँ पुग्दा अचम्मित बनेका थिए। पर्वतीय संग्राहालयमा राखिएका विभिन्न जात-जातिका संस्कृति झल्कने सामाग्रीदेखि पर्वतीय गतिविधि, हिमाल र संग्रहालयमा रहेका हिमाली जनजीवन झल्काउने सामग्रीले उनीहरूको ध्यान खिचेको थियो। संग्राहलयका निर्देशक निर्मला न्यौपानेले बंगाली टोलीलाई जानकारी दिइन्।
फेवातालमाथि रहेको विश्व शान्ति स्तुप पुग्दा उनीहरूले यति अग्लो पहाड कहिल्यै नचढेको बताएका थिए। बादलले अन्नपूर्ण श्रृङ्खला ढाके पनि कहिलेकाहीँ खुल्दा देखिएका हिमालको थोरै भागले पनि उनीहरू रोमाञ्चक बनेका थिए। बंगाली टोलीलाई पोखरा टुर गाइड एसोसिएसनका अध्यक्ष कृष्ण भारतीले ‘गाइड’ गरेका थिए।
बंगाली पर्यटन व्यवसायीको नेपाल भ्रमणले महामारीमा थलिएको पर्यटन क्षेत्र पुनरूत्थान गर्न सघाउ पुर्याउने पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले बताए। ‘विदेशी पर्यटक भन्ने वित्तिकै पश्चिमा पर्यटकलाई मात्र सम्झने होइन,’ उनले भने, ‘बंगाली पर्यटकले पनि डलरमा पैसा तिर्छ, पश्चिमाले भन्दा धेरै खर्च गर्छ।’