गत बुधबार सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट हस्तान्तरण गर्यो।
सर्वसाधरणलाई मंसिर १५ गतेबाट दिइने यो पासपोर्ट जोशीलाई मंसिर १ गते नै एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले वितरण गरेका थिए।
एक सय दुई वर्ष पुगेका जोशीलाई भने आफूले पाएको पहिलो इ–पासपोर्टले कहाँ जाने रहर होला?
यही जिज्ञासा राख्दा उनले जवाफ फर्काए, 'मलाई कतै जाने इच्छा छैन। अब त उमेरले पनि दिँदैन। आज हो कि भोलि भइसकेँ। बाटोमा राम्ररी हिँड्न त गाह्रो भइसक्यो। हवाईजहाजमा झनै गाह्रो हुन्छ। अस्ति त उहाँहरूले उमेरको हिसाबले मलाई सम्मान गर्नुभएको हो।'
जोशीले यो सम्मान पाइरहँदा आफू सात दशकअघि सरकारी जागिरे भएको पनि सम्झिएछन्।
२००७ सालअघि नै तत्कालीन राणा सरकारले खोलेको 'औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा' मा उनी जागिरे थिए। त्यो अड्डाको उद्देश्य गाउँको सामाजिक/आर्थिक अवस्था अध्ययन गर्ने थियो।
भीमबहादुर पाँडेले त्यो बेला संस्थामा रहेका पाँच जनालाई तालिम दिएका थिए। तीनमध्ये दुई जनालाई गोरखा र बाँकीलाई कास्की, तनहुँ र लमजुङ खटाए। जोशी लमजुङ पुगे।
त्यही समय त्यहाँको लोक भाका अध्ययन गरेर उनले 'हाम्रो लोक संस्कृति' नामक किताब लेखे जसले २०१३ सालमा मदन पुरस्कार जित्यो।
मदन पुरस्कार गुठीले पहिलोपटक पुरस्कारका लागि आवेदन खुला गरेको थियो। उनले 'दिइहेरौं न त' भनेर आवेदन भरे। नभन्दै पुरस्कार पनि जिते।
उनले थप दुई पटक मदन पुरस्कार पाएका छन्- 'नेपाली राष्ट्रिय मुद्रा' किताबमार्फत २०१७ सालको र 'कर्णालीको लोक संस्कृति' किताबमार्फत २०२८ सालको।
'मैले २००० सालमा जागिर खाएको थिएँ। अहिले त ७८ वर्ष नै भइसक्यो,' जोशीले भने, 'इ–पासपोर्ट दिने कार्यक्रममा यसो हेरेको थिएँ, त्यहाँ ७८ वर्ष नाघेकै पनि कोही थिएनन्। मुश्किलले ५० कटेका केही थिए।'
उमेरले एक शतक पार गरिसकेका जोशी आफ्नो जीवनकालमा विभिन्न देश पुगेका छन्। पासपोर्टको जमाना सुरू नभइसकेको त्यो समय उनी बिनापासपोर्ट नै विभिन्न देश गएका थिए।
'टु हुम इट मे कन्सर्न' अर्थात् 'जो–जससँग सम्बन्धित छ' भन्दै सरकारले स्वीकृतिपत्र लेखिदिएपछि बाहिर जाने बाटो खुल्ने बताउँदै जोशीले भने, 'पहिला परराष्ट्र मन्त्रालय, वैदेशिक विभाग केही पनि थिएन। त्यो बेला मुन्सीखाना र जैसीकोठा भनिन्थ्यो। उनीहरूले नै परराष्ट्रको काम गर्थ्यो।'
उनले अगाडि भने, 'काठमाडौं उपत्यका नै एउटा निषेधित सहरजस्तो थियो। यहाँका मान्छे अर्को ठाउँ जान पुलिसथानामा गएर अहिलेको राहदानीजस्तो एउटा पत्र लेखेर ल्याउनुपर्थ्यो। त्यहाँका हाकिमले हामीले हेरेर जाँच गरेर पठाएकाले रोकतोक नगर्नू भनेर लेखेपछि बल्ल ढुक्कले जान पाइन्थ्यो। उताबाट आउँदा पनि त्यस्तै थियो। त्यो बेला काठमाडौंलाई नेपाल भनिन्थ्यो। नेपाल जान फलानो मान्छेलाई रोकतोक नगर्नुस् भन्ने पत्र बोकेर ल्याउनुपर्थ्यो।'
त्यस्तो समयमा हुर्किएका जोशीले बिनापासपोर्ट नै गृह मन्त्रालयको स्वीकृति लिएर २००७ सालमा श्रीलंका यात्रा गरेका थिए। पछि किताबजस्तो बनाएर सरकारले पासपोर्टको प्रणाली नै ल्यायो।
उनलाई कहिले र कसरी आफूले पहिलो पासपोर्ट लिए भन्ने सम्झना रहेनछ। चीनमा पढाउन जाँदा आफ्ना दुई केटाकेटी र श्रीमती राधादेवीलाई लैजान पासपोर्ट लगेको सम्झिन्छन्।
'पासपोर्ट आएपछि त समस्या भयो नि। श्रीमती र बच्चाहरूलाई कसरी लग्ने भनेर यताउति धाउनुपरेको थियो,' उनले भने, 'एउटा चार वर्षको र अर्को ६ वर्षको साना केटाकेटीलाई कसरी लानू? आमाको तस्बिरमा दायाँबायाँ तस्बिरहरू राखेर तीन जनाको पासपोर्ट बनाएर लगेँ।'
सत्यमोहन जोशीको प्रकाशोन्मुख आत्मकथाका लेखक गिरीश गिरी पनि हामी कुराकानी गरिरहँदा उनको घर आइपुगेका थिए। उनले हामीलाई २०२२ देखि २०२६ सालसम्म तीनपटक र २०३७ सालमा चौथोपटक जोशी चीन गएको जानकारी दिए।
'पहिलोपटक उहाँले आफ्ना दुई केटाकेटी र श्रीमतीलाई लग्नुभएको थियो। दोस्रोपटक उहाँ एक्लै जानुभयो। तेस्रोपटक जान नपाएका अरू केटाकेटी लिएर जानुभयो,' गिरीले भने, '२०२६ देखि २०३६ सालसम्म उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गर्नुहुन्थ्यो। त्यसपछि २०३७ सालमा चौथोपटक चीन जाँदा उहाँले फेरि श्रीमतीलाई लिएर जानुभएको थियो।'
यति जानकारी हामीलाई दिएपछि जोशीतिर फर्किंदै लेखक गिरीले सोधे, 'हो नि, होइन त?'
जोशीले 'हो' भन्दै टाउको हल्लाए।
उमेरले पनि होला, जोशी आफ्ना पुराना कुरा सरर भन्न सक्दैनन्। कतिपय कुरा बिर्सिन थालेका रहेछन्। लामो समयदेखि जोशीबारे लेखिरहेका गिरीले नै हामीलाई थप जानकारी दिँदै सहजीकरण गरिदिए।
२०१० सालमा जोशी एउटा छात्रवृत्ति पाएर पढ्न न्युजिल्यान्ड पुगेका थिए। त्यो बला हुलाकले उनको कागजपत्र नै अड्काएर राखेको थियो। उनी आफैं हुलाक गएर खोजबिन गरेर पत्र ल्याए।
त्यतिन्जेल उता जाने समय कम भइसकेको थियो। हतारहतार भयो। त्यो बेला ब्रिटिस दूतावासमा बाहिर जाने स्वीकृति लिन धाएका थिए। तर आफूसँग पासपोर्ट थियो कि अरू नै केही कागजात भन्ने उनीसँग सम्झना छैन।
'पासपोर्ट हो कि के कागजमा छाप लगाइदिएको थियो। जे भए पनि निसानी लिएर गएको थिएँ,' उनले भने।
त्यति बेलासम्म जोशीले विदेशी मुद्राहरू पाउन्ड, डलर केही देखेका थिएनन्। नेपालमा पाइँदैन थियो। कलकत्ता गएर भारतीय पैसा लिएर एक्लै उनी न्युजिल्यान्ड पुगे।
त्यहीँ उनले मुद्रामा काम गर्ने कार्यालय फेला पारे र भारतीय पैसालाई पाउन्डमा साटे। त्यो बेला न्युजिल्यान्डमा बेलायतको पाउन्ड चल्थ्यो।
यता नेपालमा राष्ट्र बैंक खुलेको थिएन। यहाँ विदेशी मुद्रा पाइन्थेन। बाटोमा अस्ट्रेलिया पनि पर्ने भएकाले कोलकातास्थित महावाणिज्य दूतावास गएर उनले त्यहाँको पनि भिसा लिए।
'पहिला केही थाहा थिएन। पछि गर्दागर्दै थाहा भयो,' उनले भने, 'नेपाल सरकारले दिने पासपोर्ट त्यही बेला लिएँ कि लिइनँ, त्यो भने थाहा भएन।'
नेपालमा सन् २०१० डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्ट हटाएर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरिएको थियो। विश्वका विकसित मुलुकले इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि हालै नयाँ पासपोर्ट लागू गरेको हो।
विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरू 'चिप' मा हुन्छ। यसमा हातका औंला, आँखा र अनुहारका तस्बिर कैद गरिएको हुन्छ। कुनै पनि व्यक्तिको पासपोर्ट हेर्नेबित्तिकै उसका बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ।
व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको छ।
बुधबारसम्म जोशीसँग आफ्नो पुरानो साधारण पासपोर्ट नै थियो। त्यस दिनको कार्यक्रममा उनले पुरानो पासपोर्ट मन्त्रालयलाई हस्तान्तरण गरे। बदलामा इ-पासपोर्ट पाए।
'उहाँहरूले त्यसलाई संग्रहालयमा राख्छु भनेर लग्नुभयो र नयाँ पासपोर्ट दिनुभयो,' जोशीले भने, 'दुई बच्चाबच्ची र श्रीमती भएको पासपोर्ट भने कता हरायो हरायो।'