कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन।
मृतकका आफन्तले हत्याको मुख्य योजनाकार सोही ठाउँका नवीन रावल रहेको आरोप लागाएका छन्। उनीसहित १६ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका छन्।
प्रहरीले रावललाई पक्राउ गर्न सकेको छैन। अहिलेसम्म हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दस जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही छन्। उनीहरूसँगै लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका-१ का २२ वर्षीय प्रवीन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई प्रहरीले पक्राउ गरेको छ।
बडुवालको हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा फरार रहेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका-४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटना भएको यतिका दिन बित्दा पनि मुख्य आरोपी पक्राउ गर्न र घटनाको कारण पत्ता लगाउन प्रहरीले सकेको छैन।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनाको अनुसन्धान आफैंले गरिरहेका छन्। उनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र चाँडै प्रष्ट विवरण बाहिर ल्याइने बताए।
‘हामी अनुसन्धान गर्दैछौं, आज-भोलिमा थप पक्राउ हुन सक्छन्, हामी सत्य-तथ्य के हो बाहिर ल्याउँछौं,’ उनले भने।
अपराध गर्नेलाई कुनै हालतमा नछोड्ने एसपी अधिकारीको दाबी छ।
‘त्यो क्षेत्रमा खुकरी लिएर हिँड्ने, गुण्डागर्दी गर्नेहरूप्रति कठोर रूपमा प्रहरी प्रस्तुत हुन्छ,’ एसपी अधिकारीले भने।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि लम्कीचुहामा छ। सिआइबीको टेक्निकल टिमले प्राविधिक रूपमा सहयोग गरिरहेको एसपी अधिकारीले बताए।
फरार रहेका छ जना ‘कहाँकहाँ पुगिसके, कोही इन्डियासम्म पुगिसके’ भन्ने कुरा आएको अधिकारीले बताए।
कात्तिक २३ गते बेलुका ८ बजे कैलालीको टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिकै धारिलो हतियार प्रहार गरी बडुवालको हत्या गरिएको थियो।