त्रिभुवन विमानस्थलबाट आइतबार अपराह्न रूकुमको सल्ले उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजलाई पाइलटले गन्तव्यमा नपुर्याई नेपालगन्ज अवतरण गराए। पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी आवर (समय) सकिएकाले’ अर्को दिन उडाउने भनेपछि यात्रुहरूले एक दिन नेपालगन्जमै बास बस्नुपर्यो।
यो घटनाले जहाज उडाउने पाइलटको ‘ड्युटी आवर’ कति हो भन्ने प्रश्न उठेको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाइलटको ड्युटी समय निर्धारण गरिदिएको छ। नेपालका आन्तरिक उडानका हकमा १० घन्टा ड्युटी समय र ९ घन्टा उडान अवधि तोकिएको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख क्याप्टेन दिपुराज ज्वार्चन बताउँछन्।
यसमा पनि दुर्गम, सुगम र अन्तर्राष्ट्रिय उडानका लागि छुट्टाछुट्टै अवधि तोकिएको हुन्छ। दुर्गमका लागि ८ घन्टा उड्ने र १० घन्टा ड्युटी समय हो।
‘प्राय: संसारभरि एयरलाइन्सले ‘रिस्क म्यानेजमेन्ट सिस्टम' लागू गरेका हुन्छन्। उनीहरू त्यही सिस्टममा जहाज उडाउँछन्। हाम्रोमा भने डाक्टरले प्रेस्क्रिप्सन दिएजस्तो पाइलटलाई समय छुट्याइएको हुन्छ,’ वरिष्ठ पाइलट ज्वार्चनले भने, ‘नेपालको अवस्थाअनुसार यो सब गरिएको विमान र यात्रुको सुरक्षाकै लागि हो।’
उनका अनुसार पाइलटको ड्युटी समय पाइलट अपरेसन कन्ट्रोल सेन्टरमा हाजिर भएपछि सुरू हुन्छ। यो समयमा उडानको तयारीसम्बन्धी कार्यहरू गरिन्छ। गन्तव्य विमानस्थल, उडाउने ठाउँको विमानस्थल, वैकल्पिक विमानस्थल र रूटको मौसम हेरिन्छ।
त्यसपछि चालक दलको मेडिकल डकुमेन्ट, लाइसेन्स डकुमेन्ट परीक्षण हुन्छ। विमानमा कति यात्रु छन् र उनीहरूको अवस्था के छ भन्ने विश्लेषण हुन्छ।
प्राधिकरण र आइकाओले तोकेको ड्युटी समयभन्दा बढी काम गरे पाइलटलाई कारबाही हुन्छ। नौ घन्टाभन्दा बढी उडान भर्ने पाइलटबारे सम्बन्धित एयरलाइन्सले क्यानमा प्रतिवेदन नै बुझाउनुपर्छ।
आइतबारको घटनामा बिहान ६:१५ बजे नै सल्लेका लागि उडान तय गरिएको थियो। त्यसअनुसार पाइलट र यात्रुलाई खबर गरिएको थियो। तर मौसम प्रतिकूलताका कारण काठमाडौं-सल्ले उडान रद्द गरियो।
त्यसपछि दिउँसो २:१५ बजेका लागि पुनः उडान तालिका तोकियो। विमान चालक, परिचारक एवं यात्रुहरूलाई फोन गरेर विमानस्थल डाकियो। सबै आइपुगेर उडान भर्दा अपराह्न २:५८ बजेको थियो। काठमाडौं-सल्ले उडान भरिसक्दा कम्तीमा ५ बज्ने अवस्था थियो।
यसअनुसार पाइलटको ड्युटी बिहान सवा ५ बजे नै सुरू भएको निगमले जनाएको छ। उनले साँझ ४ बजेभन्दा बढी काम गर्न मिल्दैनथ्यो। सल्ले पुगेर नेपालगन्ज आइपुग्दा ड्युटी समयले नभ्याउने ठानेर उनले नेपालगन्ज अवतरण गराएको निगमको भनाइ छ।
‘पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घन्टा हो। बिहान ५:१५ बजे ड्युटी सुरू गरेका विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने हुँदा रूकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भयो,’ निगमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
‘फ्लाइट अपरेसन रिक्वायरमेन्ट-२०२०’ अनुसार पाइलटले एक घन्टा अतिरिक्त समय उडाउन सक्छन्। त्यसलाई पाइलटको तजबिजी अधिकार भनिन्छ। तर यो अधिकार अति आवश्यक पर्दा मात्रै प्रयोग गरिने ज्वार्चन बताउँछन्। कोही चिन्ताजनक बिरामी भएको वा तुरून्तै नगई नहुने अवस्थाबाहेक पाइलटले तजबिजी अधिकार प्रयोग नगर्ने उनको भनाइ छ।
यति हुँदाहुँदै यहाँ यात्रुहरूलाई भने गुमराहमा राखिएको छ। उनीहरू काठमाडौंबाट उड्दासम्म सल्ले पुगिन्छ भन्नेमा ढुक्क थिए। नेपालगन्जमै अवतरण भएपछि उनीहरूले जहाजमा केही समस्या भयो कि भन्ने अड्कल गरेका थिए। तर पाइलटले 'ड्युटी आवर सकिएकाले भोलि जाऔं' भनेपछि मात्रै यात्रुले थाहा पाए।
एकचोटि रद्द भइसकेको उडान फेरि सञ्चालन गर्ने क्रममा निगम व्यवस्थापनले पाइलटको ड्युटी आवर ख्याल नगर्दा यस्तो अवस्था आएको देखिन्छ।
निगमका अध्यक्ष युवराज अधिकारी भने पाइलटको ड्युटी आवरलाई ध्यानमा राखेरै रूकुम उडान गर्न खोजेको दाबी गर्छन्।
'निर्धारित समयमै उडान गर्न सकेको भए ड्युटी आवरमै पूरा हुन्थ्यो,' उनले भने, 'तर उडानमा केही समय ढिला भएर यो अवस्था आएको मैले बुझेको छु। यसबारे थप बुझ्ने काम भइरहेको छ।’
सम्बन्धित समाचार :