हिजोआज ललितपुर महानगरपालिका वरिपरिका सडकका जेब्रा–क्रसिङमा नयाँ चिह्न थपिएका छन्– जनावर हिँडेका पाइला।
मान्छे हिँड्न बनाइएका धर्सालाई जेब्रा जनावरको नामसँग जोडिएको छ। तर ललितपुरका सडकमा जेब्राकै पाइला चाहिँ छैन है!
यहाँ त सेतो धर्साले कोरिएका जेब्रा–क्रसिङका खाली भागमा पहेँलो-सेतो रङमा कुकुरजस्ता जनावरका चार औंला र पाउ दखिन्छ। यी पदचिह्नले जोकोहीको ध्यान खिच्छ।
ती पाइला कसले बनाएका होलान्? किन बनाएका होलान्?
कतै जनावरहरू आफैं हिँडेर त बनेन!
पक्कै होइन।
करिब एक महिनाअघिबाट ललितपुरका सडकमा देखिन थालेका यी चिह्न जनावरहरूको कल्याणका लागि काम गरिरहेको संस्था स्नेहाज केयरले राखेको हो।
ललितपुर महानगरपालिका र सडक विभागसँगको सहकार्यमा स्हेनाजले यहाँ ती चिह्न राखेको संस्थाकी प्रमुख स्नेहा श्रेष्ठले बताइन्।
'जसरी जेब्रा–कस्रिङ हिँड्दा मान्छेलाई प्राथमिकता दिइन्छ, त्यसरी नै जनावरलाई पनि प्राथमिकता दिनुपर्छ,' उनले भनिन्, 'यो सडक जति गाडी र मान्छेका लागि हो, जनावरका लागि पनि हो। सवारी चालकहरूलाई बाटो काट्नेमध्ये जनावरहरू पनि हुन् है भन्ने सचेतना दिन हामीले त्यहाँ यस्ता चिह्न बनाएका हौं।'
ललितपुरका सबै ठाउँमा यो चिह्न बनाउने योजना भए पनि अहिलेलाई कुपन्डोलदेखि सातदोबाटो अनि पाटन र सानेपाका भित्री केही गल्लीमा यस्ता चिह्न बनेका छन्।
मान्छेहरूले आफ्ना चौपाया र कुकुरलाई बाटामा छाड्ने क्रम बढ्दो छ। स्नेहाका अनुसार हरेक महिना २५ देखि ३० वटा जनावरलाई सवारीले ठक्कर दिएर भागेको घटनाबारे उनीहरूको संस्थालाई खबर आउँछ। गाडीले हानिदिएर जनावरको उपचार वा खोजिनिती नगरी भाग्नेहरू हुन्छन्। स्नेहाकै संस्थामा त्यसरी हानेर पक्षघात र अंगभंग भएका करिब १५ वटा कुकुर छन्।
विशेषगरी, सवारीसाधनले हानेर ढाड भाँचिएका ठूला चौपाया र जनावर निकै नहुने उनी बताउँछिन्।
'ललितपुरका छाडा चौपाया र कुकुरहरूबारे हामीलाई महानगरले जानकारी गराउँछ। त्योसँगै बाहिरबाट पनि खबर आउँछ,' स्नेहाले भनिन्, 'हाम्रै संस्थामा करिब एक सय ७० वटा कुकुरलाई आश्रय दिइरहेका छौं। त्यही भएकाले बाहिरका जनावरलाई चाहेर पनि हामीले सुविधा दिन गाह्रो भइरहेको छ।'
स्नेहाजले ललितपुर महानगरसँग सहकार्य गरेको यो पहिलोपटक होइन। सन् २००९–२०१० देखि नै उनीहरूले सहकार्य गर्दै आएका हुन्। महानगर वरिपरिका जनावरलाई हरेक वर्ष खोप लगाउने, छाडा चौपायालाई व्यवस्थापन गर्ने र घाइतेलाई उपचार गर्ने काम स्नेहाजले गर्दै आएको छ।
पछिल्लो समय ललितपुरलाई 'रेबिज फ्रि र बेबिज फ्रि' बनाउने पनि स्नेहाजको योजना छ। अध्ययनक्रममा ललितपुरमा मात्रै दस हजार कुकुर भएको तथ्यांक निक्लिएको थियो। कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई सरकारले सन् २०३० सम्ममा रोक्ने भनेको छ। तर कुनै पहल नगरिरहेको अवस्थामा स्नेहाजले ललितपुर महानगरसँग सहकार्य गरेको हो।
त्यसैगरी सडकमा रहेका कुकुरलाई बन्ध्याकरण गरेर छाउराछाउरी जन्माउने क्रम पनि कम गरिरहेको छ। कुकुरको बन्ध्याकरण गरेपछि उनीहरूले तिनको कान काटेर 'यु' आकारको बनाउँछन्।
'हामी सबै संस्थाले एउटै मापदण्ड अपनाएका छौं,' स्नेहाले भनिन्, 'त्यो चिह्न देखेपछि अन्य संस्थाले बन्ध्याकरण गरेको जानकारी पाउँछन्।'
बन्ध्याकरणका लागि ललितपुर महानगरले यो वर्ष पाँच लाख रूपैयाँ बजेट छुट्याएको छ। त्यसैगरी लकडाउनका बेला पनि सडकका जनावरलाई खाना खुवाउन महानगरले स्नेहाजलाई दुई लाख रूपैयाँ रकम दिएको स्नेहाले जानकारी दिइन्।
ललितपुर परिसरमै रहेको स्नेहाजले महानगरसँग सहकार्य गरेको भए पनि देशैभर आफ्नो काम गरिरहेको छ। उनीहरूले कुपन्डोल र काठमाडौं महानगरपालिकामा पनि खोप लगाउने काम गरेका छन्। त्यसैगरी कैलाली र धनगढीमा छाडा चौपाया व्यवस्थापन केन्द्र नै बनाएर काम गरेका थिए।
सन् २०१४ मा खुलेको स्नेहाज केयर सडक कुकुर र जनावरको रक्षाका लागि खुलेको संस्था हो। जनावरको हित र कल्याणका लागि काम गर्ने यो संस्थाले जनावरलाई हुने हिंसा, यातना र क्रुरताप्रति आवाज उठाउँदै आएको छ। हिजोआज पशु ऐनका लागि पनि पहल गरिरहेको छ।
'हाम्रो देश यस्तो देश हो जहाँ जनावरको पूजा हुन्छ तर तिनै जनावरलाई यातना दिइन्छ। क्रुरतापूर्वक हत्या गरिन्छ तर केही कारबाही हुँदैन,' स्नेहाले भनिन्, 'अहिलेसम्म पनि हाम्रो देशमा त्यस्तो घटनाका दोषीलाई सजाय दिने कानुन बनेको छैन। त्यस्तो क्रम कम गर्न पनि हामीले ऐन बनाउन आवाज उठाएका हौं।'
अब तपाईं पनि सडकमा सवारी चलाउँदा ध्यान दिनुहोस् है, बाटोमा मान्छे मात्र होइन जनावर पनि हिँड्छन्!
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी