मलेसियामा ६ वर्ष काम गरेर फर्केका अर्जुन गुरूङ विगत ३ वर्षदेखि भीरमौरीको मह काढ्छन्।
मंसिर र जेठ महिनामा गरी वर्षमा २ पटक मह काढ्न भीरमा चढ्ने अर्जुनले मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पमा होटल सनराइज चलाएका छन्।
कोरोना भाइरस महामारीले शिथिल पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्न उनले भीरमौरीको मह शिकारलाई उत्सवका रूपमा मनाउन खोजेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका अर्जुनसहित युवा व्यवसायीहरूको समूहले परम्परागत भीरमहको शिकारलाई यसपालि महोत्सवका रूपमा मनाउन खोजेका हुन्।
‘कोरोनाले गाउँका होटल र होमस्टेमा पाहुना आउन छाडे,’ उनले भने, ‘अन्ततिर नपाइने भीरमह काढ्दा महोत्सवका रूपमा मनाएर पर्यटक तान्न खोजेका छौं।’
उनका अनुसार यही मंसिर २१, २२ र २३ गते हनी हन्टिङ फेष्टिभल आयोजना गरिएको छ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने लान्द्रुकमा अहिले १३ वटा होटल र १० घरमा होमस्टे सञ्चालन छ।
यी होटल र होमस्टेमा कोरोना महामारीअघि नेपालीभन्दा विदेशी पर्यटकको घुइँचो हुन्थ्यो।
सिजनका बेला पर्यटकका भिडभाडले बस्ने ठाउँ पाउन समेत मुश्किल पर्थ्यो। महामारीपछि भने अवस्था फेरिएको छ।
अहिले सिजनका बेला नेपालीहरू मात्र घुम्न जाने गरेका छन्।
लान्द्रुकको पर्यटन व्यवसाय शिथिल बनेकाले ‘हनि हन्टिङ फेष्टिभल’ आयोजना गर्न लागेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कमल गुरूङले बताए।
लान्द्रुकका स्थानीयले १३ वर्ष पहिले पनि हनी हन्टिङ फेष्टिभल आयोजना गरेका थिए। त्यतिबेला पनि गाउँमा पर्यटक भित्राउन उक्त कार्यक्रम आयोजना गरिएको थियो। त्यसपश्चात गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय व्यवसायी बताउँछन्।
त्यसयता, बर्सेनि भीर मौरीको मह काढिँदै आए पनि महोत्सवका रूपमा मनाइएको थिएन।
‘कोरोना आउनुअघिसम्म पर्यटक तान्न मेला महोत्सव गर्नुपर्ने अवस्था थिएन, त्यही भएर १३ वर्षसम्म हनी हन्टिङ फेष्टिभल गरिएन,’ गुरूङले भने, ‘फेरि पर्यटक तान्न सकिन्छ कि भनेर यो कार्यक्रम आयोजना गरेका हौं।’
अन्यत्र आयोजना हुने जस्ता मेला महोत्सव गर्नुभन्दा गाउँमा वर्षौदेखि गरिँदै आएको भीरमौरीको मह शिकारलाई महोत्सवका रूपमा मनाउन खोजेको बताए।
गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले ४० वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताएका छन्। यस वर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको हुन सक्ने महशिकारी एवं हनी हन्टिङ फेष्टिभलका अध्यक्ष अर्जुनले बताए।
उनका अनुसार अहिले भीरमहको मूल्य प्रतिलिटर कम्तीमा २ हजार ५ सय रुपैयाँ पर्छ।
महोत्सवमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा र नौमती बाजा प्रदर्शन लगायतका कार्यक्रम समेत आयोजना गरिएका छन्।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल पदमार्ग र लान्द्रुक– घान्द्रुक– घोरेपानी– पुनहिल पदमार्गमा पर्ने यो यो गाउँमा हनी हन्टिङ फेष्टिभल पश्चात नेपाली पर्यटक आउने स्थानीयको विश्वास छ।
‘पर्यटक तान्न हामीले गाउँमै अर्गानिक कार्यक्रम गर्दैछौं, हनी हन्टिङ फेष्टिभलमा मह काढेको हेर्न जो पनि आउन सक्छन्,’ महोत्सवका संयोजक राम गुरुङले भने, ‘लान्द्रुकमा हनी हन्टिङ हेरेर घुम्न जान चाहनेलाई ३ वटा पदमार्ग खुला छ ।’