सर्वोच्च अदालतको स्थापनाको ७० वर्षसम्म एउटा नियम थियो जसले प्रधानन्यायाधीश पदलाई शक्तिशाली बनाएको थियो। त्यो हो- पेशी तोक्ने अधिकार। प्रधानन्यायाधीशले हरेक दिन कामको सुरूवात नै पेशी तोकेर गर्थे।
मानिसहरूले सर्वोच्च अदालतमा रिट, पुनरावेदन तथा अन्य निवेदनहरू दर्ता गरेपछि तिनको सुनुवाइ कहिले कहिले कसरी हुने भन्ने नियम हुन्छन्। त्यही नियम अनुसार सर्वोच्च अदालतको पेशी व्यवस्थापन महाशाखाले मुद्दाको क्रम मिलाउँछ। मुद्दा पेशीमा चढाउँछन्।
आउने हप्ताभरि कुनकुन मुद्दामा सुनुवाइ हुन्छ त भन्ने जानकारी यो महाशाखाले एकहप्ता अघि नै दिन्छ। साप्ताहिक सूचीमा चढाइएका मुद्दाको क्रमसंख्या अनुसार दैनिक पेशी सूची महाशाखाले नै तयार गर्छ।
कुन-कुन न्यायाधीशको एकल इजलास बनाउने, कुन-कुन न्यायाधीशको संयुक्त इजलास बनाउने, पूर्ण इजलास बनाउने भन्ने प्रधानन्यायाधीशकै हातमा हुन्थ्यो। त्यो दिन सुनुवाइ हुने कुन मुद्दा कसको इजलासमा तोक्ने भन्ने निर्णय गर्ने अधिकार उनलाई थियो।
आजदेखि त्यो अधिकार प्रधानन्यायाधीशले पाउने छैनन्। अघिल्लो हप्ता सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक फूर्लकोर्टले प्रधानन्यायाधीशको यो अधिकार कटौति हुने गरी सर्वोच्च अदालत नियमावली संसोधन गरेपछि उनको अधिकार कटौती भएको हो। फूर्लकोर्टले आजदेखि संसोधित नियमावली लागु गर्ने निर्णय गरेको थियो।
अब इजलास र पेशी गोलाप्रथाद्वारा तोकिने छ।
अब कसरी तोकिन्छ इजलास कसरी तोकिन्छ इजलासमा पेशी?
सर्वोच्च अदालतका प्रवक्ता तथा मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालका अनुसार पहिले इजलास गठनका लागि न्यायाधीशहरू बीच गोला तान्ने प्रकृया हुन्छ। इजलास गठन भैसकेपछि उनीहरूले पेशीका लागि गोलाप्रथा गर्छन्।
गोला प्रकृयाका लागि १ देखि २१ नम्बर लेखिएका गोटीहरू तयार पारिएको छ। किनभने सर्वोचच् अदालतमा २१ न्यायाधीश हुन्छन्। प्रधान्यायाधीश पहिलो नम्बरका न्यायाधीश हुन्। बरिष्ठतामा एकनम्बर उनको भयो। त्यसरी क्रमै अनुसार २१ नम्बरसम्मका न्यायाधीश हुन्छन्।
उनीहरूबीच पहिलो गोलाप्रथा इजलासका लागि हुन्छ। कसको एकल इजलास हुने कसको संयुक्त हुने र ककसको पूर्ण वा वृहत पूर्णइजलास हुने भन्ने गोला तानेर तय हुन्छ।
एक न्यायाधीशको एकल, दुई न्यायाधीशको संयुक्त, तीन न्यायाधीशको पूर्ण र पाँच वा पाँचभन्दा बढी न्यायाधीशको इजलास वृहतपूर्ण इजलास हो।
सर्वोच्च अदालतमा हप्ताका ६ दिन नै एकल र संयुक्त इजलास लाग्छन्। दिनदिनै पूर्ण र वृहत पूर्ण इजलास लाग्दैन। यी इजलासले संयुक्त इजलासमा राय बाझिएका, अलिक जटिल र गम्भीर प्रकृतिका मुद्दा हेर्छन्। यी इजलासले हेर्नुपर्ने मुद्दाको पेशी हरेक बिहीबारलाई तोकिन्छ। त्यो दिनमात्र यी इजलास गठन हुने हो।
यी इजलास गठन हुने दिन सबभन्दा पहिले यीनमा को न्यायाधीश पर्ने भनेर गोला तानिन्छ। गोला सुरूमा प्रधानन्यायाधीश त्यसपछि बरियताक्रमका आधारमा तान्ने नियम बनाइएको छ।
वृहत पूर्ण इजलास लाग्ने रहेछ भने थैलीमा राखिएका गोलाबाट १ देखि ५ अंक लेखिएका गोटी जजसले तान्छ उनीहरूको इजलास बन्ने भयो। थैलीमा २१ वटै गोला राखिन्छ। १ देखि ५ अंक लेखिएका गोला बाहेक अरू खाली हुन्छन्।
त्यो दिन अर्को पूर्ण इजलासले हेर्ने मुद्दा तोकिएका रहेछन् भने बाँकी न्यायाधीशले त्यही इजलासका लागि गोला तान्छन्। ६ देखि ८ सम्म लेखिएका जजसले तान्छन् उनीहरूको पूर्ण इजलास बन्छ। पूर्ण इजलास २ वटासम्म लाग्न सक्छ। अर्को इजलासका लागि ९ देखि ११ अंक लेखिएका गोटी बाँकी न्यायाधीशहरूले छान्छन्।
११ जना न्यायाधीशले वृहत र पूर्ण इजलास छानिसकेपछि बल्ल एकल र संयुक्त इजलासका लागि गोला तानिन्छ।
एकल इजलासका लागि अ र आ अंकित गरिएका गोली बनाइएको छ। एउटामात्र एकल इजलास लाग्ने दिन जसले थैलीबाट अ भएको गोला तान्छ उको एकल इजलास गठन हुन्छ। दुईटा लाग्ने दिन अ र आ लेखेको जुन जुनले तान्छन् उनीहरूका इजलास लाग्छन्।
त्यसपछि बाँकी न्यायाधीशले संयुक्त इजलासका लागि गोला तान्छन्। यो बिहीबारको कुरा भयो। अरू बार पहिला २१ न्यायाधीशले अ र आ लेखिएका गोला तानेर एकल इजलास गठन हुन्छ।
त्यसपछि बाँकी न्यायाधीशले संयुक्त इजलासका लागि गोला तान्छन्। संयुक्तका लागि गोला तान्दा को नियम पनि बेग्लै छ।
८ वटा संयुक्त इजलास लाग्ने रहेछन् भने। एकल इजलास रोजेर बाँकी रहेका १६ न्यायाधीशले संयुक्त इजलासका लगि गोला तान्ने हो।
बरिष्ठताको नम्बरका आधारमा ८ जना उक्त इजलासमा स्वत: रहन्छन्। उनीहरूसँग कुन न्यायाधीशको इजलास बस्ने भनेर त्यसपछिका जूनियर न्यायाधीशले गोला तान्छन्। जुन बरियता नम्बरको गोला उनीहरूले तान्छन् त्यही न्यायाधीशको इजलासमा उनीहरू बस्छन्।
यो नियम जो र विजोरबार फरक छ। जोर बार बरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वत: रहन्छन् र जुनियरले गोला तान्छन्। बिजोरबार बरिष्ठहरूले गोला तान्छन्।
यसरी संयुक्त इजलास बरिष्ठ न्यायाधीश एकजना कनिष्ठ न्यायाधीश एक जना पर्ने भयो। यसरी इजलास गठन भइसकेपछि पेशी सूची छान्ने काम हुन्।
पेशी सूचीको समूह बढीमा १० वटा हुन्छन्। तिनको नाम भने क,ख, ग,घ… राखिएको छ। गोटी पनि त्यहीअनुसार तयार गरिएको हुन्छ।
अघि गठन भएको इजलास मध्ये एक न्यायाधीशले थैलीबाट गोटी तान्छन्। आठ वटा इजलासबाट ८ जनाले गोटी तान्ने भए। जुन न्यायाधीशले ख तान्छ उनको इजलासले पेशी सूचीको ख समूहमा परेका मुद्दा हेर्ने भए।
तोकिएका इजलास भन्दा मुद्दाको समूह बढी छ भने सबै इजलासले गोला तानिसकेपछि बाँकी मुद्दा स्थगीत हुन्छन्।
यसरी गोलाप्रथाबाट इजलास र पेशी तोक्दा प्रधानन्यायाधीशले तजबीचका आधारमा तोकेको भन्दा बढी पारदर्शी हुन्छ भन्ने आवास उठ्दै आएको थियो। नेपाल बारले मंगलबार विज्ञप्ति जारी गरी गोलाप्रथाको स्वागत गरेको थियो।
बारले केही वर्षअघिदेखि इजलास गठन र पेशी तोक्ने काम गोलाप्रथा वा अटोमेसन प्रविधिले गर्नुपर्ने माग गर्दै आएको थियो।
गएको वर्ष न्यायालयमा हुने विकृति विंगति रोक्ने उपायको खोजि गर्न भन्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको अध्ययन समितिले पनि गोलाप्रथा र अटोमेसनमा जान सुझाएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले भने सुरूमा गोलाप्रथा लागु गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेपनि पछि आनाकानी गरेका थिए। उनलाई सर्वोच्चभित्रै गोलाप्रथा लागु गर्न चर्को दबाब थियो।
गोलाप्रथा लागु गर्न आनाकानी गरिरहेका प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषदमा भागबण्डा मागेको खबर दशैं अघि बाहिरियो।
दशै विदा सकिएपछि कार्तिकको दोस्रो साताबाट प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका सबै न्यायाधीशहरू र नेपाल बार एशोसिएशन छुट्टाछुट्टै आन्दोलनमा थिए।
सर्वोच्च अदालतका सबै न्यायाधीशले प्रधानन्यायाधीशको इजलास बहिष्कार गरेका थिए। उनीहरूले प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बसेनन्। नेपालबारले सर्वोच्चको परिसरमा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने, मूल गेटमा धर्ना बस्दै आएको थियो
गोलाप्रथा लागु भएसँगै प्रधानन्यायाधीशको पेशी र इजलास तोक्ने अधिकार कटौति भएपछि न्यायाधीशहरू इजलास फर्किएका छन्। तर राणाले राजीनामा दिनुपर्ने अडान कायम राख्दै उनीसँग इजलास सेयर नगर्ने नि भएका छन्।
आज भने प्रधानन्यायाधीश राणा कोरोना संक्रमण भएकाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।
त्यस्तै नेपाल बारले भने प्रधानन्यायाधीशको राजीनामा, जिल्ला अदालत र उच्च अदालतमा पनि गोलाप्रथा लागु गर्न माग गर्दै सर्वोच्च परिसरमा विरोध प्रदर्शज जारी राख्ने जनाएको छ।