कुनै बेला कबड्डी खेलेर नेपालीको मान राखेका र भारतीयको समेत मन जितेका सञ्जय श्रेष्ठ अचेल आमाबुवाको होटलमा काम गर्छन्।
बिहान नित्यकर्म सकेर उनी क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजारको होटल पुगेर बेलुका ९/१० सम्म काममा खटिन्छन्।
होटलका सबैजसो काममा तल्लीन हुँदाहुँदै उनले बिर्सिसक्छन् आफू कुनैबेला राष्ट्रिय खेलाडी थिएँ भन्ने कुरा। जब सम्झिन्छन्, मौका हेरेर आफ्ना ग्राहकसँग आफ्नो खेल जीवनका किस्सा सुनाउँछन्।
केही समयअघि हामीसँग पनि उनले आफू खेलाडी रहेको बताए। चार वटा साग खेलकुदअन्तर्गत कबड्डी खेलिसकेका रहेछन्।
‘जवानी खेलकुदमै बित्यो। जागिर गर्ने उमेर रहेन। के गर्ने अब,’ उनले भने।
अर्कोदिन उनको खेलजीवनबारे सोध्न हामी घरै पुग्यौं।
सुत्ने कोठाको ढोका खोले, उनको अनुहारमा आफ्नै अतीतको उज्यालो छाया पर्यो।
खेलाडीका लागि चर्चित ठाउँ मानिने धनुषाको महेन्द्रनगर–सखुवाबाट उनले २०५५ सालदेखि नै कबड्डी खेल्न थालेको बताए।
सुरूमा उनको रूची फुटबलमा थियो रे। तर ठूलाबडाले कबड्डी खेलेको देखेर विस्तारै त्यैतिर लगाव बढ्दै गएछ।
पहिलो श्रेणीमा एसएलसी पास गरेका उनले खेलकै लागि बाँकी पढाइ छोडिदिए।
क्षिरेश्वर स्पोर्ट्स क्लबबाट उनले खेल सुरू गरेका थिए। विभिन्न टिमसँग हुने प्रतिष्पर्धामा राम्रो प्रदर्शन गर्दै गए।
'मैले थोरै समयमा खुबै प्रशंसा बटु्ले। खेलप्रतिको लगाव, मेहनत र उनको क्षमता देखेर आमाबुवाले पनि त्यसमै राम्रो गर्न सुझाव दिए।'
जिल्ला लेभेलमा राम्रो प्रदर्शन गरिसकेका उनले राष्ट्रिय लेभलमै खेल्ने अवसर पाए।
२०५८ सालको कुरा हो, उनी १९ वर्षका थिए। राष्ट्रिय खेलकुद परिषदले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। उनी मध्यमाञ्चलबाट राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि छनोट भए।
तर खेल सुरू हुनुभन्दा एक हप्ता अगाबै दरबार हत्याकाण्ड भयो। घटनापछि सो प्रतियोगिता स्थगित भयो।
‘दीपेन्द्रले खेल प्रतियोगिताको उद्घाटन गर्ने सेड्युल थियो। तर घटनापछि हामी सबै स्तब्ध भयौं, निरास भएर घर फर्कियौं,’ उनले सुनाए।
श्रेष्ठले कबड्डीको अभ्यास निरन्तर जारी राखे। टेक्निकमा पनि उनी माहिर थिए। राष्ट्रिय खेल नखेल्दै उनले खुला सेलेक्सनबाट पाकिस्तानमा आयोजना हुने ९ औं साग खेलकुदका लागि उनको नाम पनि छनोट भयो।
तर यसपालिको खेलमा पनि राष्ट्रिय प्रतियोगिताकै नियति दोहोरियो।
अमेरिकामा अलकायदाको आतंकी हमलापछि खेल स्थगित भयो। अर्को वर्ष फेरि सोही खेलका लागि ओपन सेलेक्सन भयो। त्यसमा पनि उनी चुनिए।
फेरि इराकमा अमेरिकाले हमला गरेपछि खेल स्थगित भयो।
‘कहिले मौका मिल्ला भन्ने त्यतिखेर एकदमै चिन्ता लाग्थ्यो। खेल स्थगित हुँदै गए पनि हामीले क्याम्पमा ट्रेनिङ जारी राख्यौं। पहिलो पटक स्थगित हुँदा पासपोर्ट र दोस्रो पटकमा ब्लेजर पाएँ। अनि घर फर्कें,’ श्रेष्ठ सम्झिन्छन्।
२०६१ सालमा पाकिस्तान भएको नवौं सागमा बल्ल उनले खेल्ने मौका पाए।
त्यतिखेर खेल्न विदेश जाने भनेपछि गाउँमा उनको सानै बेग्लै भयो। उनको मात्र होइन आमाबाको पनि सान बढ्यो।
घरबाट आमाबुवासँग दुई हजार रुपैयाँ मागेर काठमाडौं पुगे।
‘देश, गाउँ समाज र बाउआमाको नाम राख, जितेर आउ भनेर हौसला दिएर घरबाट आमाबुवाले बस चढाएर फर्किनुभयो। २ हजार रुपैयाँ उहाँले दिनुभएको थियो। ऊ बेला काठमाडौं पुग्न ६ सय रुपैयाँ बस भाडा लाग्थ्यो। त्यसबाहेक रनिंगका लागि ५ सयको जुत्ता किनेँ। खुला प्रतियोगितामा छनोट भएपछि बल्ल फेरि खर्च पाइयो,’ उनले थपे।
भैरहवाबाट रेल चढेर नेपाली टिम पाकिस्तानका लागि प्रस्थान गर्यो।
‘पहिलो पटक रेल देखें। युपीको गोरखपुर गयौं। त्यहाँबाट अमृतसर हुँदै बाघा बोर्डरबाट पाकिस्तान पुग्यौं।'
उनले आफ्नो यात्राको कहानी पनि बिर्सेका छैनन्। गोरखपुरमा रेल ७ घण्टा ढिलो भएको र मच्छरले टोकेको समेत याद छ। किनभने यो उनको पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो, खेल थियो।
त्योबेला ज्यानै लगाएर खेलेको उनले बताए। तर नेपाललाई पाँचौं स्थानमा चित्त बुझाउनुपर्यो।
यो यात्रापछि भने अन्तर्राष्ट्रिय खेलका लागि उनलाई ढोका खुल्यो।
२०६३ सालमा श्रीलंकामा भएको १० औं सागमा भने उनी जहाज चढेर गए। त्योबेला २०६७ मा बंगलादेशको ढाकामा आयोजित ११ औं सागमा उनले कबड्डी खेले।
त्यो बेला तेस्रो भएका नेपालले ब्रन्ज मेडल जितेको थियो।
राम्रो प्रदर्शन र क्षमताकै कारण श्रेष्ठले भारतको आसाममा आयोजित १२ औं साग कबड्डी खेल्न कप्तानी पाए। त्यसमा नेपाल ५ औं स्थानमा रह्यो।
‘नेपालमा नेसनल लेभेलको टुर्नामेन्ट हुँदैन। अरू अरू देशमा जहाँ हजारौं लाखौंबाट खेलाडी चुनिन्छन्। हाम्रो देशमा मुस्किलले सय जनामा चुनिन्छन्। सालमा कम्तीमा ४ वटा त्यस्तो खेल हुनुपर्थ्यो। त्यसले खेलाडीहरूले आफ्नो क्षमता देखाउन पाउँथे र त्यसै अनुसारको खेलाडी चयन हुन्थ्यो। हामीले खेल नजित्ने मुख्य कारण यही हो,’ श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय राम्रो खेलाडीभन्दा पनि मेरो मान्छे को छन् उसलाई सेलेक्ट गरिन्छ। त्यसले पनि हामीले कबड्डीमा राम्रो प्रदर्शन देखाउन सकेनौं।’
१२ औं साग खेलेयता भने उनले नेपालका लागि न खेल्ने मौका पाए, न खेलाडीलाई सिकाउनै।
साग खेलकुदको क्रममा देखाएको प्रदर्शन र उनको क्षमता देखेर सन् २०१४ सालदेखि भारतको जयपुर पिंक प्यान्थरले उनलाई प्रो कबड्डी लिगमा बोलायो।
यसमा एउटा टिमले कम्तीमा २ र बढीमा ४ जना विदेशी खेलाडीलाई खेलाउनुपर्ने हुन्छ।
लिगको पहिलो वर्षको खेलमा खेल्ने श्रेष्ठ एक्ला नेपाली कबड्डी खेलाडी थिए।
जयपुर पिंक प्यान्थरले उनलाई पहिलो वर्ष २ लाख दिएर बोलाएको थियो।
यो उनको जिन्दगीको सबभन्दा यादगार वर्ष थियो। टिममा काम गर्दा उनी बलिउडका हिरोसँग जम्काभेट जो भएका थिए।
उनी अभ्यास गर्दै थिए देखिहाले तर बोलाउन सकेनन्। उनले फोटो खिच्दै गरेको देखेर अभिषेक बच्चन आफैं आए।
‘मैले उहाँलाई पछाडि देखेर उहाँलाई सिनमा निकाल्ने गरी साथीलाई फोटो खिच्न अह्राएँ। उहाँले फोटो खिचेको देखेपछि जिउमै चढेर फोटो खिचाउनुभयो। कहिल्यै नसोचेका हिरोसँग भेट्दा खुसीको सीमा थिएन,’ उनले थपे।
त्यो बेला उनको टिमले गेम जित्न सकेन। अनि अभिषेकले उनीहरूलाई सान्त्वना दिए।
‘हामीले पहिलो गेम हार्यौं तर अभिषेक बच्चन लगायतले सबैले टेन्सन लिनुपर्दै भनेर मोटिभेट गरेर सान्त्वाना दिए। त्यो क्षण सपना जस्तै लाग्यो, कहाँ छु थाहै भएन मलाई। कुन दुनियाँमा हराएँ थाहा पाइनँ। मन भरिएर आँसु नै आएको थियो,’ उनले भने।
त्यसपछि बच्चनले सम्पूर्ण टिमलाई फिल्म हेर्न लगे। फर्किने बेला सबै खेलाडीलाई जुत्ता किनदिए।
दोस्रो र तेस्रो सिजनमा पनि उनले जयपुरबाटै खेले।
तेस्रो सिजनमा भने उनी उदयपुर टिममा गए। उदयपुरले उनलाई अढाई लाख दिएर बोलाएको थियो।
उनको क्षमता र प्रदर्शन राम्रो देखेर चौंथो सिजनमा बेंगलुरु बुल्सले श्रेष्ठलाई ५ लाख दियो।
कबड्डी खेलमा उनको उचाइ बढ्दै गयो।
बेंगलुरुले नै ५ औं सिजनमा उनलाई ८ लाख भारू दियो। त्यसपछि छैठौं र सातौं सिजनमा समेत उनले बेंगलुरुबाटै खेले।
७ औं सिजनमा बेंगलुरुले उनलाई १० लाख भारू दिएको उनले बताए।
सो लिग खेलेर नेपाल फर्किएका उनी त्यसयता होटलमै समय बिताउने गरेका छन्।
‘देशलाई जतिखेर खेलाडी चाहिएको थियो त्यतिबेला हात खुट्टा भाँचेर खेल्यौं। तर जवानी गइसकेपछि हामीलाई हेरेन। इन्डियामा प्रो कबड्डी लिगबाट मलाई आम्दानी भयो तर देशमा मजस्ता सयौं खेलाडी छन् उनीहरूले के पाए?,’ उनले प्रश्न गरे, ‘घर परिवार चलाउन नेपालबाट हामीले केही सेवासुविधा पाएनौं। सागमा खेल्दा १ सय २०–२५ डलर भत्ताबाहेक केही दिँदैनन्। गेमका बेला खान, बस्न बाहेक खाजा खर्चको नाउँमा दिनको ५० रुपैयाँ दिन्थ्यो त्यसले के हुन्छ?’
खेलकुद क्षेत्रलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ।
खेलकुदमा अघि बढ्न सरकारले एकेडेमी खोल्नुका साथै, टुर्नामेन्ट गराउनुपर्ने र खेलाडीलाई भत्ता तथा जागिर दिनुपर्ने उनले बताए।
‘इन्डियामा खेल्ने बित्तिकै जब फिक्स हुन्छ। रेल्वे, एयरफोर्स, पोष्ट अफिसमा पाउँछन्। तर पुलिस, सशस्त्र र आर्मीबाहेक नेपालमा कसैले काम पाएका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘यहाँ घरबाट खाएर खेल्नुपर्छ। तै पनि हामीले खेल्यौं। तर रिटायर भएपछि के गर्ने?
उनले खेलाडीको अवस्था देखे भोगेपछि आफ्नो छोरालाई यसमा नलगाउने निचोडमा पुगेका छन्। 'अरूतिरै लाग्न भन्छु,' उनले भने।
उनका दुईजना छोरा छन्।
उनका अनुसार जबसम्म एनपिएल लगायतका राष्ट्रिय टुर्नामेन्ट हुँदेन तबसम्म माथिल्लो स्तरमा फाइट गर्न गाह्रो हुन्छ।
जिल्ला-जिल्लामा पनि गेम भइराख्नुपर्छ।
'पहिले धेरै हुन्थ्यो अहिले झन् बढी हुनुपर्थ्यो तर एकदम कम देखिन्छ,' उनले भने। प्रदेश २ त झन् खेलको अवस्था चित्त बुझ्दो छैन भन्ने उनलाई लाग्छ।
श्रेष्ठले कबड्डीको इन्टरनेसनल कोचको एड्भान्स कोर्स गरेको प्रमाणपत्र समेत पाएका छन्। तर खेलकुदै नहुँदा प्रमाण पत्र बाकसमा बन्द गरेर राख्नुपरेको उनले बताए।
असिस्टेन्ट कोचमा डिस्टिङ्सन मार्कले पास गरे। तीन महिनामा कोर्ष गर्न एक लाखभन्दा बढी खर्च भयो।
ढल्केवर-जनकपुर सडकखण्डको सखुवा चोकबाट १ किलोमिटर पूर्व गएपछि आउने मुख्य सडकमै रहेको घरको आफ्नो कोठामा उनले ती प्रमाणपत्र थन्क्याएका छन्।
कुरा गर्दै उनले विस्तारै आफ्नो ओछ्यान उठाए।
'यहाँ छ नि मेरो गौरवको कथा' भनेझैं उनले निकाले धुलो लागेका केही प्रमाणपत्र। कतिपयमा त थन्क्याउँदा थन्क्याउँदै अक्षरहरू मेटिन थालेका छन्।
'सबै प्रमाण पत्र हेर्छु अनि पुराना दिन सम्झेर फेरि राखिदिन्छु,’ उनले भने।
उनको जवानीको कमाइ यिनै प्रमाण पत्र हुन्।
'कसैको लागि कागजको टुक्रा मात्र हो मेरो भने आफ्नो जिन्दगीलाई अर्थ दिने कुरा। यो संसारमा जन्मेर मैले केही गरेको छु भनेर आफूमाथि गर्व गर्न यिनैले मलाई सम्झाउँछन्,' उनी भन्छन्।
उनी सुत्ने कोठाको चारै भित्तामा उनले टाँसेका छन् आफ्नो खेल जीवनका फोटो। पुराना फोटो अहिले हेर्दा फिक्का देखिन्छन् तर तिनैले सम्झाउँछन् उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा बिताएका दिनको याद।
देश विदेशमा कबड्डी खेलेर उनले मेडल पनि पाएका थिए। ती मेडलमा अचेल माकुरोको जालो लागेको रहेछ। जालो पुछ्दै उनले भने, ‘यहीँ हो मरो सम्पत्ति।’
अवसर पाए सयौं खेलाडी उत्पादन तथा प्रशिक्षण गर्ने इच्छा उनलाई छ। उनले कुरिरहेको पनि त्यही अवसर हो।