त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुका लागि नि:शुल्क 'सटल बस' सेवा सुरू गरेको छ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अब यात्रु विमानस्थलको टर्मिनल भवनदेखि गोल्डेन गेट (विमानस्थल बाहिर रहेको गेट) सम्म निःशुल्क बस चढेर आउन सक्नेछन्।
उक्त सेवा विमानस्थलले मंसिर १५ देखि सुरू गरेको हो।
अब विमानस्थलबाट बाहिरी मुख्य सडक र मुख्य सडकदेखि विमानस्थल जाने यात्रुले यो सेवा लिन सक्ने भनिएको छ। तर यो सेवा अहिलेलाई आन्तरिक टर्मिनलमा मात्र सुरू गरिएको छ।
प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय टर्मिनलमा थोरै निर्माण कार्य चलिरहेको हुँदा उक्त कार्य सकिनेबित्तिकै अन्तर्राष्ट्रिय टर्मिनलमा पनि यो सेवा सुरू गर्ने जनाए।
अहिले तीन वटा माइक्रो सुरू गरिएको यो सेवा छिट्टै एउटा माइक्रो थप्ने विमानस्थलको तयारी छ।
निःशुल्क बस सेवा सुरू भएसँगै यसबाट सेवा लिने यात्रुहरू पहिलो दिन नै ६ सय पुगेका थिए। अहिले धेरै यात्रुहरूलाई यो सेवाबारे थाहा नभएको भन्दै आगामी दिनमा सेवा लिने यात्रुको संख्या बढ्ने ठाकुर बताउँछन्।
हेर्नुस् ठाकुरसँग हामीले कुराकानी गरेर तयार पारेको यो भिडिओः