कक्षा ८ पढ्दै गरेका १५ वर्षीय ढाट साउदको सेतीमा बगेर ज्यान गएको ८-९ वर्ष भयो। त्यसयता उनकै गाउँका अरू ५ जनाले नदी तर्ने क्रममा बगेर ज्यान गुमाए।
गत वर्ष सामान लिन कालागाड बजार गएका ५५ वर्षीय पदमबहादुर साउद फर्कंदा ट्युब पल्टेर बेपत्ता भए। सेतीमा बगेका उनको शव अहिलेसम्म भेटिएको छैन।
त्यसअघि बजार जान लागेका ५२ वर्षीय लालबहादुर साउदको पनि ट्युबबाटै खसेर मृत्यु भयो। त्यसअघि स्थानीय खडकबहादुर र शिवराजको पनि त्यसरीनै बगेरै मृत्यु भएको थियो। उनीहरू डोटीको दिपायल सिलगढी नगरपालिका–३ मेल्तडा र मटिवटार गाउँका हुन्।
यी गाउँ संघीय सरकारका मन्त्री प्रेमकुमार आले र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्वाचन क्षेत्रमा पर्छन्।
यी दुई गाउँ सेती नदीको वारिपट्टि छन्। पारि जानुपरे पुल छैन। सामान किन्न र स्कुल जानेलाई सेती पारी नगई हुँदैन। त्यसैले गाडीका टायरबाट बनाइएका ट्युबलाई उनीहरू खोला तर्न प्रयोग गर्छन्।
गाडीका टायरमाथि हलुका काठका फलेकहरू जोडेर ट्युब बनाइन्छ। नदी तर्न ट्युबको प्रयोग हुन्छ।
यस वर्ष सेतीको पानी अझै घटेको छैन। त्यसैले गाउँका केटाकेटीलाई नदी तरेर स्कुल जान अनुमति छैन। झण्डै २ घण्टा हिँडेर स्कुल जान पर्छ।
तर घण्टौं हिँड्नुपर्ने दुःखले यहाँका विद्यार्थी अभिभावकको आँखा छलेर ट्युबबाटै स्कुल आउने-जाने गरिरहेका छन्।
मेल्तडाका ढाट साउदका ३ छोरी सेती पारीको सरकारी स्कुल पढ्न जान्छन्। उनका एक छोरा बोर्डिङ पढ्न पनि सेती पारि नै पुग्छन्।
बिहान रोटी नास्ता खाएर उनका केटाकेटी टिफिनमा केही बोकेर स्कुल जान्छन्। ट्युबबाट नदी नतरे पुलको बाटो स्कुल पुग्न उनीहरूले घण्टौं हिँड्नुपर्छ। सबेरै घरबाट नहिँडे समयमा स्कुल पुगिँदैन।
बिहीबार बिहानै ७ बजे उनीहरू बाफिसैनको बाटो हुँदै स्कुल गएका थिए। गाउँबाट बाफिसैनसम्म पुग्न एक घण्टा लाग्छ। त्यहाँबाट फेरि स्कुल पुग्न थप एक घाण्टा।
‘गाउँमा ५ कक्षा मात्र पढ्ने स्कुल छ, ५ पास भएकाहरू सेतीपारी मडैगाउँको स्कुलमा जान्छन्,’ साउदले सेतोपाटीसँग भने।
शिखर नगरपालिका–२ को मडैगाउँ सेती पारि पर्छ।
१२ कक्षासम्म पढाइ हुने यो स्कुल उनीहरूको गाउँबाट सबभन्दा नजिकको स्कुल हो। तर त्यहाँ पुग्न विद्यार्थीले धेरै संघर्ष गर्नुपर्छ।
गाउँमा ५ कक्षा माथिको स्कुल नभएपछि थप पढ्न कोही सदरमुकाम दिपायल त कोही टिकापुरसम्म पुग्छन्।
दिपायल सिलगढी नगरपालिका-३ का वडा सदस्य झलक साउँदले गाउँका ३०/४० जना बच्चा शिखर नगरपालिका–२ मा रहेका स्कुलमा पढ्न सेती तरेर जाने गरेका बताए।
वडा सदस्य साउदले सेतीमा पानी अझै नघटेकाले डुंगाबाट विद्यार्थी तर्न जोखिम हुने बताए।
‘अहिले पनि सेतीमा पानी घटेको छैन। डरले केटाकेटीलाई नाउमा तराउन समस्या भइरहेको छ, कोही बजार जानेहरू पनि त्यही नाउमा जोखिम मोलेरै जान्छन्,’ उनले भने।
आफ्ना सन्तानलाई स्कुल पठाउन खोलो बीचमा आएपछि गाउँलेहरू निकै चिन्तित भएका थिए।
पुल पनि तत्काल नबन्ने देखेपछि केही वर्षअघि उनीहरूले वैकल्पिक उपायको खोजी गरे।
टायरमा फ्ल्याक जोडेर तैरिँदै नदी तर्न सकिने भएपछि उनीहरूले २ वटा ट्युब बनाएका थिए। त्यसपछि अरूले पनि ट्युब बनाउन थाले।
सधैझैं यस वर्ष पनि १८ घर गाउँले मिलेर २ वटा ट्युबका लागि टायर किनेका छन्। पोहरका दुइटा भएकाले अब नदी तर्न चार वटा ट्युब भए।
‘पहिला बाउबाजेका पालादेखि सिमलको डुंगा बनाउने गरेका थियौं,अहिले सिमल काट्न पाइँदैन। त्यसैले ट्युबमाथि फ्ल्याक बाँधेर नाउ बनाउँछौं,’ वडा सदस्य साउदले भने।
यसपालि ट्युब किन्दा पञ्चर भएकैलाई एउटाको १३ सय पर्यो। अर्को ट्युबका लागि चाहिने टायर भने गाउँलेले माछासँग साटे।
'पञ्चर टायर नै त्यति धेरै महँगो छ। पछि ड्राइभरलाई ३ केजी सेतीको माछा मारेर ल्याइदिएपछि अर्को टायर पायौं' उनले भने।
हाइवेमा चल्ने गाडीवालासँग ट्युब किने, फ्ल्याक गाउँमा पोहरकै थिए। ६० मिटर जति डोरी उधारोमा नयाँ किनेका छन्।
उनीहरूले ४ वटा ट्युबमाथि ६ वटा फ्ल्याक राखेर डोरीले बाँधेका छन्। बाँकी रहेका २०-२५ घरधुरीबाट रकम उठेपछि डोरीको उधारो तिर्ने उनले बताए।
यो नाउ हिउँदमा केटाकेटी स्कुल जान-आउन बढी प्रयोग गर्छन्। सामान लिन कालागाढ बजार जाने पनि चढ्छन्।
‘नाउ जो पायक पर्छ उही चलाउँछ। नाउ तरेको पैसा पर्दैन,’ उनले भने।
साउदका अनुसार पोहर कात्तिकमै सेतीको पानी घटेपछि डुंगा तर्न थालेका स्कुले केटाकेटी यस वर्ष पानी नघटेकाले अझै डुंगा तर्ने अनुमति पाएका छैनन्।
‘स्कुल पढ्न पठाएका केटाकेटी बेलुका घर नआएसम्म के-खबर आउने हो कि भन्ने चिन्तामा अभिभावक हुन्छन्,’ उनले भने, ‘मैले जानेदेखि १५ जनाको सेतीमा बगेर मृत्यु भएको छ। यीमध्ये दुई जना विद्यार्थी थिए।’
उनले पारि जानुपर्ने बाध्यता रहेको सुनाए।
‘नदी तरेर पारि जानैपर्ने हुन्छ, नगए केटाकेटी कसरी पढ्छन्, सामान कहाँ किन्ने, छोटो बाटो यसैबाट हुन्छ,’ उनले भने।
स्वयं वडा सदस्य रहेका उनले पुल बनाउनुपर्यो भनेर वर्षौंदेखि भने पनि सुनुवाइ नभएको बताए।
‘स्थानीय वडाबाट पुल बनाउन पुग्ने बजेट छैन। नगरबाट योजना आएको छैन,’ उनले भने।
सरकारलाई सो ठाउँमा पुल बनाइदिन माग गर्दै दिपायल सिलगढी नगरपालिकाले निवेदन दिएको छ। पुल बनाउन केन्द्रबाट आएको टोलीले पोहर साल मंसिरमै सर्भे गरेको थियो।
‘उनीहरूले टावरवाला करोडजतिको पुल बन्ने भनेका थिए। स्टिमेट के बन्यो थाहा भएन, एक वर्षयता फेरि कोही आएको छैन,’ उनले भने।
टेण्डर हुन्छ भन्थे भएन। नेताहरूलाई फोन गरे पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे।
स्कुले केटाकेटीदेखि गाउँका जवान युवाले पुल नभएकै कारण ज्यान गुमाउनुपरेको सम्झेर नदी पार गर्दा सधैं स्थानीय तर्सन्छन्।
यही क्षेत्रबाट चुनाव जितेका प्रेमकुमार आले अहिले संघीय सरकारका मन्त्री छन्। प्रदेश सभा ‘ख’ बाट चुनाव जितेका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री छन्।
सांसददेखि केन्द्रीय मन्त्री, मुख्यमन्त्री समेत उत्पादन गरेको यो क्षेत्रका जनताले वर्षौंदेखि भोगेको समस्या उनीहरूको नजरमा अझै परेको छैन।
साउदको बढी जनसङ्ख्या भएको उक्त गाउँमा करिब २ सय घरधुरी छन्। उक्त गाउँका स्थानीयबासीले सामान्य घर खर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउँको बजारमा आउनुपर्छ।
उक्त बजारमा आउनका लागि स्थानीय महिला, केटाकेटी लगायतकाले ट्युबको भरमा यात्रा गर्ने गरेको स्थानीयबासी बताउँछन्।