शनिबार पाटन दुई कुराले गुलजार थियो।
पहिलो ३८ वर्षपछि हराएको पट्को टोलस्थित विष्णु–नारायण मूर्ति यथास्थानमा प्रतिस्थापन गरियो।
सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको 'स्टोलन इमेजेज अफ नेपाल' मा समेत उल्लेख भएको उक्त मूर्ति सन् १९८४ मा चोरी भएको थियो। पछि यो अमेरिकाको डल्लास म्युजियममा भेटियो।
नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्षपहिले तस्बिर खोजीका माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसलगत्तै फिर्ताका प्रक्रिया सुरू भए।
गत वैशाख ३ मा नेपाल फिर्ता ल्याएर पाटन संग्रहालयमा राखिएको उक्त मूर्ति ३८ वर्ष पुरानै स्थानमा प्रतिस्थापन गराउन स्थानीयहरूले उक्त ठाउँलाई आज जात्रामय नै बनाएका थिए।
नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दाँया भागले नारायण र बाँया भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ। हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्तिपछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो।
मूर्ति फेरि हराउनबाट जोगाउन मूर्तिमा 'सेन्सर' जडान गरिएको छ, जसलाई उठाउन खोजेमा बज्नेछ। साथै विभिन्न ठाउँमा सिसीटिभी क्यामरा पनि जडान गरिएको मन्दिरका गुठियार विमललाल श्रेष्ठले बताए।
'पहिलेजसरी मूर्ति चोरी नहोस् भन्नेमा हामी निकै सचेत छौं,' उनले भने।
दोस्रो गज्जब काम संग्रहालयनजिकै बन्दै गरेको भिमसेन मन्दिरमा भइरहेको थियो।
मन्दिर निर्माणमा स्थानीयले आज बिहान ९ बजेदेखि दिउँसो दुई बजेसम्म श्रमदान गरे। आदर्श कन्या क्याम्पसदेखि स्थानीयहरू लश्करै लाइन लागेर मन्दिरको छानाको लागि इँटा र माटो तलदेखि माथिसम्म पुर्याइरहेका थिए।
यसरी मन्दिर निर्माणमा श्रमदान गर्नु आफ्नो चलिआएको चलन र संस्कृति भएको मंगल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधानले बताए। उनका अनुसार यहाँको सबै जातजाति र संस्थासँग छलफल गरेर आयोजना गरिएको जनश्रमदान कार्यक्रममा सयौंले जनसहभागिता जनाएका थिए।
बिहान ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कार्यक्रमको उद्घाटन गरेकी थिइन्। त्यसपछि युवादेखि वृद्ध उमेरका मान्छेले पनि सहभागिता जनाएका थिए।
'यो मन्दिर सरकार वा विदेशीको सहयोगमा नभई हामीले नै चन्दा उठाएर बनाएका हौं। मन्दिरमा स्थानीयको ठूलो आस्था पनि जोडिएकाले यस्तो कार्यक्रम गरेका हौं,' प्रधानले भने।
श्रमदानमा डेढ घण्टा काम गरेका ७१ वर्षीय चिरिकाजी प्रजापतिले यसरी भगवानका लागि श्रमदान गर्न पाउनु खुसीको कुरा भएको बताए। च्यासल घर भएका उनले च्यासलकै भिमसेन मन्दिर निर्माणमा पनि श्रमदान गरेका रहेछन्। शनिबार यहाँ श्रमदान गरिरहेको देखेपछि उनले पनि सहभागिता जनाएका रहेछन्।
'बोलाएको होइन, आफैं आएको हुँ,' उनले भने, 'हाम्रो घर बनाएको ठाउँमा त अलिअलि मर्मत गर्नुपर्छ भने मन्दिर नै बनाउँदा सहयोग गर्नुपरेन? पहिले पनि धेरै मन्दिर निर्माणमा श्रमदान गरिसकेको छु।'
उनीजस्तै भावनाका साथ मान्छेहरू यहाँ आएका थिए। आफ्नो जीवनकालमा तीनपटकसम्म जङ्क्व गरिसकेका मान्छेसमेत श्रमदान गर्न आएको प्रधानले बताए।
भुइँचालोमा जीर्ण भएको भिमसेन मन्दिर सुरूमा भारतले जीर्णोद्धार गर्ने भएको थियो। लामो समयसम्म पनि काम नथालेकाले स्थानीयलाई मन्दिर असुरक्षित भएजस्तो लाग्यो।
त्यसपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले भारतीय राजदूतलाई भेटेरै भनेछन्, 'अन्यथा लिनुहुन्न भने यसको पुनर्निर्माण हामी आफैं गर्न अनुमति चाहन्छौं। चन्दा उढाएर भए पनि बनाउँछौं।'
राजदूत सहमत भएपछि जनस्तरबाट बनेको समितिमार्फत यो मन्दिर जीर्णोद्धार भइरहेको छ। प्रधानका अनुसार मन्दिर निर्माणमा ४ करोड ८३ लाख खर्च लाग्ने अनुमान गरिएकोमा थप १० लाख लाग्ने देखिएको छ।
सुरूमा मन्दिर जीर्णोद्धारलाई यहाँको उद्योग बाणिज्यबाट दस लाख राखिएको थियो। त्यसमा नगरपालिकाले एक करोड, यहाँका स्थानीय व्यापारी विकेश श्रेष्ठले एक करोड र इन्भेष्टमेन्ट बैंकका पृथ्वी बहादुर पाण्डेले दुईपटक पचास लाख सहयोग गरेका छन्। यहाँ मानिसले दस-बीस रूपैयाँदेखि लाखौंसम्म सहयोग गरेका छन्।
मन्दिरमुनि बाटैमा एउटा तामाको घ्याम्पो छ। त्यसमा पनि मान्छेहरूले धेरै पैसा खसालेको प्रधान बताउँछन्।
'हामीले तीनपटक गरेर त्यो घ्याम्पो खोल्दा ७–८ लाख रूपैयाँ भएको थियो,' उनले भने, 'कस्तोसम्म पैसा आयो भन्दा मान्छेले वृद्ध भत्ता लिएर आएको हुन्छ नि, त्यो पैसा पनि कागजसहितै यहाँ राख्नुभएको रहेछ।'
शनिबार जनश्रमदान क्रममा पनि मान्छेहरू चन्दा राख्न आइरहेको उनले बताए। हालसम्ममा पाँच करोडभन्दा रकम उठिसकेको छ। यो मन्दिर जनसमुदायले चाहेमा यसरी पनि मन्दिर निर्माण हुने रहेछ भनेर उदाहरण साबित भएको छ।
मन्दिर यही मंसिरसम्ममा निर्माण सकेर उद्घाटन गर्ने योजना थियो। अब माघसम्ममा सबै काम सकेर उद्घाटन गर्ने तयारी भएको प्रधान बताउँछन्।
'मन्दिर जीर्णोद्धार सकिएपछि यही मन्दिरपछाडि रहेको पाटी पनि जीर्णोद्धार गरेर आम्दानीको श्रोत पनि बनाउने सोच छ,' उनले भने।
अहिले तीन तला देखिने भिमसेन मन्दिर सुरूमा चपाः अर्थात सामुदायिक भवन थियो। नेवार समुदायमा चपाः, दिगी र सतः गरेर तीन प्रकारका सामुदायिक भवन हुन्छन्। यो चपाः राजा सिद्धिनरसिंह मल्लले सन् १६२७ मा बनाएका थिए। सन् १६६२ मा यहाँ आगलागी भयो। पछि श्रीनिवास मल्ल र उनका छोरा योगनरेन्द्रले सोही स्थानमा अहिलेको भिमसेन मन्दिर बनाएका हुन्।
सबै तस्बिरहरूः नवीनबाबु गुरुङ र सबिना श्रेष्ठ/ सेतोपाटी