कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या दुई समूहको रिसइबीका कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ।
घटनाको अनुसन्धान रिपोर्ट सोमबार सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नदीजन्य पदार्थ र बन पैदावारको ठेक्कापट्टामा लागेका समूहको रिसइबीका कारण बडुवालको हत्या भएको देखिएको बताए।
प्रहरी अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेका र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको हो।
लम्कीचुहा नगरपालिका-३ का ३२ वर्षीय लोकजंग शाहीले नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाहरूको समूह बनाई आपराधिक लाभको लागि परिचालन गर्ने गरेका थिए। सो समूहलाई टीकापुर नगरापलिका-६ बस्ने ३५ वर्षीय अशोक रावलले संरक्षण प्रदान गर्ने गरेका थिए।
सुरूमा एकै समूहमा रहेका जानकी गाउँपालिका-६ जगतपुर बस्ने जयन्द्र शाह र लम्कीचुहा-३ बस्ने नवीन रावलबीच मनमुटाव तथा आपसी वैमनश्यता भएपछि दुई समूहका युवाबीच पटक-पटक झगडा हुने गरेको थियो।
‘यी समूहका सदस्यविरूद्ध कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता भएको देखिएको छ,’ एसपी अधिकारीले भने।
त्यसै क्रममा २०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरी रकेर्डमा छ।
त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएका थिए।
कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा आएका कपिलले २० गते लम्की पुगी मुनमुन होटलमा एक रात र बौनियाँस्थित अनुकूल होटलमा २ रात बसी नवीन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजी गरिरहेका थिए।
कात्तिक २३ गते नवीन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको उनीहरूले थाहा पाएका थिए।
त्यो थाहा पाएपछि कपिलले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेका थिए। उनको समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाउँमा आक्रमण गर्न नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मदन शाहीले पहिले नै लम्की विद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नवीन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिए। पछि नवीन रावलले आफ्नो समूहका (आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास शेरचन) लाई टीकापुरको रोड साइड क्याफेमा जम्मा गरे। जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना उनीहरूले बनाएको खुलेको छ।
कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाए। भुपेन्द्र उनलाई लिन टीकापुर गए।
यता नवीन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँडेको थियो।
टीकापुरको जमरा पुल नजिक भुपेन्द्र बडुवाललाई देख्दा उनीहरूले आफूविरूद्ध टीकापुर आएको ठाने। अनि करिब २ किलोमिटरसम्म लखेटी सिद्धार्थ होटल नजिक पुऱ्याए। भुपेन्द्रले मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटेर नियन्त्रणमा लिए। छातीको २ पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरी उनीहरू त्यहाँबाट भागे।
नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुदै जोशीपुर पुगे। त्यहाँ एक जनाले अपराध स्वीकार्ने र अरू फरार रहने योजना बनाए।
कात्तिक २४ गते बिहान अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनियाँ बजारमै रहे। अरूलाई लोकेन्द्र कुँवरले बौनियाँ बजारभन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगी एक स्थानीयको घरमा राखे।
उनीहरूलाई खाने बस्ने व्यवस्थापन गर्ने, खर्च रकम दिने र २५ गते उनीहरूलाई भगाउन सवीनजंग शाहीले कार भाडामा लिई धनगढी-१२ जुगेडासम्म ल्याए।
सवीनजंगले नै कात्तिक २६ गते भारतीय नम्बर प्लेटको बोलेरो जीप व्यवस्था गरी उनीहरूलाई भारतको ढकिया गाउँसम्म पुर्याएर आफू फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ।
नवीन रावल र अरूले प्रयोग गरेका २ वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियाँमा ल्याई नम्बर प्लेट चेन्ज गर्न लगाए। पछि बर्दिया भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाएर राखेका ती मोटरसाइकल अहिले प्रहरीले बरामद गरेको छ।
कात्तिक २६ गते बिहान सवीनजंग शाहीले नवीन रावलसहित अरूलाई भारततर्फ पठाएका थिए। उनीहरूका ५ सेट मोबाइल आफूले लिई लुकाएर राख्न धनगढी-१६ बनबेहेडाका डेबिडचन्द्र कडायतलाई राख्न दिएका थिए। ती मोबाइल पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीको अनुसन्धानको निष्कर्षमा घटना कात्तिक २३ गते राति ८ बजेर ५२ मिनेटमा भएको थियो। टीकापुर नगरपालिका-१ को ब्लक नं २९ स्थित सिद्धार्थ होटल नजिक रहेको स्थानीय कौशीदेवी बिष्टको घर आँगनमा भएको घटना हो।
‘प्रकति हेर्दा धारिलो हतियार प्रयोग गरी भूपेन्द्र बडुवालको हत्या गरिएको देखिन्छ,’ एसपी अधिकारीले भने।
घटना भएको ६ मिनेटमै घटनास्थलमा पुगेको प्रहरीको दाबी छ। प्रहरी पुग्दा बडुवाल घाइते थिए। पछि टीकापुर अस्पतालमा उपचारका लागि पुर्याए पनि साढे ९ बजे उनको मृत्यु भयो।
घटनामा संलग्न रहेको आरोपमा बडुवालका आफन्तले २१ जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।
अहिलेसम्म बडुवाल हत्या प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। अझै ९ जना फरार रहेका प्रहरीले जनाएको छ।