राम्रा सामुदायिक स्कुल
शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठाहरू। केटाकेटीका लागि सजिला डेस्कबेन्च। हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यार्थी बस्छन्।
सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात् स्मार्ट बोर्ड टाँगिएको छ। भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहरू देखिन्छन्। पाठ्यक्रमसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरू लेखेर टाँसिएको छ। कुनै कक्षामा विद्यार्थीले बुनेका टोपी-मोजासमेत प्रदर्शनीमा राखिएका छन्।
यो सबै दृश्य बालुवाटारस्थित नेपाल राष्ट्र बैंक मुख्यालयको विपरीत दिशाबाट करिब दुई किलोमिटरभित्र लम्टङ्गिन मार्गको एउटा स्कुलमा देखिन्छ।
बाटोमै पहेँलो रङको तीन तले फराकिलो भवन छ। झट्ट हेर्दा निजी घरजस्तै देखिने यो सामुदायिक स्कुल हो।
स्कुल प्रवेशका लागि सडक पार गर्नासाथ एकापट्टि सानो गेट छ। त्यसमा लेखिएको छ- श्री पञ्चकन्या आधारभूत विद्यालय।
गेट प्रवेशसँगै भर्याङ छ। केही खुड्किला चढेपछि स्कुलको प्रांगणमा पुगिन्छ।
दायाँतिर करिब चार फिट उचाइमा विद्युतीय हाजिरी यन्त्र जडित छ। उक्त यन्त्रमा शिक्षक र विद्यार्थीले अनुहार देखाएर र बुढी औंला राखेपछि हाजिरी हुन्छ। यो हाजिरी अभिभावकहरूले घरबाटै अनुगमन गर्न सक्ने व्यवस्था पनि छ।
साना केटाकेटीका लागि भने यन्त्रसम्म पुगेर हाजिर गर्न छेउमा टेबल राखिएको छ। उनीहरू टेबलमाथि चढेर रमाउँदै, अनुहार देखाउँदै डिजिटल माध्यमबाट हाजिर गर्छन्। छेउमा स्वचालित स्यानिटाइजर यन्त्र पनि छ। विद्यार्थीलाई आवश्यकताअनुसार स्यानिटाइजर प्रयोग अनिवार्य गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा रहेको यो सामुदायिक स्कुल झट्ट हेर्दा राम्रो बोर्डिङजस्तै देखिन्छ। यसको भवन, कक्षाकोठा, मल्टिमिडिया, पुस्तकालय र विद्यार्थीको युनिर्फम हेर्दा धेरैले यसलाई बोर्डिङ स्कुल ठान्ने यहाँकी प्रधानाध्यापक विनिता रञ्जित बताउँछिन्।
'हिजो रञ्जना लिपि अभियानका केही युवाहरू आउनुभएको थियो। गेट प्रवेश गर्नासाथ यो त बोर्डिङ स्कुल पो रहेछ भन्दै फर्किनुभयो। मैले नै सम्झाएपछि बस्नुभयो र लिपि सिकाएर जानुभयो,' रञ्जितले हाँस्दै सुनाइन्।
यतिका सुविधा भएको यो सामुदायिक स्कुल नयाँ पनि होइन। रञ्जितका अनुसार यसको स्थापना २०१७ सालमा भएको हो। यहाँ नर्सरीदेखि कक्षा आठसम्म पढाइ हुन्छ। नर्सरी पढेपछि सिधै कक्षा एकमा पुग्ने व्यवस्था छ।
त्यस्तै बीचमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि भर्ना पाउँछन्। प्रधानाध्यापक रञ्जितका अनुसार गाउँमा पढेर यहाँ चार वा पाँच कक्षामा भर्ना गर्नेहरू धेरै छन्।
स्कुलमा धेरैजसो तामाङ समुदाय र दुर्गम जिल्लाका विद्यार्थी छन्। हाल बझाङ, सल्यान, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायत जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका उनले जानकारी दिइन्।
'शैक्षिक सत्र सुरू हुँदा धेरै विद्यार्थी आउँछन्। हामीले उनीहरूको पढाइ स्तर हेरेर प्रश्न सोध्छौं र त्यहीअनुसार उपयुक्त कक्षामा राख्छौं,' उनले भनिन्।
यहाँ नर्सरीदेखि पाँच कक्षासम्म पूरा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। त्यस्तै छदेखि आठसम्म विज्ञान, गणित, कम्प्युटर, ऐच्छिक गणित अंग्रेजी माध्यममा पढाइ हुन्छ। अरू विषय नेपाली माध्यममा।
'आठ कक्षासम्मै अंग्रेजी माध्यममा पढाउने कि भन्ने सोचेका थियौं। तर हामीकहाँ केही पुराना शिक्षक हुनुहुन्छ जसको अवकाश हुने बेला भइसकेको छ। उहाँहरूलाई ठूलो कक्षामा अंग्रेजीबाट पढाउन मुश्किल छ,' उनले भनिन्, 'त्यसैले अहिले अंग्रेजी माध्यम पाँचसम्म मात्र राखेका हौं।'
यो स्कुलमा १६ जना शिक्षक छन्, १४ जना महिला र दुई जना पुरुष। कुल नौ वटा कक्षामा गरी २६९ जना विद्यार्थी छन्, १ सय ४२ जना छात्र र १२७ जना छात्रा। एउटा कक्षामा कम्तीमा ३५ जना विद्यार्थी राखेर पढाउने क्षमता छ। हरेक कक्षामा विद्यार्थी संख्या पूरा छन्।
प्रधानाध्यापक रञ्जितका अनुसार स्कुलमा पारिवारिक वातावरण छ। शिक्षण सिकाइ बालमैत्री छ। विद्यार्थीप्रति शिक्षकहरूको समर्पण र समुदायको विश्वास नै यहाँको विशेषता भएको बताउँछिन् उनी।
'विगतमा घरेलु कामदारका छोराछोरी धेरै पढ्थे। अहिले १४ प्रतिशत मात्र छन्,' उनले भनिन्, 'त्यो भनेको विद्यालयप्रति समुदायको विश्वास हो। अहिले निजी स्कुल गएकाहरू पनि फर्केर आइरहेका छन्।'
सामुदायिक स्कुलमा पढाइ राम्रो हुँदैन भन्ने मानसिकता अधिकांशमा छ। त्यसैले आर्थिक अवस्था धेरै बलियो नभएकाले पनि जोरजाम गरेरै आफ्ना सन्तानलाई निजी स्कुल पठाउँछन्। तर यो सामुदायिक स्कुलले यस्ता मान्यतालाई चुनौती दिँदै जेहेन्दार विद्यार्थी उत्पादन गरिरहेको प्रधानाध्यापक रञ्जित बताउँछिन्।
उनका अनुसार पञ्चकन्या आधारभूतबाट आठ कक्षा पास भएर बाहिर जाने विद्यार्थीमध्ये 'ए प्लस' ग्रेड ल्याउने धेरै छन्। ग्रेड राम्रो र अनुशासित विद्यार्थी उत्पादन गर्ने भएकाले वरपरका माध्यमिक विद्यालयले सिधै सम्पर्क गरी माध्यमिक शिक्षाका लागि विद्यार्थी माग गर्छन्।
विद्यालयका सबै कक्षामा सिसिटिभी क्यामरा छ। प्रधानाध्यापक रञ्जित आफ्नो कोठामा रहेको मनिटरमा हेरेर हरेक कक्षा नियाल्छिन्।
कोरोना लकडाउनअघि यहाँ सेतो बोर्डमा मार्करले लेखेरै पढाइन्थ्यो। लकडाउनपछि मात्र स्मार्ट कक्षा सुरू भएको हो। सबै कक्षामा ल्यापटप छ। शिक्षकहरू ल्यापटप र प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाउँछन्।
सामुदायिक स्कुलमा लामो समयदेखि अध्यापन गराइरहेका शिक्षकलाई सुरूमा डिजिटल माध्यमबाट अध्यापन गराउन चुनौती थियो। तर यो मुश्किललाई उनीहरूले अवसरका रूपमा प्रयोग गरे। पढाएर सकेपछि उनीहरूले फुर्सदको समयमा ल्यापटप चलाउन सिक्ने, कक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गरे। अन्य शिक्षकले स्कुलकै कम्प्युटर पढाउने शिक्षकसँग सिके पनि।
'कम्प्युटरबाट पढाउने भन्दा सुरूमा निकै डर लागेको थियो,' शिक्षक सीता बोहराले हाँस्दै भनिन्, 'कहिल्यै प्रयोग नगरेको साधनबाट कसरी पढाउने भन्ने चिन्ता थियो। जागिर नै पो छोड्ने हो कि भन्ने अवस्थामा पुगेको थिएँ।'
उनी २०६४ सालबाट पञ्चकन्या आधारभूतमा गणित विषय पढाइरहेकी छन्। बोहरालाई अहिले डिजिटल माध्यमबाट पढाउन आनन्द लाग्छ। चक, डस्टर र मार्करले छुटकारा पाएको छ। उनी घरबाट निस्किँदा झोलामा ल्यापटप बोकेर हिँड्छिन्। कक्षामा ल्यापटप झिक्छिन् र प्रोजेक्टरमा देखाउन थाल्छिन्।
प्रोजेक्टरबाट दृश्यसहित पढाउँदा विद्यार्थीको ध्यान बढी तानिएको उनको अनुभव छ। डिजिटल माध्यमबाट पठनपाठन भएसँगै विद्यार्थीको मुहारमा पनि छुट्टै खुसी देखिएको उनी बताउँछिन्।
यहाँका शिक्षक मात्र होइन, विद्यार्थी पनि अनुशासित छन्। उनीहरू एकअर्कालाई समान व्यवहार गर्छन्। स्कुल प्रवेशसँगै ठूला-साना सबैलाई 'तपाईं' भनेर सम्बोधन गर्छन्।
'पञ्चकन्या आधारभूतमा पढ्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु,' कक्षा आठमा अध्ययनरत छात्रा गीता राउतले भनिन्, 'किनभने यहाँ घरजस्तो माहोल छ। अर्को वर्ष छाडेर जानुपर्छ, यसमा दुःख लागेको छ।'
स्कुलमा अनिवार्य रहेको कम्प्युटर विषय पढ्न विद्यार्थीको रूचि बढी देखिन्छ। दिउँसो ३ बजेतिर कक्षा आठका विद्यार्थीहरू ल्याब कोठामा थिए।
'हामी कलमले मात्र लेख्दैनौं नि दिदी,' छात्रा अंकिता बाठा मगरले किबोर्ड चलाउँदै भनिन्, 'यसबाट टाइपिङ गर्न सिकिसक्यौं।'
उनीसँगै कक्षा आठका १८ जना विद्यार्थी किबोर्ड थिचिरहेका थिए। विद्यार्थीले किताबसँगै प्राविधिक तथा डिजिटल माध्यमबाट पढ्न र लेख्न छिट्टै सिकेको कम्प्युटर शिक्षक पूजा अर्यालले बताइन्।
'कति बेला तीन बज्ला र कम्प्युटर कक्षा सुरू होला भनेर बस्छन् यिनीहरू,' विद्यार्थीलाई सिकाउने क्रममा उनले भनिन्, 'सबैलाई राम्रो चलाउन आउँछ। मलाई नै सिकाइदिन्छन् कतिपयले।'
विद्यार्थीको सिकाइ र सिक्ने क्षमताप्रति पञ्चकन्या आधारभूतका शिक्षक खुसी छन्। सामुदायिक विद्यालयबाट पनि सबै सेवा-सुविधा दिन पाउँदा आफ्नो पेसामा गर्व लाग्ने उनीहरू बताउँछन्।
स्कुल भवन साना र ठूला गरी नौ वटा सटर पनि छन्। यी सटर व्यवसायिक प्रयोजनका लागि भाडामा दिइएको छ। त्यसबाट आएको रकमले पाँच जना शिक्षकलाई तलब दिइने प्रधानाध्यापक रञ्जितले बताइन्।
'इसिटी, निजी स्रोतका शिक्षक, आमाहरू, बत्ती, टेलिफोन, मर्मत लगायत विषयमा सटर भाडाबाट उठेको पैसा खर्च हुन्छ,' उनले भनिन्। सरकारी अनुदानबाट १५ जना र निजी स्रोतबाट एक जना शिक्षक राखिएको छ।
स्कुललाई शिक्षा मन्त्रालयले बजेट दिएको छ भने प्रदेश सरकारले पनि सहयोग गरेको छ। यहाँ स्मार्ट बोर्डको सुरूआत प्रदेश सरकारले दस लाख सहयोग गरेपछि नै भएको हो। त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छ लाख ५० हजार रकम पनि स्कुलले पाएको थियो। नपुग स्मार्ट बोर्ड थपेर कम्प्युटर ल्याब व्यवस्थापन गरेको प्रधानाध्यापक रञ्जितले बताइन्।
काठमाडौं महानगरभित्र ३२ वडा छन्। हरेक वडामा एउटा नमूना विद्यालय घोषित भएको छ। यही नमूना विद्यालयभित्र पर्छ श्री पञ्चकन्या आधारभूत विद्यालय।
नमूना विद्यालय भएकै कारण चालु आर्थिक वर्षमा दुई लाख रूपैयाँ थप बजेट पनि पञ्चकन्या आधारभूतले पाएको थियो। यो पैसाले नर्सरीका विद्यार्थीलाई खेल्ने सरसामान किनिएको उनले जानकारी दिइन्।
कक्षा शिक्षक भत्ता, थप कक्षा लिएबापत भत्ता, खाजा भत्ता, सवारी खर्च, बिदा बचत लगायत सुविधा पनि स्कुलले शिक्षकलाई दिन्छ। त्यस्तै कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई खाना व्यवस्था छ। यो व्यवस्था केन्द्रीय सरकारले गरेको हो।
पढाइबाहेक यहाँ हरेक शुक्रबार फुटसलमा फुटबल, हाजिरी-जवाफ, संगीत, नाच लगायत अतिरिक्त क्रियाकलाप हुन्छ।
'गर्मीमा तीनदेखि आठ कक्षासम्मका विद्यार्थीलाई स्वीमिङ पुल पनि लैजान्छौं,' प्रधानाध्यापक रञ्जितले भनिन्, 'नर्सरी, एक र दुई कक्षाका विद्यार्थीलाई दुइटा कृत्रिम स्वीमिङ पुल ल्याएर राखेका छौं। एक ट्यांकर पानी हाल्यो भने पुगिहाल्छ।'सामुदायिक स्कुलको पढाइ, सरसफाइ, अतिरिक्त क्रियाकलाप राम्रो नहुने जस्ता टिप्पणी गर्नेका लागि पञ्चकन्या आधारभूत गतिलो उदाहरण बनेको छ।
सबै तस्बिरः सविना कार्की/सेतोपाटी