वीर - सबभन्दा पुरानो अस्पताल। काठमाडौंको दोस्रो पुरानो अस्पताल कुन होला?
वीर खुलेको २७ वर्षपछि बिक्रम संवत् १९७४ मा दोस्रो अस्पताल स्थापना भएको थियो। पहिलो अस्पताल आज पनि स्वास्थ्य सेवाको केन्द्रमा छ, दोस्रो भने गुमनाम।
आजभन्दा १०४ वर्षअघि स्थापना भएको अस्पताल हो, नरदेवीको आयुर्वेद चिकित्सालय।
त्यो समय जनतालाई आधुनिक चिकित्साभन्दा आयुर्वेदमा बढ्ता विश्वास थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले कोष नै स्थापना गरी यहाँका वैद्यहरूलाई कविराज पढ्न भारत पठाउने गर्थे। सर्वसाधारणको यही विश्वासका कारण करिब एक वर्ष विष्णुमती किनारको सानो पाटीमा सञ्चालन भएपछि यो आयुर्वेद अस्पताल नरदेवी सरेको थियो। तत्कालीन वैद्य हाकिमले गुठीको नौ रोपनी जग्गा किनेर जम्मा चारवटा बेडको अस्पताल स्थापना गरेका थिए।
नरदेवी अस्पतालको इतिहास जान्ने हो भने यसकाे भित्तामा आँखा दौडाउनुपर्छ जहाँ स्थापना कालदेखि अहिलेसम्मका निर्देशकहरूको नामावली छ।
पहिलो पंक्तिमा छन्, कविराज गोविन्ददास वैष्णव। उनी यो अस्पताल स्थापना गर्ने व्यक्ति हुन्। उनीपछिका कविराज हरिप्रसाद खकुरेललाई आयुर्वेद जगतका विद्वत व्यक्ति मानिन्छ।
यो सूची हेर्दा कतिपय व्यक्ति ३५ वर्ष अस्पताल निर्देशक रहेका देखिन्छन्। १०४ वर्षको इतिहासमा अहिलेका निर्देशक डाक्टर प्रदीप केसीको नाम ३०औं नम्बरमा बल्ल आउँछ। उनी यहाँ निर्देशक भएको दुई वर्ष भयो। तर पछिल्लो समय निर्देशकको फेरबदल छिटोछिटो भइरहेको छ। २०७५ सालभित्र एक-दुई महिनाकै फरकमा चार जना निर्देशक फेरिएका रहेछन्। त्यसअघिको वर्ष पनि छ–सात महिनाको फरकमा निर्देशक फेरिएका देखिन्छन्।
'म आउनुअघिसम्म यो अस्पताल निकै अव्यवस्थित थियो,' केसीले दुई वर्षअघिको अनुभव सुनाउँदै भने, 'बिरामीको तथ्यांक पनि राम्ररी राखिन्नथ्यो, ड्रग्स खानेहरू डुलिरहेका हुन्थे। चिकित्सालयको प्रांगणमै गाडी पर्किङ हुन्थ्यो। जताततै फोहोर थियो।'
उनले अगाडि भने, 'यो त सरकारी जग्गा हो, हामीले गुच्चा खेलेको ठाउँ हो भन्दै स्थानीयले पनि हेप्ने, गुठीको जग्गा भन्दै विवाह, ब्रतबन्ध, भोजभतेर पनि यहीँ हुन्थ्यो। यता बिरामी ह्विलचेयरमा बसेको छ, उता बाजा बजिरहेको छ। यसो हेर्दा अस्पतालजस्तो केही देखिँदैन थियो। यस्तो ठाउँमा सेवाग्राहीहरू किन सेवा लिन आउने?'
केसी निर्देशकका रूपमा यहाँ लामो समय टिके र अस्पतालमा भएका छिद्रहरूलाई बिस्तारै टालटुल पारे। पहिले दिनमा जम्माजम्मी ५० जना बिरामी आउँथे भने अहिले दुई सय जनासम्म आउन थालेको उनी बताउँछन्।
'पहिले त थप कमाइ हुनु सपनाजस्तो लाग्थ्यो। राम्रो सेवा दियो भने आम्दानी पनि बढ्दो रहेछ। हामीले आम्दानी भएको पैसा कर्मचारीलाई प्रोत्साहन भत्ताका रूपमा दिइरहेका छौं,' केसीले भने, 'यसले उनीहरू प्रोत्साहित पनि भइरहेका छन्। त्यसले अस्पताल व्यवस्थापनलाई राम्रो गरिरहेको छ।'
नरदेवी अस्पतालका ९९ दरबन्दीमध्ये १८ जना डाक्टर छन्। अस्पताल विकास समितिका कर्मचार्मेत गरी जम्माजम्मी १ सय २५ जना कार्यरत छन्। कुनै समय यहाँ आयुर्वेद पढाइ पनि हुन्थ्यो। २०५३–५४ पछि भने त्रिभुवन विश्वविद्यालयले नै आयुर्वेद पढाउन थालेपछि नरदेवीमा हुने पढाइ कीर्तिपुर सर्यो।
नरदेवी चिकित्सालयले सुरूदेखि नै निःशुल्क औषधि दिन्थ्यो। एउटा समय यो जन्डिस उपचार गर्ने अस्पताल भनेर पनि प्रख्यात थियो। अहिले पनि यहाँ ग्यास्ट्रिक, कब्जियत, जन्डिस लगायत रोगका करिब २५ वटा निःशुल्क औषधि पाइन्छ। त्यसका लागि सरकारले पैसा दिन्छ। अरू औषधि पनि बजारभन्दा सस्तोमा पाइन्छ। आठ सयभन्दा बढी कम्पनीले बनाएका औषधि टेन्डर प्रक्रियामार्फत् आह्वान गरिने भएकाले मध्यस्थकर्ता हुँदैनन्, त्यसैले औषधिको मूल्य कम पर्ने केसी बताउँछन्।
उनका अनुसार यहाँ पायल्स, फिस्टुला लगायतका बिरामी बढी आउँछन्। अकुपंचर, प्यारालाइसिस, नसा च्यापिने, स्ट्रोक, माइग्रेन लगायतका बिरामी पनि प्रशस्तै आउँछन्।
'पछिल्लो समय धेरै बिरामी पञ्चकर्म चिकित्साका लागि आउँछन्। यो चिकित्साबाट हाम्रो शरीरभित्र रहेका नचाहिने विकारहरू (जस्तो कोलेस्ट्रोल) बाहिर निकालिन्छ,' केसीले भने, 'हामीले अझै विस्तृत रूपमा पञ्चकर्म विधि चलाइसकेका छैनौं तर मानिसको यसमा धेरै आकर्षण छ।'
कुनै समय पुरानै पद्धतिमा उपचार हुने आयुर्वेद चिकित्सामा पछिल्लो समय आधुनिक उपकरणहरू पनि प्रयोग हुन थालेका छन्। यहाँ प्रयोगशाला सेवा, भिडिओ एक्सरे, युएसजी, फिजिओथेरापी लगायत आधुनिक चिकित्साका उपकरण पनि प्रयोग गरिन्छन्।
'पहिलेजस्तो नाडी छामेर, आँखा हेरेर औषधि दिने समय छैन। हामी रोगको अनुसन्धानका लागि आधुनिक चिकित्साका केही उपकरण पनि प्रयोग गर्छौं,' केसीले भने।
कतिपयले क्यान्सरको उपचार र रक्सी छुटाउन पनि यो अस्पतालमा दैनिकजसो फोन गर्छन्। क्यान्सरको बिरामी हेरेर 'प्रिभेन्टिभ' र 'प्यालियाटिक' सेवा दिइन्छ। रक्सी छुटाउने उपचार भने नहुने केसी बताउँछन्।
'कतिपयले आयुर्वेदका नाममा आधुनिक चिकित्साका औषधि मिसाएर ठगी गरिरहेका छन्। चोकचोकमा फुटकर रूपमा दर्ता नभई खुलेका पसलहरूले मिसावट गरिरहँदा त्यसले आयुर्वेद चिकित्साप्रति मान्छेको वितृष्णा बढ्दै गएको छ। आधुनिक चिकित्साका सही मान्छेको नजरमा पनि यो पेसा अलि धुमिलो, नराम्रो र ठगीको धन्दा बन्दै छ,' उनले भने।
उनका अनुसार आयुर्वेदमा पछिल्लो समय विभिन्न विकृति आएका छन्। पहिलो विकृति भनेको गलत अभ्यास हो। धेरै त शैक्षिक योग्यताबिनै खटिएका वैद्य कविराजहरू छन्। त्यसबाहेक नियमनको कमजोरी छ। मिसावट हो कि होइन भनेर प्रयोगशालामा परीक्षणसमेत नहुँदा राम्रो नियतले काम गरिरहेका संस्थामा समेत हिलो छ्यापिने काम भइरहेको केसी बताउँछन्।
'पछिल्लो समय जेमा पनि हर्बल, आयुर्वेद भनेर डिपार्टमेन्ट स्टोरमा राखिदिने क्रम बढेको छ। यसलाई फुड सप्लिमेन्टजस्तो बनाइदिनु पनि विकृति नै हो,' उनले भने, 'त्यसमाथि विदेशीहरुले पतञ्जलिजस्ता सामग्री ल्याइरहेका छन्। यसले पनि नेपालको आयुर्वेदलाई धरासायी बनाएको छ।'
पतञ्जलिको कुरा आइहालेकाले हामीले सोधिहाल्यौं, 'नेपालमा पतञ्जलि लगायत आयुर्वेदका ब्रान्ड खुल्नुले यहाँको आयुर्वेदमा कस्तो असर पुग्छ?'
'रामदेवलाई जग्गा दिन्छु भन्नुअघि सिंहदरबारमै रहेको सिंहदरबार वैद्यखानामा सरकारको नजर किन पुगेन होला? त्यो अहिले पूरै रूग्ण अवस्थामा छ,' केसीले भने, 'नेपालजस्तो सानो देशमा ठूला औद्योगिक ब्रान्डहरू खुले भने यहाँका मझौला र साना स्तरका आयुर्वेदिक संस्थालाई त्यसले यान्त्रीकरण गर्छ। त्यसले देशमा बेरोजगारी हुने र यहाँको आयुर्वेद नै धरासायी हुने अवस्थामा पुग्छ।'
उनले अगाडि भने, 'फेरि औषधि भनेको प्रचार गर्ने कुरा पनि होइन। कुनै ब्रान्ड नै दिव्य हो भनेर पछि लाग्नु हुँदैन। हाम्रो देशको नीति त नेपालमै भइरहेका संस्थालाई कसरी माथि ल्याउने भन्ने पो हुनुपर्ने हो। ती किन पछि परे, किन हराए र किन काम गर्न सकेनन् भनेर सरकारले खोइ अनुगमन गरेको? जो नेतृत्वमा छ उसलाई जग्गा पुगेन कि, जनशक्ति अभाव भयो कि, पैसा पुगेन कि भनेर त सरकारले हेर्नुपर्ने हो नि।'
हामीले धेरैपटक नेपाललाई आयुर्वेदमा धनी राष्ट्र भएको सुन्दै–पढ्दै आएका छौं। यहाँको जडिबुटी प्रयोगमा ल्याउने र आयुर्वेद क्षेत्रलाई उकास्ने हाम्रो जिम्मेवारी हो। विदेशीलाई ठाउँ दिनुभन्दा यहीँको संस्थालाई सक्षम बनाउनुपर्ने बताउँदै केसी भन्छन्, 'बाहिरका मान्छेका त आफ्नै स्वार्थ हुन्छन्। विदेशीलाई दिएर राम्रो बन्ने भए त उनीहरूले कब्जा गरेका क्षेत्रहरू हेरे भइहाल्छ नि। यदि हामीले माग गरेका कुरा दिने हो भने हामी आफैं पनि सक्षम छौं जस्तो लाग्छ।'
नरदेवी चिकित्सालयमा प्रशासनिक, ओपिडी र अन्तरंग विभाग गरी तीन मुख्य भवन छन्। केसीसँग हामी जुन प्रशासनिक भवनमा बसेर कुराकानी गरिरहेका छौं, त्यो नै पाँच दशकभन्दा पुरानो हो। २०७२ को भुइँचालोमा यो भवनको पूर्वी मोहडा चर्किएको थियो। यसलाई मर्मत वा पुनर्निर्माण गर्न अहिलेसम्म ध्यान पुगेको छैन।
यो भवन पुनर्निर्माण गर्न भवन विभागसँग पहिले बजेट प्रस्ताव गरिएको थियो। पछि त्यो प्रक्रिया त्यसै रोकियो। अहिले फेरि मन्त्रालयसँग कुराकानी भइरहेको केसीले बताए।
नर्सिङ विभाग र कर्मचारीहरू बस्ने भवन पनि जीर्ण छ। नौ रोपनी क्षेत्रफलको नरदेवी चिकित्सालयमा यस्ता सानातिना भवन चार–पाँचवटा छन्। तिनलाई भत्काएर राम्ररी व्यवस्थापन गर्न सकियो भने काठमाडौंमा एउटा राम्रो खुला ठाउँ पनि हुने उनी बताउँछन्।
'नरदेवीजस्तो घना बस्ती भएको ठाउँमा कुनै भवितव्य आयो भने खुट्टा टेक्ने ठाउँ छैन। हामी बसेको यो जग्गा पनि हाम्रो होइन, यहाँका स्थानीयकै हो,' केसीले भने, 'यो ठाउँलाई राम्ररी व्यवस्थापन गर्ने हो भने हरियालीयुक्त पार्क बन्नेछ। हामीले महानगरमा यो कुरा पनि उठाएका छौं।'
सबै तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी